पहिचानवादी शक्ति होसियार बन « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

पहिचानवादी शक्ति होसियार बन


यलम्वर टाइम्स
१७ मंसिर २०७९, शनिबार ०२:१६

नेपालमा पहिचानवादी दलहरु भए पनि साना–साना झुण्डमा अडिएर रहेको हुँदा ति दलहरुको विकास फराकिलो हुन नसकेको पटक–पटक भएको निर्वाचनले प्रष्ट्याएको छ । प्रजातन्त्र उदय पश्चात अधिकार खोज्ने र प्रान्तीय राज्यको अवधारणा ल्याउँदै समानुपातिक प्रतिनिधित्वको आवाज उठाउँदै आएका दलहरु लोकतन्त्रमा पनि पछि पर्नु एकताको अभाव हो भन्ने आम निर्वाचनको परिणामले देखाउँछ । पहिचानवादी दलहरु माथि आउँन नसक्नु र समानुपातिक मतमा पनि पछिपर्नु त्यसैको उपज हो ।

प्रजातन्त्र उदय भएको ३४ वर्ष पार भइसकेको छ । लोकतन्त्र स्थापना भएको पनि १७ वर्ष पुगिसकेको छ । ०६२÷०६३ मा जन्मिएको एउटा बालकले पनि यस पटक मतदान गरिसकेको छ । नयाँहरुलाई त पहिचान र समानुपातिक नयाँ विषय हुन सक्छ । तर पटक–पटक मत दिँदै आएका र पहिचान, समानुपातिक र धर्मनिरपेक्ष सुन्दै आएका जनतालाई अब के भनेर एक ठाउँमा उभ्याउँने यो प्रश्न पहिचानवादी दलहरुलाई छ । विषेश गरी छोटो समयमा उदाएको मधेसवादी दलले आफ्नो प्रदेश नंं. २ मा पहिचानको आधारमा प्रदेशको नामाकरण गरी सकेको छ । पहिचानवादी दलहरु मध्ये मधेसवादी दल जसपा एक ठाउँमा उभिए पनि पार्टीभित्रको कलहले बीचैमा दुईधार देखा पर्दा यो पटक जसपा र लोसपा उतानो चित्त हुन पुगेको प्रष्ट देखियो ।

यता पहाडी क्षेत्र हुँदै मेची, महाकाली संगठन भएको जनमुक्ति पार्टी पनि चित्त खाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मंगोल नेशनल पनि उतानै परेको छ । समग्रमा यी दलहरुनै हुन् पहिचानको आवाज उठाउँने । तर ०७९ को निर्वाचनले पार्टी भित्रका कुण्ठाहरु जे जस्तो भए पनि त्यसलाई बिर्सिएर, नेतृत्वकर्ताले आफूभित्रको अह्मतालाई फ्याँकेर एकताको सूत्रमा बाधिनु पर्ने सन्देश दिएको छ । यस्तो अवस्थामा पहिचानवादी दलहरु एकता हुन सकेनन्, एकअर्कामा बहस र छलफल गर्न सकेनन् भने आउँने दिनमा पहिचानवादी दल हुँ भन्नेहरुको अवस्था विलिन भएर जाने निश्चित छ । त्यसतर्फ ध्यान केन्द्रित जरुरी देखिन्छ ।

नेपाल बहुसंख्यक आदिवासी जनजाती भएको मुलुक हो । यहाँ बोलिने भाषा र बसोबास गर्ने जाति राष्ट्र हुन् । बहुसंख्यक धर्म मान्ने मानिसहरुपनि यहि मुलुकमा छन् । भाषा, लिपि मात्र होइन रहनसहन मौलिक चाडपर्व मान्नेहरु पनि यही छन् । तर तिनीहरुलाई लोकतन्त्रमा पाउनु पर्ने अधिकार प्राप्त हुन नसक्दा वितृष्णा पनि त्यतिकै छ । सयौं थुङ्गा फूलका माला भनिएतापनि अधिकार दिने काममा फूललाई छिन्नभिन्न बनाइएको हुँदा त्यसलाई मध्यनजर गर्दै पहिचानवादी शक्तिहरु एक भएर अगाडि बढ्नु आवश्यक छ । यसैमा भलो होला ।