बाराका हावाहुरी पीडितलाई मानवीयता प्रकट गरौं « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

बाराका हावाहुरी पीडितलाई मानवीयता प्रकट गरौं


यलम्वर टाइम्स
२३ चैत्र २०७५, शनिबार ०२:५३

मानिसलाई अचानक आईपर्ने कुनै पनि पीडा बाजा बजाएर आउँदैन भन्ने चरितार्थ यस अघि हुँदै पनि आएको हो । र यसपटक पनि २ नम्वर प्रदेश अन्तर्गत बाराका जनतालाई आइलागेको छ । खाना खाएर मस्त निन्द्रामा रहेकाहरु अकालमा यसरी २८ जनाको ज्यानै लाने गरी हुण्डरी आउँछ भनेर कल्पना समेत गरेका थिएनन् । अन्तोतगत यस्तै भयो । हावाहुरी चलिरह्यो । घरहरु सबै ढले । विद्युत त्यसैबेला झ्याप्प भयो । को कहाँ परे, को कहाँ पुगे ? कसैलाई अत्तोपत्तो भएन । करिब ३ घण्टा चलेको बेगको हुरिले अन्तोतगत २८ जनाको ज्यानै लग्यो । ६ सयभन्दा बढी मानिसहरु घाइते भए । सयौं घरहरु भत्किए । त्यस रात बारावासीका लागि विनासकारी हावा र भुमरीले सखापै पारिदियो ।

त्यतिमात्र होइन, अन्नपात भुईभरि, घरपालुवा जनवार त्यतिकै मरे । आजसम्म ति पीडितहरुले राज्यबाट न त चित्त बुझ्दो सहयोग प्राप्त गरेका छन् । न त घाम र जुन छेल्ने त्रिपल नै प्राप्त गरे । स्थानीय स्तरबाट जुटेको सहयोग र विभिन्न क्षेत्रबाट मानवीयता प्राप्त गरेको सहयोग बाहेक राज्यको आश गर्नु उनीहरुका लागि अझ पीडादायि महसुस भएको छ । विभिन्न प्रदेशहरुले सहयोग दिने वचन त ति पीडितहरुले रेडियो, टेलिभिजन, पत्रपत्रिकामा त सुने । त्यो सहयोग कहिले जुट्ने हो उनीहरुलाई थाहा छैन । हालसम्म उनीहरुका लागि राज्यबाट न बत्तीको व्यवस्था गरिएको छ न पानीको । खान र बस्नको त कुरै छाडौं । त्यति मात्र होइन, त्यस ठाउँमा बहेको हावाले हैजा उत्पादन गरेर कोही रुघाखोकीका पीडित, कोही टाइफाइटका पीडित भएको सञ्चारमाध्यममा उठेको छ । विद्यालय जाने विद्यार्थीको त कुरै छाडौं, वृद्धहरुको अवस्था भने नाजुक बनेको देखिन्छ ।

नेपाली भूभागमै एक ठाउँका नेपालीहरुलाई यति धेरै पीडा आइपर्दा तपाई हामीले सहयोगको हातहरु किन नफैलाउने ? अर्जुनधारा नगरपालिकाले एक दिनको तन्खा दिन घोषणा गरेको छ । त्यो तन्खा तत्काल पुर्याउने उद्देश्य पनि राखेका छन् । यस्तो नगर जस्तै अन्य नगरपालिका र गाउँपालिका पनि छन् । तिनीहरुले पनि अर्जुनधाराकै जस्तै निर्णय गरेर तुरुन्त सहयोग प्रदान गर्ने हो भने ठूलो मानवीयता प्रकट हुन जान्छ । अन्य सामाजिक संघसंस्थाले त सहयोग जुटाउँदैछन् । झापाका सामाजिक संस्थाहरु पनि सहयोगमा सहयोग पुर्याउन पछि हट्नु हुन्न । कतिले त जुटाउँदै पनि छन्, कति जुट्दै पनि छन् । बाराका पीडितहरुलाई सहयोग चाँडो आवश्यक भएको हुँदा सहयोगी संघसंस्थाले सहयोगी हात चाँडै फैलाउनुपर्छ भन्ने मान्यताका साथ एक पटक सबै मिली मानवीयता प्रकट गरौं ।