मिसावटलाई कसले जाँच्ने ? « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

मिसावटलाई कसले जाँच्ने ?


यलम्वर टाइम्स
२१ भाद्र २०७३, मंगलवार ०९:३०

नेपाली बजारमा दैनिक उपभोग्य वस्तुहरुमा मिसावट देखापर्न थालेको छ । बिक्री नभएका पुरानो दाल, मटर, चिनी, बेसार र मसलामा नयाँ उत्पादित दाल, मटर, चिनी बेसार र मसलामा मिसावट गरी पुनः बिक्री वितरणमा ल्याइएको पाइएको छ । पुराना ढुसी परेका र सडेका उपभोग्य वस्तु सेवन गर्दा शरीर बोदो हुने, ग्यास बढ्ने र आन्द्रामा समेत घाउ हुने हुँदा स्वास्थ्यकर्मीहरुले त्यस्ता तत्वलाई छानेर मात्र लिनुपर्ने सुझाव दिएका छन् । तर, सस्तो र राम्रोको भरमा खरिद गर्ने नेपाली परम्परा भएको हुँदा मिसावटलाई सुक्ष्म रुपमा नहेरी खरिद गर्ने परिपाटीले शरीरलाई मात्र नभई मस्तिष्कलाई समेत असर पर्ने हुँदा बजार अनुगमन गर्न जरुरी रहेको देखिन्छ ।

आज विषादी सेवनबाट मात्र होइन मिसावटयुक्त खाद्यका कारण पनि मानिस दिनहुँ बिरामी हुँदै गएको अवस्था छ । झापामा मात्र हप्तामा १०/१२ जनाभन्दा बढी नसर्ने रोग क्यान्सर, मुटु र किड्नी खराबीका रोगीहरु बढ्दै गएको जिल्ला जनस्वास्थ्यले जनाएको छ । ति बिरामीहरु सम्बन्धित विशेषज्ञ कहाँ पुग्दा मिसावट र विषादीका कारण रोग देखा परेको भनाई आइरहेको छ । हामीले खाने अनि दाम लगाई लगाई किन्ने दैनिक उपभोग्य वस्तुमा यसरी मिसावट भेटिन्छ भने त्यसलाई अनुगमन गर्ने निकाय किन मौन भएर बसेको हो ? यो सम्बन्धित निकायलाई प्रश्न तेर्सिएको छ ।

चाडवाडमा मात्र मिसावटको अनुगमन गर्ने, प्रशासनहरु पनि कान ठाडो पार्ने अरु बेला चुपचाप बस्नाले कतै चाडपर्वमा गरिने अनुगमन आर्थिक नजराना लिने बाटो बनेको त होइन ? होइन, भने अरु बेला पनि अनुगमन गर्न जरुरी छ । अनुगमन उपभोक्ता मञ्चले मात्र होइन नगरपालिका भए नगरस्तरीय राजनीतिक दलको संयन्त्र, गाउँपालिका भए गाउँको संयन्त्रले उपभोग्य सामाग्रीमा अनुगमन गर्न जरुरी देखिन्छ । त्यसमा प्रहरी प्रशासन र सञ्चारकर्मीको पनि उपस्थिति हुनुपर्ने देखिन्छ । त्यसो गरिएमा कालोधन्दा गरेर मिसावट गरी बिक्री वितरण गर्ने व्यापारीहरु सजक हुन्छन् र उपभोक्ताहरु पनि स्वस्थ उपभोग्य सामाग्रीहरु खरीद गर्न पाउँने छन् ।