अर्जुनधाराबाट एकीकृत समाजवादीको उम्मेद्वारी फिर्ता « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

अर्जुनधाराबाट एकीकृत समाजवादीको उम्मेद्वारी फिर्ता


यलम्वर टाइम्स
१६ बैशाख २०७९, शुक्रबार १२:३०

अर्जुनधारा । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले अर्जुनधाराबाट आफ्नो उम्मेद्वारी फिर्ता गरेको छ ।

नेकपा एसले यसअघि निकै कडा प्रतिस्पर्धा दिने उद्देश्यले नगरभरी नै आफ्नो उम्मेद्वारी दर्ता गरेको थियो ।

नगर प्रमुखमा रमादेवी खवास र उपप्रमुखमा प्रेमसागर सापकोटाले उम्मेद्वारी फिर्ता गराएका थिए ।

योसँगै वडा नं. ६, वडा नं. ११ र उम्मेद्वारी दिएको अन्य वडाबाट पनि आफ्नो उम्मेद्वारी फिर्ता गरेको समाजवादीका युवा नेता प्रत्युष आजाद रानाले बताए ।

गठबन्धनबाट हामीलाई अलग्याएर एकलौटी व्यवहार गरेको आरोप लगाउँदै उम्मेद्वारी फिर्ता लिइएको समाजवादीले जनाएको छ ।

‘केन्द्रको निर्देशन अर्जुनधारामा पालना गर्न सकेन । गठबन्धनभित्र रहेका कांग्रेस, माओवादीले यस्तो भूमिका खेल्छ भने हामी किन चुनाव लड्ने ? ती दुइ दलले लडेर देखाउन्, रानाले भने ।

उम्मेद्वारी फिर्ता लिएको एकीकृत समाजवादीका अर्जुनधारा ७ का स्थानीय नेता अम्बिका खतिवडाले पार्टीले सल्लाह नै नगरी फिर्ता लिएकोमा आफूलाई अचम्म लागेको बताए ।

‘आफ्नो हैसियत के कस्तो छ भन्ने यो चुनावले सन्देश दिने थियो तर, त्यस्तो हुन सकेन’ खतिवडाले सुनाए ।

नेकपा एसले उम्मेद्वारी फिर्ता लिएसँग अर्जुनधारामा अब नेकपा एमाले गठबन्धनभित्रका कांग्रेस, माओवादी, जनमुक्ति र राप्रपा सम्मिलित रहने छन् ।