एमसीसी पारित भए गाउँबाट जनता उतार्छौंः जनमुक्ति « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

एमसीसी पारित भए गाउँबाट जनता उतार्छौंः जनमुक्ति


यलम्वर टाइम्स
११ पुष २०७८, आईतवार १२:२८

धरान । विवादास्पद एमसीसी सम्झौता गरे गाउँबाट जनता उतार्ने राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले बताएका छन् ।

धरानमा तीन दिनसम्म जारी जनता जागौं अभियान अन्तर्गत एक्सन प्रशिक्षणमा उक्त कुरा बताएका हुन् ।

किरात लिम्बूवान–खम्बूवान प्रदेश नं. १ ले आयोजना गरेको प्रशिक्षणमा अध्यक्ष पालुङ्वाले नश्लीय चरित्रबाट राजद्रोही र जनतालाई अपाच्य हुने काम कुनै दलले गर्छ भने अब जनमुक्ति चुप लागेर नबस्ने बताए ।

प्रशिक्षणमा पार्टीका नेता मोहन धिमालले ठूला दलका एकाधिकार अन्त्य गर्न जनता जागौं अभियान अगाडि ल्याएको बताए ।

प्रदेश नं. १ का अध्यक्ष पर्शुराम मगरको सभापतित्वमा भएको कार्यक्रममा उपमहासचिव विष्णु थाङ्देन, उपाध्यक्ष प्रकाश येङ्देन, महासचिव पदम जवेगु लगायतले पार्टीको विषयमा प्रशिक्षण प्रदान गरेका थिए । प्रदेश सचिव कृष्ण थेवेले सहजीकरण गरेका थिए ।

यसरी नै एमसीसी फिर्ता गरिनु नै राष्ट्रिय हितमा हुनेछ भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले एक विज्ञप्ती प्रकाशित गरेको छ ।

विगतका सरकारहरुले अपारदर्शी एवम् गुपचुप ढङ्गबाट अनुमोदन गरी अगाडि बढाईएको र हाल देशको संघीय संसदबाट पारित गर्न खोजिएको विवादास्पद एमसीसी सम्झौता प्रकरण प्रति राष्ट्रिय जनमुक्ति पार्टी गम्भीर चासोका साथ खबरदारी गरेको छ ।

पार्टी महासचिव टोप अस्लामीद्वारा आज प्रेष विज्ञप्ति जारी गरी एमसीसी प्रकरण सम्बन्धमा चासो व्यक्त गर्नुका साथै खबरदारी गरिएको हो ।

‘पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोगको आवरणमा एमसीसी सम्झौता त गरियो तर सो सम्भौतामा उल्लेखित प्रावधानहरु (दफा ५ ‘क’, ६.८ र ७.१ आदि) ले नेपालको सार्वभौमसत्तालाई ठाडो चुनौति दिनु गम्भीर आपत्तिको विषय हो’ – महासचिव अस्लामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सबै नेपालीहरु यस्ता सम्झौता बारे चनाखो हुनु पर्ने भन्दै पार्टीले जनतामा गम्भीर ध्यानाकर्षण गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ ।