नाम नै पहिचान हो « Yalambar Times
८ बैशाख २०८१, शनिबार

नाम नै पहिचान हो


यलम्वर टाइम्स
१६ माघ २०८०, मंगलवार ०७:१८

अहिले नेपाली जनमानसमा पहिचान शब्दले निकै ठाउँ पाइरहेको छ । यसका बारेमा बाह्य र आन्तरिक रुपमा बहस पैरवी भइरहेको देखिन्छ । यसको व्याख्या सकारात्मक र नकारात्मक दुवै कोणकाट भइरहेको छ । यसलाई आ–आफ्नो अनुकूलतामा बुझ्ने र बुझाउने कार्य पनि भई राखेका छन् ।

विशेषतः यो शब्द वि.सं. २०६३ को आन्दोलनपछि राज्यको पुनर्संरचना गर्ने सन्दर्भमा चर्चित बनेको हो । राज्यलाई संघात्मक संरचनामा संरचित गर्दा पहिचानका आधारमा गरिनुपर्छ भन्ने सन्दर्भदेखि यस शब्दले विशेष स्थान पाउँदै आएको हो ।

अहिले नेपाली राजनीति पनि पहिचानवादी र पहिचान विरोधी दुई कित्तामा विभाजित बनेको छ । पहिचान धेरै आधारको हुने भए तापनि अचेल जातीय, सभ्यता वा सांस्कृतिक आधारको पहिचान नै मुख्य पहिचान हो भन्ने मान्यता स्थापित हुँदै गइरहेको छ । अहिले प्रदेश नं. १ मा चर्किएको विवाद नै यही विवाद हो । सत्ता पक्षले बलात् कोशी नामकरण गरेपछि प्रदेश नं. १ को पुनःनामांकन गरिनुपर्छ र नामकरण गर्दा यहाँको ऐतिहासिक पृष्ठभूमिलाई मध्य नजर गर्दै सभ्यताको आधारमा गरिनुपर्छ भन्ने मागसहित चर्को आन्दोलन भइरहेको छ । यसले ठूलै धनजनको समेत क्षति भइसकेको छ तर अझै निकास निस्किएको छैन । यसले नाम नै पहिचानको मुख्य सर्त हो भन्ने कुराको पुष्टि गरेको छ । पहिचान भनेको चिनारी हो र चिनारी भनेको नै अस्तित्व हो । अहिलेसम्मको मानव विकासलाई सिंहावलोकन गर्ने हो भने अस्तित्वको संघर्षबाट नै अघि बढेको देखिन्छ । प्रकारान्तरले माक्सवादले भन्ने गरेको वर्ग संघर्ष र द्वन्दात्मक भौतिकवाद नै अस्तित्व रक्षाको संघर्ष हो । जाति, वर्ग, समुदाय, सम्प्रदाय, लिङ्ग यी सबैले आ–आफ्नो पहिचान अर्थात् अस्तित्वको लडाइँ नै लड्दै आइरहेका छन् । सकेसम्म एकले अर्काको अस्तित्वको निषेध चाहेको र सम्भव नभए सम्झौता गर्दै आएको देखिन्छ ।

अहिले नेपालले सामना गरिरहेको पहिचानको सवाल पनि त्यसैको रुप हो । सत्ता अर्थात् शासकहरुले शासितहरुको पहिचान वा अस्तित्वलाई कहिल्यै स्वीकार गर्दैनन्, निषेध गर्न चाहन्छन् । शासकहरु शासितहरुको पहिचान वा अस्तित्वलाई स्वीकार गर्नु भनेको उनीहरुको सम्प्रभुतालाई स्वीकार गर्नु हो भन्ने ठान्छन् । नेपालमा पनि त्यही हुँदै आएको जगजाहेर नै छ ।