भ्रष्टचारी दिमाग भएकालाई प्रम ओलीको चुनौति « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

भ्रष्टचारी दिमाग भएकालाई प्रम ओलीको चुनौति


यलम्वर टाइम्स
२६ श्रावण २०७५, शनिबार ०२:२०

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काममा भ्रष्टचार भए कारवाही गर्ने चेतावनी दिएका छन् । उनले दिएको चेतावनी जनस्तरमा लागू हुने हो होइन प्रश्न चिन्ह छ ? तर स्थानीय स्तरमा भएका र अप्रत्यक्ष हुने गरेको भ्रष्टचारलाई भने प्रम ओलीको बोली उपयुक्त भएको ठानिन्छ । गाउँ वा नगरमा पनि दुईतिहाइभन्दा बढी नगरप्रमुख वा गाउँप्रमुख भएको सत्तापक्ष रहेको हुँदा प्रम ओलीले आफ्ना पक्षधरहरुलाई भ्रष्टचार हुनबाट सचेत गराए, भ्रष्टचार गरेको तथ्य प्रमाण भेटिएको अवस्थामा तत्काल कारवाही गरे, भ्रष्टचार मुक्त मुलुकको कल्पना गर्न सकिने छ ।

स्थानीय निर्वाचनपछि आएका नयाँ निर्वाचित प्रतिनिधिहरुले कतिपय ठाउँमा सफा हृदयबाट काम सम्पन्न गरेका छन् । कति ठाउँमा नमूना विकास भएको सन्देशहरु पनि दिएका छन् । तर कतिपय ठाउँमा कच्चा काम गरेर नगर वा गाउँको दुरनाम समेत गराएको देखिन्छ । प्रम ओलीले केहिदिन अघि दिएको अभिव्यक्ति अनुसार गाउँ वा नगरमा देखिएका भ्रष्टचारका नमूनालाई कार्यदल निर्माण गरी दण्ड जरीवाना गर्ने हो भने तल्लो स्तरबाट भ्रष्टचार न्यूनिकरण हुँदै जाने देखिन्छ ।

हिजो जनप्रतिनिधि नहुँदा कर्मचारीले गरेको एकहोरो व्यवहारको लत बसिरहेको कारण गाउँ, नगरका प्रमुखहरु वा वडा अध्यक्षहरुलाई आफ्नो पनमा राखेर स्वाद लिने परिपाटी अझै पनि यदाकदा देखिन्छ । त्यस्ता स्वादलाई विचलन गराउँन प्रम ओलीको ‘कारवाही गर्छु’ भन्ने अभिव्यक्तिले रोकिन सक्छ त ? विकास निर्माणका काममा थोरै भएपनि ‘मह काट्नेले हात चाट्छ’ भने जस्तै हात चाट्ने परिपाटी रहिआएकै छ । यदि विकासको काममा भ्रष्टचार गर्न नदिने हो भने जिल्ला–जिल्लाका अख्तियार अनुसन्धान कार्यालयमा इमान्दार कर्मचारीको खाँचो देखिन्छ ।

खोज पत्रकारिताको सिद्धान्तमा एउटा भनाइ छ, ‘जुन गाउँ वा नगरमा विकासका नाममा बढी बजेट छुट्टिन्छन्, त्यहाँ भ्रष्ट विचार भएका घुन पुतलीहरु मौलाउँछन् ।’ घुन पुतली मौलाउँन नदिनका लागि नागरिक चासो पनि उत्तिकै जरुरी ठानिन्छ । त्यसैले भ्रष्टचार मुक्त नगर वा गाउँ बनाउन र प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई सार्थकता तुल्याउँन नागरिक समाज सचेत हुन जरुरी देखिन्छ । त्यसमा नगर वा गाउँ प्रमुखको इमान्दारिता र महत्वपूर्ण योगदानको आवश्यकता पर्दछ । त्यसतर्फ सचेत नागरिक चनाखो हुनुपर्दछ ।