एक ट्रिपर समृद्धिले कहीँ पुर्याउँदैन « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

एक ट्रिपर समृद्धिले कहीँ पुर्याउँदैन


यलम्वर टाइम्स
१३ श्रावण २०७५, आईतवार ०९:०२

 

[पुण्य सुवेदी]

स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष पूरा भएर दोस्रो वर्ष शुरु भइसकेको छ । स्थानीय सरकारले एउटा आर्थिक वर्षमा आफ्ना नीति तथा कार्यक्रमहरु, योजना र बजेटको कार्यान्वयन गरिसकेका छन् । मुलुकको परिवर्तित परिस्थिति, कानूनहरुको अभाव, अनुभवको कमि, लामो समय कर्मचारीको भरमा चलेका स्थानीय निकायहरुमा कर्मचारीहरुको बलियो सञ्जाल आदि कारणले बितेको एक वर्षलाई जनप्रतिनिधिहरुको अनुभवका लागि छुट्याइदिन सकिन्छ । अर्थात् बितेको वर्ष जानिएन, सकिएन, थाहै भएन भन्ने छुट जनप्रतिनिधिहरुले प्राप्त गरेका छन् यदि तिनले बद्नियत नराखी काम गर्दा गल्ती, कमजोरीहरु भएका रहेछन् भने । तर दोस्रो वर्षदेखि यस्तो छुट मतदाताले जनप्रतिनिधिहरुलाई दिन सक्दैनन् । चुनावी मैदानमा प्रतिस्पर्धीहरु मध्ये सबैभन्दा योग्य उम्मेदवार ठानेर छनौट गरिएका जनप्रतिनिधिहरु आफ्नो पूरा कार्यकाल सिक्नका लागि प्राप्त गरेका होइनन् ।

विकास, निर्माणका थुप्रै कामहरु हाम्रा जनप्रतिनिधिहरुको अगुवाइमा वितेको एक वर्षमा सम्पन्न भएका छन् । बाटाहरु बने, पुलहरु बने । अरु पनि धेरै योजनाहरु कार्यान्वयन भइसके, कति अझै अधुरा छन्, सम्पन्न हुने चरणमा छन् । एक वर्ष काम नगरेर होइन, थुप्रै काम गरेरै वितेको छ । बलियो र स्रोत, साधनले सम्पन्न स्थानीय तह भएका कारण ती कामहरु समयमै सम्पन्न भएका हुन् ।

तर यी योजनाहरु जनप्रतिनिधिको मूल्याँकनका आधार भने पटक्कै होइनन् । किनभने दलहरु मध्येको उत्कृष्ट दल, उम्मेद्वारहरु मध्येको उत्कृष्ट उम्मेद्वारको छनौट गरेको उपलब्ध स्रोतको बाँडिचुँडी गर्नका लागि मात्रै होइन । यति काम त अर्को उम्मेद्वार , अर्को दलले पनि गर्न सक्थ्यो । सम्पन्न योजनाहरुको गुणस्तर र पारदर्शिता, योजना निर्माणमा जनप्रतिनिधिहरुको दूरदृष्टि, थप स्रोतहरुको पहिचान र परिचालनमा सफलता, प्रशासनिक, न्यायिक कार्यसम्पादन र सेवाप्रवाहमा तदारुकता र पारदर्शिता जनप्रतिनिधिहरुको मुल्याँकनका आधारहरु हुन् ।

विकासका विभिन्न साना, ठूला योजनाहरुमा गरिएको लगानीको कति सदुपयोग भएको छ ? हिजो प्राविधिक, कर्मचारी, उपभोक्ता समितिलाई भाग छुट्याएर बाँकी रहेको रकम विकास, निर्माणमा लगानी गर्ने प्रचलन आज जनताका प्रतिनिधिहरुले तोड्न सके कि सकेनन् ? जनप्रतिनिधिहरुलाई समेत भागबण्डामा सामेल गर्नुपर्ने स्थिति त आएन ? कामको गुणस्तरमा सम्झौता गर्ने तर मिलेमतोमा योजना पछ्र्यौट भएको देखाउने प्रवृत्तिको अन्त्य भयो कि भएन ? तपाईंको कार्यक्षेत्रमा सम्पन्न योजनाहरु कागजमा मात्र फछ्र्यौट भए कि ती लाभग्राहीहरु माझ पारदर्शी छन् ? योजनाको छनौट आवश्यकताको आधारमा समृद्धिको आधार तय गर्ने दूरदृष्टि अनुसार भयो कि पहुँचवालाहरुको पहुँचको आधारमा ?अनि सम्पन्न वा चालु योजनाहरुले पाँच वर्षको कार्यकालमा तपाईंले बनाउनु भएको विकास र समृद्धिको दूरदृष्टिलाई कसरी सघाउ पु¥याउँछन् ? यी प्रश्नहरुमा तपाईंले पाउनु भएको उत्कृष्टता तपाईंको सफलता मापनको एउटा आधार हो ।

