नगरमा अब यस्तो दुर्घटना नहोस « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

नगरमा अब यस्तो दुर्घटना नहोस


यलम्वर टाइम्स
२७ माघ २०७५, आईतवार ०९:३४

[दिपीन राई]

विकास आफैमा समृद्धिको बाटो हो । देशलाई समृद्धिको बाटोमा डोहोर्याइएको हो भने विकासका गतिलाई कुनै तहबाट अवरोध पुर्याउनु हुँदैन । समृद्धिका बाटाहरु अनेकौं भएतापनि विकास मुख्य बाटो हो । विकास गर्नका लागि आर्थिक मेरुदण्ड नै हो । मेरुदण्ड नै नरहे न मुलुक बन्न सक्छ न केही गर्न नै सकिन्छ । मानौं, शरीरको मेरुदण्ड सम्झे पुग्छ ।

नयाँ संरचनासँगै नयाँ निर्वाचनबाट आएका जनप्रतिनिधिहरुले गरेका गतिलाई यहाँ कोट्याउन खोजिएको हो । कति जनप्रतिनिधि कमाउकान्ते सोचबाट आएका होलान् । कतिले भित्र–भित्रै कमाई राखेका होलान् । कतिले लाइन बनाउँदै पनि होलान् । त्यसो गरेका छैनन् भन्न सकिन्न तर, झापा अर्जुनधारा नगरपालिकाको हकमा निर्वाचित जनप्रतिनिधिहरुले ती माथिका शब्दहरुमा अंशीयार भएको पाइदैन । जे गर्न खोजेका छन् आफ्नो नगरलाई समृद्ध नगर बनाउन नै लालायित भएको देखिन्छन् । विकासका काममा अन्य नगर वा गाउँपालिकामा जनप्रतिनिधिबीच बोलाचाला बन्द भएको पाएका छौं । तर, अर्जुनधाराको हकमा त्यस्तो देखिन्न । त्यो अर्जुनधाराका सचेत नागरिक, उत्साहित विकासप्रेमी राजनैतिक दलहरु र विभिन्न संघसंस्थाले बनाएको सोचबाट उत्पन्न सकारात्मक कदम हो ।

त्यसो हुँदा हुँदै पनि सचेत रहँदा रहँदै पनि यो हप्ता अर्जुनधारामा एउटा दुर्घटना निम्तिन पुग्यो । त्यो दुर्घटना कसले निम्तायो ? गराउनेले नै म, म भनून, तर आईन्दा त्यस्तो अराजक र अशोभनीय कार्य नदोहोरियोस् । पृथ्वी आफैमा परिचक्र हो । त्यसैले कुनै न कुनै त्यस्ता दुर्घटना निम्याउनेलाई चक्रले लपट्ने छ नै । त्यसबेला कल्पना गरौं त ? कस्तो महसुस हुन जान्छ । नयाँ नीति र संरचना बन्दै गएको प्रदेश नम्बर १ मा खोला, वन र पहाडी जडिबुटीको नीति नियम र कानून बन्दै आएको छ । आज खोलाजन्य सामग्रीप्रति त्यो नीति प्रष्ट भईदिएको भए र कानून तेर्सिएको भए आज तोडफोड र अराजक गतिविधि हुँदैन थियो होला । कतिपय नीति नियम अधुरै भएको बेला वार्ताबाट निकास खोज्नु पर्नेमा ढुंगा, मुडा सडकमा टायर बाल्ने कार्य भयो । नगरपालिकाको गाडी, भवनका झ्याल तोडिए । नगरको रेलिङ फोरियो । आखेरी जतिसुकै उच्छृङ्खलता अपनाएतापनि नगरवासीको सम्पत्तिमाथि क्षति हुन पुग्यो । अन्तोतगत निकास पनि वार्ताबाटै टुंगियो । सात बुँदे सहमतिले कसलाई के–कति फाइदा पुग्यो तर नगरपालिकामा गरेको क्षति आफैमा चित्त दुख्दो देखिन्छ । त्यसैले आइन्दा यस्तो दुर्घटना नदोहोरियोस् । कल्पनासम्म कसैले नगरोस् ।

अर्जुनधारा नगरपालिकामा भएको विकासको गतिलाई हेर्ने हो भने अरु पालिकाभन्दा निकै अगाडि दौडिएको पाइन्छ । पुलपुलेसो, सडक, बजार र मानवीय कार्यमा नगर सचेत नै छ । आर्थिक गतिविधिमा नगरपालिका पारदर्शी भएर हिंडेको त्यसका गतिविधिले दर्शाएको छ । त्यसोभन्दा नगरपालिकाको गुन गाएको भने पक्कै होइन । नगरपालिकाले गल्ती गर्यो भने पनि लेख्ने कार्यमा हामी पछि हट्ने छैनौं । तर, थलिएको श्रीमतीलाई छाडेर दिनरात विकास–विकास र जनतालाई दुःख, कष्ट आइनपरोस् भनी अहोरात्र खटि ओखती खाँदै हिड्ने नगर प्रमुख, अनि न्यायोचित निकासभन्दै अस्वास्थ्यका बाबजुद खटिरहने उपप्रमुखप्रति कदर गर्नु वाञ्छनीय छ । मुलुकमा निर्वाचन पद्धतिबाट आएका वा जनताले जुनसुकै दलबाट चुनेका प्रतिनिधिहरुलाई विश्वास गर्न सकिएन भने त्योभन्दा अर्को अराजकता हुनै सक्दैन । त्यसैले यस अघि जे जस्तो भए पनि नगरमा यस साता देखिएको अराजक गतिविधि जस्तो दुर्घटना हुन नपरोस् । कसैले दुर्घटना निम्त्याउने दुष्साहास पनि नगरोस् । सबैमा चेतना भया ।