प्रचण्डलाई मौका « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

प्रचण्डलाई मौका


यलम्वर टाइम्स
२२ श्रावण २०७३, शनिबार ०९:१८

बिहीबारबाट मुलुकको ३९ औं प्रधानमन्त्रि पुनः पुष्पकमल दाहाल हुन पुगेका छन् । यस अघि प्रधानमन्त्रि हुँदा गरेका गल्तीहरु अबको पालामा सच्याउँदै मुलुकलाई नयाँ गोरेटोमा डो¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार ३६३ मत प्राप्त गरेपछि उनले आफ्नो भनाइ राख्दै यस अघि मबाट के–कस्तो गल्ती भयो अब सच्चिएर राष्ट्र र जनताका लागि सकारात्मक कार्यहरुलाई बटुलेर अगाडी बढाउने बताए । उनले १० वर्षे जनयुद्धका पाटाहरुलाई संगाल्दै समग्र मुलुक र मुलुकबासीका लागि अबका बाटाहरु बन्ने बताए ।

जनआन्दोलन पछि अत्याधिक बहुमत ल्याएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रि बनेपछि पार्टीभित्रको खटपटबाट नेता वैद्य अलगिएका थिए । त्यसभित्र पनि फरक धार राख्दै आएका डा. बाबुराम भट्टराई पनि अलगिए । पटक–पटक पार्टीबाट शक्तिशाली नेताहरु बाहिरगमन भएपछि पार्टीको उचाई खिइँदै जान पुग्यो, त्यसको फलस्वरुप दोस्रो संविधानसभको निर्वाचनमा पार्टी तेस्रो स्थानमा झ¥यो । त्यसबाट बिरक्तिएर आर्थिक क्रान्तिको नारा लिदै डा. बाबुराम पनि पन्छिए । त्यसबाट पनि पार्टीभित्रको सांगठानिक संरचना अझ खिइँदै झ¥यो । पार्टी चारै दिशाबाट आलोचित हुन पुग्यो । यो अवस्थामा पुष्पकमल मुलुकको ३९ औं प्रधानमन्त्रि हुन पुगेका छन् । अबका दिन उनको लागि मौकाको दिन हुन पुगेको छ ।

असंख्यक कमजोरीका कारण कार्यकर्ताहरु पार्टीबाट तितरबितर त हुन पुगे माओवादीकै कारण विकासका बाटाहरु पुरा हुन सकेनन् भन्ने आलोचना खेपेका पुष्पकमल दाहालले अबका दिन पार्टीलाई उठाउने, जनयुद्धमा बोलेका आधार र चुनावमा जानुअघि गरेको प्रतिबद्धता पुरा गर्ने मौका मिलेको छ । यो मौकालाई सदुपयोग गरेको खण्डमा जनताले उनलाई विश्वासको आधारमा ल्याउन सक्ने बाटाहरु खुल्ने छन् । चुनावताका उनको पार्टीले जनता माझ गरेको प्रतिबद्धता यो बेला पुरा गर्छन् कि गर्दैनन् ? भन्दै जनताले नियालि रहेको अवस्था छ । उनले गरेको प्रतिबद्धता पुरा भएको खण्डमा माओवादी एक पटक उचाईमा नजाला भन्न सकिन्न । पुष्पकमल दाहालले आफ्नो समकक्षीहरु माझ पार्टीलाई उचाईमा पु¥याउने, भएका गल्तीहरुलाई सुधार्दै लाने बाहिर रहेका कार्यकर्ताहरुलाई पुनः पार्टीभित्र ल्याएर अगाडि बढाउने जस्ता कार्यलाई अगाडि बढाउनुपर्छ भनि रहेको अवस्थामा त्यसलाई सत्य साबित गर्दै पुनःर्संरचना सहित अगाडि बढ्ने मौका पनि यही हुने छ । यही शुभकामना ।