अर्जुनधारामा मेयरका आकांक्षी को–को ? « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधारामा मेयरका आकांक्षी को–को ?


यलम्वर टाइम्स
१९ चैत्र २०७८, शनिबार ०८:४४

अर्जुनधारा । विकासोन्मुख नगरको रुपमा परिचित अर्जुनधारामा आसन्न स्थानीय तहको निर्वाचनमा मेयरका दाबेदार को–को हुन् भन्ने चर्चा चलिरहेको छ ।

चुनाव आउन अब ४१ दिनमात्र बाँकी छ । भित्रभित्रै दलहरुले आकांक्षीहरुको नाम संकलन गरिसकेका छन् । तर, कसलाई टिकट दिने हो, निचोड आउन बाँकी छ ।

अर्जुनधारा क्षेत्रमा नेकपा एमालेबाट हरिकुमार रानाले नै दोहोर्याउने देखिन्छ भने आकांक्षीमा कमल गुरागाई, कमला आचार्यको नाम चर्चामा छ ।

तर केहीले भने बलदेव गोम्देन, लोकमान श्रेष्ठ आदिको नाम पनि उच्चारण गरिरहेका छन् । पार्टीले भने आधिकारी नाम फैसला गर्न बाँकी छ ।

यसरी नै नेपाली कांग्रेसमा पनि आकांक्षीहरुको नाम बाहिर आएको छ । यसरी नाम आउनेहरुमा हेमराज खरेल, भरत बुढाथोकी, दिपेन्द्र ढकाल, मदन बुढाथोकी, मोहन सुब्बा रहेका छन् । जनमुक्तिमा भने दिलीप राई, राज खम्बूको नाम चर्चामा छ ।

यता माओवादीमा भने नारद दुःखी, देवकला प्रसाईको नाम छ भने नेकपा एसबाट अर्जुन मेचे, होम दुलालको नाम चर्चामा देखिन्छ ।

गठबन्धनबाट नेपाली कांग्रेस नगर आफ्नो पक्षमा पार्ने दाउमा छ भने एमाले केही दलहरुसँग मिलेर सत्ता जोगाइराख्ने अभ्यासमा जुटेको देखिन्छ ।