०७६ मित्रताको वर्ष बनोस् « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

०७६ मित्रताको वर्ष बनोस्


यलम्वर टाइम्स
२ बैशाख २०७६, सोमबार ०८:५३

आईतबारबाट नेपाल नयाँ सम्वतका साथ अगाडि बढ्ने भएको छ । यसअघि प्रत्येक वर्ष आ–आफ्नै समय र परिस्थितिमा बितेर गएतापनि ०७६ साल हरेक दिन मिलन तथा मित्रताको रुपमा बितेर जाओस् । मानिस आफैमा सामाजिक प्राणी हो । प्राण भइन्जेल उ एक्लै बस्न सक्दैन र एक्लै हिंड्न र खान पनि सक्दैन । विकासको त कुरै छाडौं । उ उल्टो र सुल्टो समेत भ्येउ पाउँदैन । त्यसैले मानव सामाजिकतामा रमाउने भएको हुँदा सामाजिक प्राणी भनिएको हो । भगवान बुद्ध पनि बुद्धत्व प्राप्त गरेपछि समाजमा आएर आफ्ना ज्ञान छरेपछि शान्तिका दूत भएका हुन् । महान–महान व्यक्तिहरु पनि समाजबाटै चुनिएर अग्रस्थानमा उभिएका हुन् । त्यो स्थान प्राप्त गर्न मित्रता बाहेक अर्को कुनै विकल्पै छैन ।

समाज मित्रताले जोडिएको र विकास भएको हुँदा ०७६ मित्रताको वर्षमा बिताउन तपाई हाम्रो कर्तव्य हुन जान्छ । समय आफै बलवान छ । समयले साथ पनि दिन्छ । तसर्थ बलवान समय भएको हुँदा आउने दिन कसैको आलोचना, त कसैलाई ठेस पुग्ने खालका गतिविधिलाई पन्छाएर सकारात्मक, भावनात्मक र ज्ञानबद्र्धक कार्यबाट अगाडि बढ्न जरुरी देखिन्छ । महान दार्शनिक प्लेटोले भनेका छन्, ‘मन र मस्तिष्क ठीक भएर गए समाजको अर्थतन्त्र आफैमा राम्रो भएर जानेछ ।’ त्यसैले ०७६ साल स्वच्छ मन र स्वच्छ मस्तिष्क राख्दै कर्ममा केन्द्रित भएर गए प्रगतिको वर्ष भएरै जानेमा दुइमत नहोला ।

मानिस समूहबाटै अगाडि बढ्ने हो । त्यसैले स्वच्छ मन र स्वच्छ चरित्र चेतना जागेदेखि वृद्धसम्म राख्दै अगाडि बढे समाजमा कष्टकर र अराजकता उत्पन्न हुन सक्दैन । यी कुरालाई मध्यनजर राख्दै र आ–आफ्नो ओहोदामा रहनुभएका नेपाली कर्मयोगी मनहरु सकारात्मक र सुमार्गको बाटोमा निर्देशित भए गाउँ, समाज मित्रताको गाँठो बनेर जानेछ । मेचीलाई परेको चोट महाकालीले महसुस गरे जस्तै तराईले भोगेका पीडा, हिमालले महसुस गरे जस्तै ०७६ साल मित्रताको साल बनेर आओस् । मानिसलाई सास भइन्जेल अनेकौ दम्भ र घमण्ड आउँछ । त्यसले यसअघि धेरै चिजको नास र क्षति पुर्याएको उदाहरण धेरै छन् । त्यो आफैले म म भन्दा पुग्छ । त्यस्तो सोचलाई त्यागेर रचनात्मक गाउँ, नगर निर्माणमा जुट्न ०७६ सालले प्रेरणा प्रदान गरोस् । यही शुभकामना ।