सरकार ढाल्ने चेतावनी « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

सरकार ढाल्ने चेतावनी


यलम्वर टाइम्स
१६ असार २०७६, सोमबार ११:१४

मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले २ तिहाईको सरकारलाई ढालेर जाने चेतावनी दिन थालेका छन् । हिजो शेरबहादुर देउवाले आफ्ना कार्यकर्ताहरु माझ सम्बोधन गर्दै मुलुकमा अराजकता, आफू खुशी काम गरेको भन्दै वर्तमान सरकारलाई यस्ता चेतावनी दिएका हुन् । बहुलवादी समाजमा अराजकता उत्पन्न भयो भने समाज त्यसता अराजकता शैलीलाई मान्न नसक्ने देखिएको हुनाले नेपाली जनताको भावनालाई कदर गर्न समेत आग्रह गरेका छन् ।

जताततै आफ्नै शैली देखिएको हुँदा मुलुक साम्यवादी नीतितर्फ धकेलिन खोजिएको हो भने त्यसलाई सच्याउन पर्ने समेत सुझाव दिएका छन् । जनताको बलिदानीपूर्वक आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायीत्व प्रदान गर्नुपर्नेमा जताततै आफू खुशी ऐन नियम बनाएर जनता तर्साउने कार्य भएको हुँदा त्यसो नगर्न पनि सुझाएका छन् ।

बढ्दो भ्रष्टाचार, राज्यको ढिकुटीमा कार्यकर्ताको हावी त्यतिकैमा नातावाद, कृपावाद देखिएको हुँदा सत्ता बाहिरका मान्छेले राखेको सुझाव लिन जरुरी छ । साना दलको रुपमा स्थापित राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार विरुद्धको अभियान, अर्का साना दल संघीय लिम्बूवान राष्ट्रिय मञ्चले गुठी बचाउ अभियान र सत्तासँगै रहेको समाजवादी नेपालले संविधान सच्याउनुपर्ने जस्ता माग राखेर अगाडि बढिरहेको बेला सरकार कानमा तेल हालेर बस्छ भने ति आन्दोलनले सत्ता परिवर्तन गर्न त्यति टाढा पुग्नु नपर्ने हुन्छ ।

पछिल्लो पटक दैनिक उपभोग्य वस्तुमा एक्कासी मूल्य वृद्धि हुनु, त्यतिमात्र होइन पेट्रोलियम पदार्थदेखि अन्य वस्तुमा महंगी बढाउनु यसो गरियो भने दुईतिहाइ सरकारसँग जनताले के आश गर्ने ? प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो भए पनि कार्यकर्ता भर्ती केन्द्र बनाउनु जस्ता क्रियाकलापले ‘मै खाऊँ, मै लाऊँ, मै सुख शयलमा रमाऊँ’ भन्ने नीतिमा दुइतिहाई सरकार पुगेको छ होइन ?

होइन भने, सरकारले जनताको भावना र प्रतिपक्षलाई कदर गर्दै मुलुक समृद्धिको बाटोमा हाक्नु पर्ने हुन्छ । मिडिया विधेयक, गुठी विधेयक लगायत ५ वटा महत्वपूर्ण विधयेक सदनमा राखेर आम नेपाली जनतालाई तर्साउने कार्य गरेको देखिन्छ । त्यसो हो भने नेपाली जनता त्यस कार्यलाई स्वीकार्न सक्दैनन् । चारैतर्फबाट यस्ता खाले विरोध र आन्दोलन चर्किए सत्ता परिवर्तन हुन समय नलाग्ने देखिन्छ । यसतर्फ बेलैमा सचेत रहनुपर्ने हुन्छ ।