महिलाहरु किन हराउँछन् ? « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

महिलाहरु किन हराउँछन् ?


यलम्वर टाइम्स
९ आश्विन २०७३, आईतवार १०:०९

मेची अञ्चलमा मात्र एक हजारभन्दा बढी किशोरी तथा महिला हराएको तथ्याङ्क छ । झापामा सबैभन्दा बढी हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ भने त्यसपछि इलाम, पाँचथर र ताप्लेजुङ क्रमशः पर्छ । विशेषत रोजगारीका लागि भन्दै ति महिला, किशोरीहरु हराउने गरेको पाइएको छ । माइती नेपाल पशुपतिनगरले दिएको जानकारी अनुसार रोजगारीका लागि र घुम्ने बहानामा भारत जान हिडेका ४०१ जना महिला तथा बालबालिका किशोरीहरुलाई सीमा क्षेत्रमा रोकेर घर फर्काइएको बताएका छन् भने २०१६ जनवारीदेखि हालसम्म भारत जान हिडेका १६ वर्षसम्मका ३ जना १८ वर्षसम्मका १६९ जना र १८ वर्ष माथिका ३३२ जना रहेका छन् ।

विद्यालय पोसाकमै रहेका १२ जना बालबालिकालाई भारतको दार्जिलिङ, सिलीगुढी, मिरिकबाट उद्धार गरी उनका अभिभावकहरुलाई जिम्मा लगाइएको छ । यो क्रम रोकिएको भने छैन । बढ्दो मंहगी, खाँउ–खाँउ र लाउँ–लाउँ भन्ने उमेर त्यही कारणले विभिन्न बहानाबाट महिलाहरु भारत छिर्ने गरेको जानिफकारहरुको भनाई छ । मुलुकमा आर्थिक समृद्धिको बाटो नभएको र बेरोजगार जीवनशैलीले पनि वितृष्णा आई रोजगारको लागि भन्दै बाबुआमालाई छलि महिला तथा किशोरीहरु घर छाड्ने गरेको देखिन्छ ।

यस्तो दर्दनाक तथ्याङ्कहरु आईरहँदा त्यसलाई न्यूनिकरण गर्ने उपाय राज्यले सोचेन भने हराउने क्रम अझ बढेर जाने देखिन्छ । सीमानामा माइती नेपाल, प्रहरी प्रशासन बस्दैमा महिला हराउने क्रम रोकिने होइन । महिला तथा किशोरीहरुलाई उचित रोजगार, सहुलियत व्याजदरमा आर्थिक लगानी र लघु वित्तीय कारोबारमा सक्रिय सहभागिताका बाटोहरु नदेखाएसम्म महिला तथा किशोरीहरु हराउँने क्रम बढी नै रहन्छ । बालबालिकाको सवालमा विद्यालयमार्फत तिनका अभिभावकहरुलाई छोराछोरीसँग साथीको व्यवहार गर्न अभिभावकशिक्षा प्रदान गरिए र शिक्षकले पढेपछिको फल विषयमा विद्यार्थी नानीहरुलाई अवगत राम्रोसँग गराए हराउने क्रममा न्यूनिकरण हुने देखिन्छ । त्यसतर्फ राज्य पक्ष र सचेत वर्गको ध्यान जान जरुरी देखिन्छ ।