स्थानीय तहहरुलाई संघीय सरकार र प्रदेश सरकारले सशर्त र वित्तीय समानीकरण अनुदान प्रदान गर्दछन् । स्थानीय तहले मात्र उपयोग गर्न पाउने, संघ र प्रदेशसँग बाँडफाँड गर्नुपर्ने राजश्वहरु पनि स्थानीय तहका आम्दानीका स्रोतहरु हुन् । हिजो स्थानीय निकायको अभ्यास गरिरहँदा निकायसँग आफूले परिचालन गर्ने स्रोत अहिलेको तुलनामा निकै सीमित थियो ।

नियमअनुसार अनुदानमा प्राप्त गरेको स्रोतको परिचालन जनप्रतिनिधिहरुको जिम्मेवारी हो । अनुदान बढेको कारण हिजो भन्दा ठूलो आकारको स्थानीय तहको बजेट बन्नुमा जनप्रतिनिधिहरुको भूमिका छैन । तर नियमित अनुदानदेखि बाहेक थप अनुदान प्राप्त गर्नुमा भने उनीहरुको योगदान रहन्छ । त्यसकारण थप अनुदान प्राप्त गर्न स्थानीय सरकारले प्रभावकारी र विश्वसनीय योजनाहरु तयार गरेर पेश गर्न सक्नुपर्छ ।

योजनाको पक्षमा परिणामदायी लविङ्ग पनि उत्तिकै आवश्यक हुन्छ । स्थानीय स्तरबाट पनि राजश्वका स्रोतहरुमा वृद्धि गर्न सकिन्छ । तर राजश्व वृद्धि गर्नु भनेको करका दरहरु बढाउनु मात्रै होइन । समृद्धिका लागि भनेर जनताको ढाड सेक्ने गरी करका दरहरु वृद्धि गर्नु जनमुखी नीति होइन ।

बरु करका दायराहरु फराकिलो बनाउनु, करको दायरामा आउन नसकेका र कर छली भइरहेका क्षेत्रहरुको पहिचान गरी तिनलाई करको दायरा भित्र ल्याउनु, स्थानीय तह भित्रको उद्योग, व्यापार, पर्यटनको विकास र विस्तारद्धारा उत्पादनलाई वृद्धि गरी करको परिमाणमा वृद्धि गर्नु, स्थानीय तहभित्रका संघसंस्था र संरचनाहरुलाई आत्मनिर्भर तुल्याउनु स्थानीय तहको अर्थतन्त्र निर्माणका आधारहरु हुन् । संघ र प्रदेशको मुख ताक्ने स्थानीय सरकार अनि स्थानीय सरकारको मात्रै मुख ताक्ने भित्रका सबै संरचनाहरु भए भने यस्तो परनिर्भरताले समृद्धि ल्याउदैन ।

मन्दिरहरु हरेक साल नगरपालिकासँग बजेट माग्नका लागि होइन धार्मिक पर्यटनमा वृद्धि गरी नगरको अर्थतन्त्रमा टेवा पु¥याउनका लागि हुनुपर्छ । पार्कहरुको विकास हरेक साल बजेट छुट्याइदिनका लागि होइन लाखौं पर्यटकहरुलाई आकर्षण गरेर रोजगारी र आम्दानी वृद्धि गर्नका लागि हुनुपर्छ । खोलाहरुमा गरिएको लगानी नदी कटान नियन्त्रणका लागि मात्र होइन सिचाइँ, नदीजन्य सामग्रीको वैज्ञानिक उत्खनन्को माध्यमबाट नगरको समृद्धिमा सघाउनका लागि हुनुपर्छ ।

वनहरु आयआर्जन र उत्पादनका मुख्य स्रोतहरु बन्नुपर्छ । सडक, पुलमा गरिएको लगानीले कृषि, पर्यटन, यातायात तथा ढुवानी सेवाको विकास र विस्तार गरी नगरको अर्थतन्त्रमा सघाएको हुनुपर्छ । कृषिमा गरिएको लगानीले कृषि उपजको उत्पादन कति बढ्यो ? पर्यटनमा गरिएको लगानीले पर्यटकको आवागमनमा कति वृद्धि भयो ? यसको हिसाब राख्ने प्रणालीको पनि विकास गरिनुपर्छ । निश्चित समयसम्म गरिएको लगानी पछि लगानी गरिएका क्षेत्रहरु लिने होइन आत्मनिर्भर बन्ने र दिने हैसियतमा पुगेको हुनुपर्छ । तर हाम्रा प्रायः सबै संरचनाहरु आफू उत्पादन खासै नगर्ने तर अर्काको आश गरिरहने किसिमका छन् । यो थीतिलाई बदल्न जनप्रतिनिधिहरुले गरेको पहलकदमी र परिणाम उनीहरुको मुल्याँकनको अर्को आधार हो । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको न्युनतम अवसरबाट समेत बञ्चित नागरिकहरुका लागि स्थानीय सरकारले ल्याएका कार्यक्रमहरु पनि उसको मुल्याँकन गरिने अर्को पाटो हो ।

