धार्मिक पर्यटकहरुको गन्तव्य अर्जुनधारा « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

धार्मिक पर्यटकहरुको गन्तव्य अर्जुनधारा


यलम्वर टाइम्स
२० पुष २०७६, आईतवार १०:१२

प्रदेश नं. १ अन्तर्गत अर्जुनधारा नगरपालिका पर्यटकहरुका लागि उत्कृष्ट गन्तव्य भएको ठाउँ हो । प्रचार प्रसारको कमि, जनस्तरबाट जनचेतनाको अभाव र निर्वाचित जनप्रतिनिधिहरुबाट पनि पर्यटन वर्ष मनाउँनु पर्छ भन्ने जागर कम भएको कारण ओझेलमा पर्न गएको हो भन्ने बुझ्न सकिन्छ । राज्यले पर्यटन वर्ष सन् २०२० लाई पर्यटकीय वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउँने योजना गरिरहँदा प्रदेश तथा स्थानीय सरकारलाई पर्यटन वर्ष मनाउँनका लागि राज्य पक्षबाट बजेट निर्धारण नगर्नुले पनि स्थानीय स्तरमा पर्यटन वर्ष मनाउँन जागरुकता नदेखिएको हुन सक्छ ।

अर्जुनधारा धार्मिक क्षेत्रका लागि पूर्वकै गन्तव्य हो भन्न सकिन्छ । पूर्वको पशुपतिनाथले प्रचलित भएका कारण महाभारत कालखण्डको एउटा अंश अर्जुनधारा जलेश्वरधाम यही नगरमा छ । जलेश्वरधामसँगै जोडिएको कालिस्थान बौद्ध गुम्बा तथा कालिका पीठ पनि अर्जुनधारामै छ । हिन्दूहरुको आस्थाको केन्द्र मानिएका जगत्गुरु शंकराचार्य पीठ, साधुटार पनि यसै क्षेत्रमा रहेको हुनाले धार्मिक पर्यटनको सम्भावना बोकेको क्षेत्र भन्न खोजिएको हो । तर जो जसबाट धामको नेतृत्व गर्नुभएको छ, उक्त नेतृत्वकर्ताबाट पर्यटन वर्ष शुरु हुँदै गर्दा प्रचारप्रसार नगर्नुले चर्चा नपाएको हो कि ?

अर्जुनधारा जलेश्वरधामलाई पर्यटकीय गन्तव्यको सूचिमा संघीय सरकारले सूचिकृत गरेको छ । तर पर्यटन वर्ष अर्थात् २०२० लाग्दै गर्दा त्यस दिन कुनै औपचारिक कार्यक्रम हुन सकेन । समितिले थाहा नपाएर हुन सक्छ या त ख्याल नभएको हुन सक्छ । तर बाहिरबाट आउँने आन्तरिक पर्यटकले कुनै कार्यक्रम हुँदै छ कि भनेर अर्जुनधारा जलेश्वरधाममा प्रवेश गर्दै गरेको देखिएको थियो । स्थानीय सरकारले पनि पर्यटन वर्षको छलफल सन् २०१९ भित्र गर्नुपर्ने हो ढिलो भएर पनि ख्याल नभएको हुन सक्छ ।

ढिलै भए पनि पर्यटन वर्षको विषयलाई लिएर बिहिबार अर्जुनधारा नगरपालिकाले अन्तरक्रिया गरेर यसै वर्ष आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँने विभिन्न योजना ल्याउँने भएका छन् । अन्तरक्रियामा सम्भावित पर्यटक क्षेत्र पहिचान गरी त्यस ठाउको उन्नति र प्रचारको लागि कार्यक्रम थालिने भएको हुँदा त्यस तर्फ सबै निर्वाचित जनप्रतिनिधि र सचेत संघसंस्थाका अगुवाहरु आफ्नो क्षेत्रलाई अब्बल बनाउँन लाग्न जरुरी छ । त्यसैबाट आफ्नो पहिचान स्थायीत्व हुनमा दुईमत नहोला ।