यलम्बर टाइम्स ग्रामीण पत्रकारिताको पर्याय हो « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

यलम्बर टाइम्स ग्रामीण पत्रकारिताको पर्याय हो


यलम्वर टाइम्स
५ श्रावण २०७५, शनिबार ०९:१५

जेसी दिपीन राईज्यू
सम्पादक/प्रकाशक
यलम्बर टाइम्स साप्ताहिक

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधामको पवित्र भूमि अर्जुनधारा नगरपालिका शनिश्चरे बजारबाट नियमित प्रकाशित यलम्बर टाइम्स साप्ताहिक ११ वर्षमा प्रवेश गरेको थाहा पाउँदा हर्षविभोर छु । झापाको पुरानो इतिहास बोकेको र पहिचान बनाएको बजार हो शनिश्चरे । यही ठाउँमा कार्यालय स्थापना गरी प्रकाशन हुँदै आएको यलम्बर टाइम्स साप्ताहिक ग्रामीण पत्रकारिताको पर्याय हो भन्दा अत्युक्ति नहोला । मध्य उत्तरी झापा र दक्षिणी इलाममा यस पत्रिकाले राम्रो लोकप्रियता कमाइरहेको छ । यो क्षण र योगदानका लागि आदरणीय दिपीन राई सहित सिंगो टिमप्रति हृदय ओछ्याएर सम्मान प्रकट गर्दछु ।

आज म सन् २०१५ मा आदरणीय दिपीन राईले वीरता जेसीजको मातृत्वमा स्थापित अर्जुनधारा जेसीजको नेतृत्व सफलता र उत्कृष्ट ढंगले सम्हालेको वर्ष झलझली सम्झीरहेको छु । पत्रिकाको मुख्य जिम्मेवारी अनि जेसीज जस्तो सक्रिय युवाको संस्थाको नेतृत्व एकैसाथ निर्वाह गर्नु चानचुने कुरा होइन । सायद लीला भाउजू र सानै उमेरमा तीक्ष्ण प्रतिभा देखाउन सफल राजन साम्पाङ भाई लगायतको साथ, विश्वास र कामप्रतिको लगावले सजिलो भयो होला । म पूर्वाञ्चल दैनिकको प्रमुख सम्पादकको जिम्मेवारीमा रहँदै गर्दा यस वर्ष अर्थात् सन् २०१८ मा वीरता जेसीजको अध्यक्ष भई नेतृत्व सम्हालिरहेको छु । दुबै क्षेत्र र जिम्मेवारी संवेदनशील, पर्याप्त समय दिनुपर्ने अनि चुनौतिपूर्ण छ । दिपीन राईज्यूले आफू अध्यक्ष हुँदा साट्नु भएको अनुभव मेरो लागि शिक्षा बनेको छ, उहाँको हौसला प्रेरणा बनेको छ ।

‘नेतृत्व दौडिनुपर्छ’ भन्ने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालको भनाइलाई मार्गदर्शन बनाएर अघि बढिरहँदा यो वर्ष हामीले थुपै्र काम गरिरहेका छौं । हाम्रा काम र कार्यक्रममा नजिकबाट साथ दिएको छ यलम्बर टाइम्स साप्ताहिक र सिंगो परिवारले । हाम्रा हरेक गतिविधि ग्रामीण क्षेत्रमा पुर्याउन यो पत्रिका माध्यम बनेको छ । जेसी दिपीन राईको नेतृत्व क्षमता, मिलनसारिता र कार्यकुशलता यलम्बर टाइम्स साप्ताहिकको सफलता बनिरहेको अनुभूति भएको छ । सकारात्मक सोच र अरुलाई राम्रो अनि सफल बन्न प्रेरित गरिरहने जेसी दिपीन राईको व्यक्तित्व प्रभाव नै होला पत्रिकाले सबैको मन जितेको छ, पत्रिकाका सामग्री उत्तिकै प्रभावकारी पनि छन् ।

ठूलो आकारमा बाक्लो र चिल्लो कागजमा यलम्बर टाइम्स साप्ताहिक पाठकले पढ्न पाएका छन् । सँगै अनलाइन पनि छ । यसबाट विश्वभरका पाठकले गाउँको खबर क्षणभरमै जान्न पाउँछन् । तर, अनलाइनको नियमित अपडेट जरुरी छ । यलम्बर टाइम्स साप्ताहिकलाई रंगीन कलेवरमा पाठकमाझ पुर्याउने आदरणीय दिपीन दाइको लक्ष्य बुझेको छु । यो लक्ष्यले चाडै सफलता चुमोस् । ग्रामीण र व्यवसायिक पत्रकारिताको अनुपम उदाहरण बन्न सकोस् । थुपै्र चुनौतिलाई अवसरमा बद्लेर आइपुगेको आजको क्षणबाट यलम्बर टाइम्स साप्ताहिकले अझ उन्नती गरोस्, अन्तरमनबाट शुभकामना ।

जेसी एकराज गिरी
अध्यक्ष वीरता जेसीज सन् २०१८
बिर्तामोड, झापा