हिन्दुहरुको मात्र हो नभनौं « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

हिन्दुहरुको मात्र हो नभनौं


यलम्वर टाइम्स
२१ आश्विन २०७३, शुक्रबार ११:५५

दशैं कसको हो ?, कुन जातिले बढी मनाउँछन् ? भन्ने वहस जनजाति नेता स्व. गोरेबहादुर खपाङ्गीले उठाएर दशैंको विवेचना गरेका थिए । गोरेबहादुरले यसो भनिरहँदा स्वदेश तथा विदेशका आदिवासी जनजातिहरु दशैंका विषयमा घोत्लिएर अध्ययन, अनुसन्धान सँगै वहस गरेका थिए । अधिकांश आदिवासी जनजाति र मधेशका बासिन्दाहरुले दशैं आफ्नो नभएको निष्कर्षमा पुगेका थिए भने कति ती वर्गका प्रबुद्धहरुले मौन समर्थन जुटाएर बसेका थिए । रै पनि दशैं जनजातिको नभएतापनि सेतो अक्षता र सेक्मुरी फूल लगाएर दशैंलाई स्वागत गरेका थिए ।

नेपालको कुनै पनि इतिहासमा दशैं जनजातिको हो भन्ने अभिलेख पाइएको छैन । आदिवासी र मधेशको त कुरै छाडौं । दलितले पनि दशैंलाई राम्रोसँगले स्वीकारेको पाइँदैन । यसो हुँदा हुँदै पनि वर्षौंदेखि लामो बिदाका साथ यो पर्व राज्यले नै राष्टिूय पर्व भनि स्वीकारेर आएको हुँदा सबैले स्वीर्कानु पर्ने अवस्था छ । त्यसो त विविध जातजाति बसोबास भएको बहुधार्मिक र बहुसांस्कृतिक देश भएको हुँदा अन्य चाडपर्वलाई भन्दा यस चाडलाई लामो बिदा राज्यले प्रदान गरेको हुँदा यो समय हर्ष र मनोरञ्जनको समय स्वीकारीएको छ ।

दशैं सबैको हो भनि मानसपटलमा बस्दै आएतापनि नेपाल सरकारको सञ्चार माध्यमले हिन्दुहरुको मात्र महान् चाड विजय दशमी भनेर प्रचार गरिदा हिन्दु बाहेकका धर्मावलम्बीहरुले फेरि दशैं कसको हो ? भन्ने प्रश्न उठाउन थालेका छन् । त्यसो हुँदा हिन्दुहरुको मात्र नभनि दशैं नेपालीहरुको हो भन्ने शब्द सरकारी सञ्चार माध्यम र केही प्रबुद्ध व्यक्तिहरुले आफ्नो लेखन मार्फत अभिव्यक्त गर्दा उपयुक्त र सान्दर्भिक हुन जान्छ । त्यस तर्फ केन्द्रित भएर दशैं नेपालीहरुको पर्व हो भन्ने शब्द तर्फ लागौं । त्यहाँबाट एकता र दशैं सबैको हो भन्ने झल्कन्छ । यही सबैमा शुभकामना ।