‘किरात प्रदेश’ नभए विद्रोहः यायोक्खा « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

‘किरात प्रदेश’ नभए विद्रोहः यायोक्खा


यलम्वर टाइम्स
२ श्रावण २०७९, सोमबार १३:०२

बिराटनगर । ७ प्रदेश मध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ का प्रदेश सभा सदस्य र प्रदेश सरकारलाई नाम टुंगो लगाउन सकस भएको परेको छ ।

प्रदेशसभामा सहभागी दलहरुबीच नाम सम्बन्धी एकमत नहुँदा प्रदेशको नाम जुराउने सकस भएको हो । प्रदेशसभाको कार्यकाल सकिन अब ४ महिना मात्रै बाँकी छ ।

तर, दलहरू प्रदेशको नाम के राख्ने भन्ने टुंगोमा पुग्न नसकिरहेको बेला प्रदेशको नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै किरात राई यायोक्खाले आज (सोमबार) कार्यालय अगाडि घेराउ गरेका छन् ।

प्रदेशवासीको भावना अनुरुप प्रदेश १ को नाम पहिचानको आधारमा किरात प्रदेश हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका थिए ।

इटहरीबाट मोटरसाइकल ¥याली हुँदै सुरु भएको घेराउ कार्यक्रमपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएका थिए ।

मुख्यमन्त्री कार्यालय घेराउ कार्यक्रममा १४ जिल्लाकै प्रतिनिधि भेला भएको आयोजकले जनाएको छ ।

झापाबाट ५ सयभन्दा बढी मोरङ, सुनसरी र उदयपुर, धनकुटाबाट मोटरसाइकलमा उपस्थित थिए भने अन्य जिल्लाबाट ठूला सवारी साधन प्रयोग गरि उपस्थित भएका थिए ।

विशेष गरी युवा वर्गहरुको उपस्थिति रहेको थियो । इटहरीमा भेला भई २ बजे मुख्यमन्त्रीको कार्यालय अगाडि सभ्य रुपमा किरात प्रदेशको माग गर्दै नारा लगाएका थिए ।

राई कलाकार, विद्यार्थी, पत्रकार र यायोक्खाभित्र रहेका चाम्लिङ खाम्बातिम, वान्तावा, साम्पाङ लगायत पाछा संगठनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले किरात प्रदेश नामाकरणमा आफू सहमति भए पनि सहमति जुटाउनका लागि दलहरुलाइृ आग्रह गर्नुपर्ने जोड दिए ।

यायोक्खाका अर्जुन जम्नेलीका अनुसार किरात प्रदेश विनाको नाम उल्लेख भएर आए विद्रोह हुने प्रतिक्रिया दिए ।