स्व–लगानीमा गाउँ झिलिमिलि « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

स्व–लगानीमा गाउँ झिलिमिलि


यलम्वर टाइम्स
१६ माघ २०७३, आईतवार ०६:५२

सन्देश सुब्बा

Bulb-Bijuliपाँचथर / जिल्लाको दुर्गम गाविस फाक्तेपबासीले स्व–लगानीमा ट्रान्स्मिटर, पोल र तार खरिद गरी गाउँमा बिजुली बालेका छन् । श्रमदान र सामग्री खरिद गरी कूल ४२ लाख खर्चेर फाक्तेपबासीले बिजुली बत्तिले गाउँ उज्यालो बनाएका हुन् ।

उक्त खुसियालीमा उनीहरुले अन्धकारमा बस्नुपर्ने दिन गएको भन्दै सामुहिक भतेर गरी उत्सव मनाएका छन् । फाक्तेप गाविसको वडा नम्बर ८ का स्थानीयले चार किलोमिटर टाढाबाट विद्युत ल्याएर उपभोग गर्न सुरु गरेका हुन् । विद्युत जडान गर्ने काम सम्पन्न भएपछि अहिले त्यहाँका १ सय ५४ घरधरीले बिजुली बत्तिको उज्यालो उपभोग गर्न थालेको स्थानीय केबी चेम्जोङले बताए ।

उनका अनुसार नेता र सरकारको आश्वासन पर्खिदा सो क्षेत्रका नागरिक बर्षौदेखि अँध्यारोमा बस्नु परेको थियो । अब त्यो अवस्था हटेको उनले सुनाए । गाउँमा विद्युतीकरण भए सँगै अब विद्युतजन्य घरेलु तथा साना उद्योग स्थापना गरेर स्वरोजगार सृजना गरी गाउँको आर्थिक सुधारमा लाग्ने अर्का स्थानीय टिकाहाङ चेम्जोङले बताए । उनीहरुले इलाम–पाँचथर ३३ केभीए विद्युत प्रसारण लाइनको राँके–रवी खण्डबाट विद्युत जडान गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणले एक दशक अघिदेखि सदरमुकाम फिदिम बजारमा ३३ केभि केन्द्रीय विद्युत प्रशारण लाइन विस्तार गरेको छ । तर अझै पनि दुर्गम गाउँघरमा विद्युत सेवा विस्तार हुन सकेको छैन । जिल्लाको अधिकांश गाउँका स्थानीयले विभिन्न सहयोगि निकाय र स्व–लगानीमा निर्मित लघु तथा साना जलविद्युत आयोजनाहरुबाट विद्युत सेवाको उपभोग गरिरहेका छन् ।