झापाका १५ पालिकामा विविध कार्यक्रम गरि ४१ औं वीपी स्मृति दिवस मनाइने « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

झापाका १५ पालिकामा विविध कार्यक्रम गरि ४१ औं वीपी स्मृति दिवस मनाइने


यलम्वर टाइम्स
२६ असार २०७९, आईतवार ११:४१

बिर्तामोड । नेपाली कांग्रेसका संस्थापक नेता एवम् आधुनिक नेपालका परिकल्पनाकार महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस विविध रचनात्मक कार्यक्रमका साथ झापाका १५ वटै पालिकामा मनाइने भएको छ ।

नेपाली कांग्रेस झापाका पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, गाउँ÷नगर सभापतिहरुको संयुक्त बैठकले झापाका १५ पालिकामा रक्तदान, बृक्षरोपण, बिचार गोष्ठी लगायतका विविध रचनात्मक कार्यक्रम गरी वीपी कोइरालाको स्मृति दिवस मनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले उक्त कार्यक्रम सम्पन्न गर्न पालिकामा जिल्ला प्रतिनिधि समेत तय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

बैठकले झापाको चन्द्रगढीस्थित वीपीको शालिकमा बिहान ८ बजे माल्यार्पणसहित कोणसभा राख्ने निर्णय गरेको सचिव नवीन विमलीले जानकारी दिए ।

यसैबीच बैठकले मेचीनगरमा राम कट्टेल, बुद्धशान्तिमा राजकुमार बराइली, अर्जुनधारामा केशवराज पाण्डे, बिर्तामोडमा सुधिरकुमार शिवाकोटी, कचनकबलमा कालेन्द्रप्रसाद सिंह राजवंशी, भद्रपुरमा नवीन विमली र गणेश पोखरेल, हल्दिबारीमा भुमीराज राई, बाह्रदशीमा हुकुमसिंह राई र भुमीप्रसाद राजवंशीलाई जिल्ला प्रतिनिधि तय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

यसैगरी कनकाइमा जिल्ला सभापति देउकुमार थेवे र किरण भटराई, झापामा कमल भण्डारी, शिवसतासीमा जयनारायण शाह, कमलमा फूलवती राजवंशी, गौरादहमा ढुण्डि भण्डारी र चन्द्रा खड्का भट्टराई, दमकमा शेरबहादुर भट्टराई, गौरीगञ्जमा रेगिना भट्टराई प्रसाई र प्रकाश कार्कीलाई जिल्ला प्रतिनिधि तय गरेको बताइएको छ ।