सही दल र नेता चुन्न नसक्दा जनताले दुःख पाएः अध्यक्ष लिङ्देन « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

सही दल र नेता चुन्न नसक्दा जनताले दुःख पाएः अध्यक्ष लिङ्देन


यलम्वर टाइम्स
१९ बैशाख २०७९, सोमबार ११:२४

शनिश्चरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा मतदाताले सही दल र नेता नचुनेका कारण जनताले दुःख पाएको बताएका छन् ।

शनिश्चरे बजारमा आयोजित पार्टीको आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यो पटक त्यस्तो गल्ती नगर्न तमाम् मतदातामा आग्रह गरे ।

‘हामी भ्रष्टाचारलाई अन्त्य गर्न चाहन्छौं । स्थानीय तह अन्तर्गत विकासका नाममा दश ट्रिपर बलुवा लगाएर, बीस ट्रिपरको बिल पेस गर्ने अनि रकम कुम्ल्याउनेहरु प्रति छानबिन गर्न चाहन्छौं ।’ लिङ्देनले भने ‘त्यस्ता जनता माराप्रति खबरदारी गर्दै राप्रपा हलो चिन्ह लिएर जनताको घरगाउँमा आएको छ ।’

उनले अगाडि भने, ‘५ वर्षमा एक पटक सही मूल्याङ्कन गर्दै मतदान गरौं । यो पटक पनि एक छाक र एक ट्वाँकमा बिक्यौं भने हामीलाई मात्र होइन भावि सन्ततीलाई पनि ठूलो दखल पर्नेछ ।’

बेरोजगारी संख्या बढ्नु यो भगवानको दोष होइन, यो हाम्रै मतको दोष हो । तीनै भ्रष्टाचारी दलका उम्मेद्वारहरुलाई मत दियौं भने त्यसले सबैभन्दा नराम्रो असर फेरी जनतामै पर्नेछ । अहिलेको भन्दा दोब्बर बेरोजगार बढ्नेछ, उनले थपे ।

उनले आफ्नो चुनावी घोषणापत्रको चर्चा गर्दै कक्षा १२ सम्म निःशुल्क शिक्षा, करमा ५० प्रतिशत कटौती, कृषिमा अनुदान, वृद्धवृद्धाहरुलाई घरैमा भत्ता, अस्पतालको अनुहार नदेखि थलिएर बसेकाहरुलाई निःशुल्क स्वास्थ्य उपचार, गरिब असहायहरुलाई बिमाको व्यवस्था ल्याइएको बताए ।

कार्यक्रममा पार्टीका प्रवक्ता भक्ति सिटौलाले हिन्दू धर्म विरुद्ध नीति ल्याएर जनतालाई दुःख दिएको बताउँदै ५५ अर्ब एमसीसी ऋण बोकेर जनतालाई कंगाल बनाउन खोजेको आरोप लगाए ।

आर्थिक अवस्थाले नाजुक बनेको नेपाल श्रीलंकाको जस्तो अर्थतन्त्रमा पुर्याउन लागेको हुँदा एमसीसी पारित गर्ने दलप्रति मतदान नगर्न आग्रह गरे ।

सभामा प्रमुख पदका प्रत्यासी उम्मेद्वार सूर्यकुमार खतिवडाले स्थानीय तहमा हुने भ्रष्टाचारको अन्त्य पहिलो एजेण्डा भएको प्रस्ट पारे ।

क्षेत्रीय अध्यक्ष लभकुश गिरीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४५० बढी कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए ।