कोदोको रक्सी प्रवद्र्धन गर्न धनकुटा र इलाममा समिति गठन « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

कोदोको रक्सी प्रवद्र्धन गर्न धनकुटा र इलाममा समिति गठन


यलम्वर टाइम्स
४ श्रावण २०७९, बुधबार ०७:५६

धनकुटा । सबैको हातमा मदिरा (कोदोको रक्सी) को गिलास थियो । पिउने क्रमसँगै कार्यक्रमको औपचारिक सुरुवात गरियो । सन्दर्भ थियो, परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति गठन गर्ने । मंगलबार दिउँसो धनकुटा नगरपालिका–७ बसपार्कस्थित सैनिक भवनमा आयोजित कार्यक्रमको दृश्य हो यो । सुरुमा मञ्चमा आसिन अतिथिलाई मदिरा बाँडियो ।

त्यसपछि सहभागीलाई बाँडिए पछि सबैले एकै स्वरमा चियर्स भन्दै पिए । उपस्थित कतिपयले सुरुमा पानी वितरण गरेको ठाने पनि प्लास्टिकको ठूलो बोतलबाट गिलासमा राखेर मदिरा बाँडिएको थियो । कोदोको रक्सी प्रवर्द्धन समिति प्रदेश १ ले आयोजना गरेको कार्यक्रममा अधिकांश महिला सहभागी थिए ।

परम्परागत पेय पदार्थ ब्रान्डिङ गर्न अभिप्रेरित गर्न अभियान थालिएको घरेलु रक्सी प्रवर्द्धन समिति प्रदेश १ का अध्यक्ष टेकबहादुर खजुमले बताए । जमिन बाँझिन थालेकोले कोदो बालीको उत्पादन गर्न अभियानले सघाउ पु¥याउने उनको विश्लेषण छ ।

‘झट्ट रक्सीको नाम सुन्दा मनोवैज्ञानिक रूपमा त्रास उब्जिने गरे पनि अब घरेलु रक्सीको ब्राडिङ गर्न जरुरी छ,’ खजुमले भने, ‘पुराना कानुन परिमार्जन तथा समयसापेक्ष ऐन कानुनमार्फत यसको उत्पादन गरी विदेश निर्यात गर्ने वातावरण बनाउन सके राजस्व वृद्धि गर्न सकिन्छ ।’ उनले घरेलु मदिरालाई ब्यान्ड (प्रतिबन्ध) होइन, ब्रान्ड बनाएर विदेश निर्याततर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

घरेलु मदिरा प्रवर्द्धन अभियन्ता सरु सिंगकले अवधारणा पत्र प्रस्तुत गरिन् । उनले जनजातिहरूले पुख्र्यौली रूपमा विकास गरेको मदिरा बनाउने प्रविधि कला अझै पनि सुरक्षित रहेको भन्दै संरक्षणमा जोड दिइन् । उत्पादित मदिराको स्तरीकरण र ब्रान्डिङ गरी व्यवस्थित बजारीकरणतर्फ सरकारको चासो जानुपर्नेमा उनल जोड दिइन् ।

प्रदेशका सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिराको ब्रान्डिङ गरी विदेश निर्यात गर्ने भने पनि अझै त्यसले मूर्तरूप नपाएकाले आफूहरू अभियानमा जुटेको बताइन् ।

प्रचलित मदिरा ऐन २०३१ तथा मदिरासम्बन्धी नियमावली २०३३ लगायत विभिन्न निर्देशनहरूले घरेलु मदिरालाई प्रतिबन्धित वस्तुको रूपमा उल्लेख गरेको छ । त्यस्ता कानुन संशोधन तथा समयानुकूल परिमार्जन गर्न बाँकि रहे पनि घरेलु मदिरा उत्पादन गर्न अभियान थालिएका छन् । कानुन संशोधन नहुन्जेल विद्यमान कानुनले घरेलु मदिरा उत्पादनमा समस्या हुनसक्ने अवधारणापत्रमा उल्लेख छ ।

