सबैको सहयोगमा स्मार्ट सिटी « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

सबैको सहयोगमा स्मार्ट सिटी


यलम्वर टाइम्स
९ माघ २०७३, आईतवार ०७:०१

पछिल्लो पटक शनिअर्जुन नगरपालिकाको विकासको फड्को राम्रै मारेर आएको देखिन्छ । विकास गर्ने क्रममा नगरपालिकाभित्रका राजनीतिक दलहरु बिचको एकता भएकै कारण नयाँ नगरपालिकासँगसँगै यस क्षेत्रभित्र बाटाघाटा, कुलकुलेसो र संघसंस्थाका भवनहरु पनि दु्रत गतिमा निर्माण हुँदै आएका छन् । आर्थिक स्रोतको भण्डार नगर क्षेत्रमा व्यापक नभएतापनि केन्द्रको बजेट र स्थानीय स्तरबाट उठेको राजश्वबाट नगरको विकासमा टेवा पुग्नु राम्रै काम हो भन्दा अत्तियुक्ति नहोला ।

राज्य पुनर्संरचनाले शनिअर्जुनमा नजिकको गाविस खुदुनाबारीलाई मिलाएर अर्जुनधारा नगरपालिका नामाङ्कन भएपछि यस नगरपालिका विकासमा अझ एक कदम अगाडी बढ्ने र अर्जुनधारा नगरपालिका झापाकै नमूना नगरपालिका बन्नमा पछि नपर्ने देखिन्छ । प्राकृतिक स्रोतसाधन र यस क्षेत्रको आय स्रोतसँगै नदीतलाउ भएको हुँदा विकासका सम्भावना बाटाहरु प्रशस्त रहेको छ ।

यतिका आधारहरु हुँदाहुँदै झापा मध्ये शनिअर्जुन नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गरेर लान यस क्षेत्रका बासिन्दाहरु जुर्रमुराउन थालेको देखिन्छ । सामान्य प्रशासन मन्त्रि केशवकुमार बुढाथोकीले शनिअर्जुनलाई स्मार्ट सिटीको रुपमा लानका लागि राज्यबाट चालिएको कदम उपयुक्त भएको सन्देश दिएपछि यस भेगका बासिन्दाहरु स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने जिज्ञासा उठाएका छन् ।

हालै नेपाली कांग्रेस नगर समितिले स्मार्ट सिटीका विषयमा नगरभित्रका राजनीतिक दल र संघसंस्थाहरुलाई आफ्नो कार्यालयमा बोलाएर स्मार्ट सिटीको कल्पना गर्न झक्झकाएका थिए । उक्त भेलामा दुई दर्जनभन्दा बढी संघसंस्थाका मानिसहरुको उपस्थिति थियो । भेलामा स्मार्ट सिटी कसरी निर्माण गर्न सकिन्छ भन्ने जिज्ञासा दिलाएको थियो । कतिपय वक्ताहरुले स्मार्ट सिटीको कल्पना गरेर लाने हो भने असम्भव भन्ने शब्द काहीँ पनि हुन्न तर राजनीतिक एकता र विकासका कार्यमा सबैको मन मिल्न जरुरी देखिने सुझाव राखेका थिए ।

स्मार्ट सिटी हुने आवश्यक पूर्वाधार के–के हुन सक्छन् ? यसबाट फाइदा र दीर्घकालिन विकास कसरी गर्न सकिन्छ भन्ने विषय विज्ञ आवश्यक हुने देखिन्छ । त्यसैले त्यस तर्फ बृहत छलफल र अन्तरक्रिया अझ गर्नुपर्ने हुन्छ। विश्व सूचनाका कारण नजिक भइरहेको बेला शनिअर्जुनलाई स्मार्ट सिटीको रुपमा विकास गरेर लैजाँदा पूर्वको १ नम्वर प्रेदशको नाक उच्च राख्न सकिनेछ । त्यसतर्फ लम्किनका लागि सबै राजनीतिक शक्तिहरु एक हुन जरुरी देखिन्छ । हामी टाढा नजाऔं खुदुनाबारीलाई नमूना गाउँ बनाउनको लागि त्यहा पहल नभएका हैनन् । तर नमूना कार्यमा जान राजनीतिक दल बीचको चिसोपनका कारण खुदुनाबारी नमूना गाउँ बनाउने कार्यमा ओझेलमा पर्न पुग्यो । त्यस्तो अवस्था हुन नदिनका लागि हामी सबै सचेत हुन जरुरी छ ।