पहिचान विरोधीलाई विजयी बनाएको हुँदा किरात–लिम्बूवानको आवाज संस्थागत हुन सकेनः सिटौला « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

पहिचान विरोधीलाई विजयी बनाएको हुँदा किरात–लिम्बूवानको आवाज संस्थागत हुन सकेनः सिटौला


यलम्वर टाइम्स
२१ कार्तिक २०७९, सोमबार ०६:५७

चन्द्रगढी । किरात राई यायोक्खा जिल्ला समिति झापाले झापा क्षेत्र नं. १ का उम्मेद्वार तथा संविधान मस्यौदाकार कृष्णप्रसाद सिटौलालाई किरात प्रदेशको अवधारणसँगै एक ज्ञापनपत्र बुझाएका छन् ।

आईतबार नेपाल आदिवासी जनजाति महासंघद्वारा आयोजित उम्मेद्वारहरुसँगैको अन्तरक्रियामा यायोक्खाको ज्ञापनपत्रमा केन्द्रीत हुँदै उम्मेद्वार सिटौलाले लोकतन्त्रवादीलाई विजयी गराएको खण्डमा किरात–लिम्बूवानको आवाज उठाउने थिएँ, तर लोकतन्त्र विरोधीलाई विजयी गराएकोले पहिचानको आवाज उठ्न नसकेको बताए ।

उम्मेद्वार सिटौलाले लोकतन्त्रसम्म आउँदा अनेकौं कष्ट, दुःख हामीले भोगेका छौं पहिचान विरोधीलाई के थाहा ? त्यसैले यसपटक तपाईहरुको मत प्राप्त भए आदिवासी जनजातिको आवाज सदन हुँदै कार्यान्वयन पक्षमा ल्याउने छु, सिटौलाले भने ।

महासंघ अध्यक्ष पाण्डवलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि उपाध्यक्ष केवलराम राईले प्रकाश पारेका थिए ।

उत्तम राजवंशीको संयोजकत्वमा र सचिव लक्ष्मण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा माओवादीका मोहन टुडुको उपस्थिति रहेको थियो ।

आदिवासी जनजाति महासंघले गरेको यस्तो कार्यक्रममा लोकतन्त्र र पहिचना विरोधी बाहेक सबैलाई बोलाउनुपर्ने अवस्था हुँदाहुँदै पनि एमाले, नेकपा एस, राष्ट्रिय जनमुक्ति पार्टी, लोसपा, जसपालाई परिपत्र नगरेकोमा केहीले आपत्ति प्रकट समेत गरेका थिए ।

आयोजकले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार भएका राजेन्द्र लिङ्देनसँग छुट्टै अन्तरक्रिया गर्ने बताएको छ ।