बन्देज फुकुवा गर्न कानुन संशोधन गरेर घरेलु मदिराको उत्पादन, गुणस्तरसँगै वैज्ञानिक परिक्षण गरी मानव स्वास्थ्यका विषयमा अध्ययन अनुसन्धान जरुरी रहेको अभियन्ता सिंगकले बताइन् । उक्त कार्यक्रममा २१ सदस्यीय धनकुटा जिल्ला कार्य समिति गठन भएको छ ।

समितिको संयोजकमा सरकुमारी आठपहरिया, सदस्य सचिवमा मनकला लिम्बू र सदस्यहरुमा कृष्णमाया श्रेष्ठ, पराम तामाङ, रेजिना इङ्नाम, अनुसा राई, गीता केसी, सावित्रा यरुमाली, जानुका वनेम, विष्णुमाया लिम्बू, देवीमाया राई, शान्तिकुमारी मोरुहाङ, मीनकुमारी आठपहरिया, जीवन चावा, जितेन्द्र आठपहरिया, कमल राई, मणि लुङ्गेली, राधा लिम्बू, अनुसा राई, आशिष आठपहरिया, जितेन्द्र साम्पाङ रहेका छन् ।

यसरी नै सल्लाहकार समितिको संयोजकमा सञ्जय सन्तोषी राई, रसबहादुर आठपहरिया, रुपमान तामाङ, सुरेन्द्र आठपहरिया र डम्बर कटुवाल रहेका छन् ।

नयाँ कार्य समितिलाई मस्यौदा समितिका संयोजक देशु बनेमले समितिले गर्नु पर्ने काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराएका थिए ।

यसरी नै प्रवद्र्धन समितिले इलाममा पनि समिति गठन गरेको छ । समितिको संयोजकमा साधना फागो र सदस्य सचिव अनिस याक्खा रहेका छन् । व्यानर पढेर उद्घाटन गरिएको इलाम भेलाले सदस्यहरुमा बबिता लिङ्दम, लक्ष्मण राई, शान्ता सुनुवार, भरत राई, कहरसिंह राई, लोकमाया थेवे, मित्रलाल भट्टराई, रोजी लेप्चा, पुष्पा खनाल, शान्तिकला राई, सोभा राई, सावित्रा श्रेष्ठ, कमला मगर, चन्द्रकला राई र गोपाल राईसहित १७ सदस्यीय चयन गरेका छन् ।

यसरी नै सल्लाहकारमा रमेश राई, काजीमान कागते, शरण फागो, सटेन्द्र जवेगु, सुवास चौरासे, जंगबहादुर गुरुङ, तीर्थ खतिवडा र तोयानाथ भट्टराई रहेका छन् ।

जिल्ला भेला गर्नअघि शुभकामना मन्तव्य राख्दै वडाध्यक्ष जंगबहादुर गुरुङले घरेलु रक्सीलाई प्रवद्र्धन गर्न आफ्नो वडाबाट सरु गर्दै नगरको कार्यपालिकामा समेत पारित गर्न लाग्ने बताए ।

कार्यक्रममा पूर्वमाननीय काजीमान कागतेले प्रदेशमा माननीय उषाकला राईले चलाएको सार्थक अभियान इलामसम्म आउन सफल भएकोमा शुभकामना दिँदै गाउँबस्तीसम्म पुर्याउन जोड दिए ।

प्रवद्र्धन समितिका अध्यक्ष टेक खजुम, अभियान्ता सरु सिंगक, पुष्पा बोखिम, शान्ता तामाङ, रुकमिणी धिमाल र मस्यौदा समितिका संयोजक देशु वनेमले राज्यबाट सहुलियत प्राप्त गरी कोदो उत्पादनमा ध्यान दिनुपर्ने नयाँ समितिलाई सुझाएका थिए ।

फिक्कल सूर्योदय नगरपालिकामा आयोजित भेलामा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।