हत्यारा पत्ता नलाग्नुको पछाडी के रहस्य छ ? « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

हत्यारा पत्ता नलाग्नुको पछाडी के रहस्य छ ?


यलम्वर टाइम्स
१४ कार्तिक २०७८, आईतवार ०९:५०

समाज दिनदिनै बाक्लिदै छ । शहरमात्र होइन, गाउँमा पनि घरहरुको संख्या थपिने र मानिसहरुको संख्या बाक्लिने क्रममा छ । जहाँ समाज बढ्दै जान्छ, त्यहाँ विकास पनि हुँदै जान्छ । त्यही विकास बढ्ने र देखासिकी गरिखानेहरुको पनि प्रगति हुँदै जाँदा अपराधिक गतिविधि बढ्दै जाने पछिल्लो समयमा भएको विभिन्न घटनाले दर्शाउछ । यस्ता अपराधिक घटनाहरु शहरिया समाजमा बढी पाउँछौं । समाज र शहरले प्रगति गरेको ठाउँमा अवान्छित गतिविधि हुने हुँदा प्रहरी प्रशासनले पनि निगरानी चलाएको हुन्छ । त्यो निगरानी जिल्लाबाट सिफारिस भएपछि संघीय सरकारले उच्च छनौट गरी प्रहरी प्रशासनिक गतिविधिलाई तीव्र पारिएको हुन्छ । त्यही तीव्रतामा रहेको क्षेत्र हो झापाको मुटु बिर्तामोड ।

बिर्तामोडलाई चुस्तदुरुस्त चलायमान पार्न भनेर प्रहरी प्रशासनले पनि बिर्तामोड इलाका प्रहरी कार्यालयमा एक डीएसपी र दुइ इन्स्पेक्टर जस्ता दक्ष जनशक्तिलाई उभ्याएको छ । साना–साना घटनालाई क्षणभरमा पत्ता लगाउन सक्ने क्षमता भएको बिर्तामोड इलाका प्रहरी कार्यालय, बिर्तामोडमै एक युवती र एक मासु व्यवसायीको हत्या हुँदा अनुसन्धानकै पगरीमा राख्नु भनेको दुःख लाग्दो क्षण बन्दै गएको छ । उजुरीको आधारमा मान्छे पक्रने काम त सामान्य प्रहरी चौकीले नै गर्छ, तर सक्षम र दक्ष जनशक्ति भएको बिर्तामोड प्रहरी कार्यालयले हत्यारा पत्ता लगाउन नसक्नु इप्रका बिर्तामोडका कमाण्डर र त्यस ठाउँमा बस्ने अनुसन्धानका दुइ अधिकृतहरुलाई प्रश्न हुन जान्छ ।

तीन तलामाथि सुतेकी युवतीको भुईमा लास हुनु अनि मासु काट्दै जीविका चलाउँदै आएका व्यवसायीलाई काटेर हत्या गर्ने जस्ता जघन्य अपराधका अपराधीहरु पक्रन नसक्नुले बिर्तामोड इलाका प्रहरी प्रमुखले व्यवसायीहरुको सुरक्षा गर्न नसक्ने प्रशासकको रुपमा शंका गर्न थालेका छन् । बलत्कार, हत्या, वेश्यावृद्धि र जुवातासको अखडा बन्दै गएको शहर भनि बिर्तामोडलाई बाहिरका मानिसहरुले भन्न थालेका छन् । के यही उपनामले बिर्तामोडलाई चिनाउने हो त ? बिर्तामोडका व्यवसायीहरुले भन्न थालेका छन् । होइन भने भएको घटनाको परिणाम जनतामाँझ ल्याउन सक्नुपर्छ । त्यसमा बिर्तामोड इलाका प्रहरी कार्यालयले उत्तर दिन सकेन भने जिल्ला प्रशासन जवाफदेही हुन सक्नुपर्छ र जरुरी छ ।