कृषिमा आत्मनिर्भर बन्ने, कृषिजन्य उत्पादनको औद्योगिकीकरण गरी त्यसको निर्यात गरेर किसानहरुलाई धनी बनाउने तर्फ तपाईंले आजसम्म के काम गर्नुभयो ? तपाईंले तयार गर्नुभएको वैज्ञानिक आवास नीति कस्तो छ ? कतिवटा सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा विकास गर्नुभयो र कतिवटालाई गर्ने योजना छ ? प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तारका लागि वितेको वर्ष कति बजेट छुट्याउनुभयो , यो साल कति ? वितेको वर्ष तपाईंले विनियोजन गर्नुभएको करोडौं रुपैयाँ बराबरको बजेटले प्रत्येक वडाका कति सय युवाहरु रोजगार बने यस वर्ष कति बन्दैछन् ? वितेको वर्ष कति जनाले सीपमुलक तालिम प्राप्त गरे ? ती मध्ये कति जनाले तालिमलाई स्वरोजगारीमा बदले ? अब यो साल कति जनालाई स्वरोजगार बनाउने योजना छ ? नागरिकहरुलाई रोग लाग्न नदिन खाद्यान्नमा विषादि कति प्रतिशतले कमि गराउनु भयो ? अब कहिलेसम्ममा विषादि रहित क्षेत्र घोषणा गर्नुहुदैछ ? शुद्ध खानेपानी प्रत्येक घरसम्म पु¥याउने योजना छ कि छैन ? छ भने कति वर्षमा सम्पन्न हुन्छ ? खेलकुद, योगको माध्यमबाट नागरिकलाई स्वस्थ राख्ने तर्फ अघिल्लो आर्थिक वर्षमा तपाईंले गरेका कामको अनुभव के रह्यो ? अब के गर्दै हुनुहुन्छ ? स्वास्थ्य उपचार सेवालाई सर्वसुलभ बनाउन एक वर्ष पक्कै पर्याप्त भएन, अब थप के के गर्दै हुनुहुन्छ ? मतदाताहरु हिसाब राखेर बसेका छन् । तपाईंलाई अर्को चुनावमा पुरस्कृत गर्ने कि दण्डित गर्ने भनेर ।

स्थानीय तह र यसको मातहतका विभिन्न संरचनाहरुबाट भइरहेको सेवाप्रवाहको गुणस्तर पनि जनप्रतिनिधिहरुको मुल्याँकनको अर्को विषय हो । सेवाप्रवाहमा ढिलासुस्ती, झण्झट, घुसखोरी अझै बेहोरिरहनु परेको छ या मुस्कान सहितको दु्रत सेवाप्रवाह सञ्चालन गरिरहनु भएको छ ? स्थानीय तहबाट हुने न्याय सम्पादन कति सरल, भरपर्दो, निश्पक्ष र कानुनी मान्यता अनुकुल छ ? भुक्तभोगी मतदाताहरु या त तपाईंलाई धन्यवाद दिइरहेका छन् या भोट दिएकोमा पछुताइरहेका ।

आदिबासी, जनजाति, दलित, महिला, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्ग, तेस्रो लिङ्गी नागरिकहरुको हक, हित, इज्जत र अधिकारको प्रवद्र्धनमा तपाईंले पु¥याउनु भएको योगदान पनि मतदाताले सम्झने छन् । नगरको समृद्धिमा यस्ता विषयहरुले पनि महत्व राख्दछन् । विकास र समृद्धिका यहाँ उल्लेख गरिएका बाहेक अरु पनि थुप्रै आयामहरु छन् । हरेक कुना कुनाबाट तपाईं जनप्रतिनिधिमा नजर लगाउँदा अर्को चुनावमा पनि अविर, माला पहि¥याएर सम्मान गर्न मन लाग्ने तपाईंको व्यक्तित्व बन्नुपर्छ ।

आज तपाईंसँग सत्ता छ । धेरै मानिसहरु सत्ताको नजिक रहन रुचाउँछन् । तपाईंको नजिक पनि आज थुप्रै मानिसहरु छन् । तिनले तपाईंको जयगान नै गाइरहेका छन् । तर ती तपाईं सत्तामा रहुञ्जेलका लागि मात्र हुनसक्छन् । तपाईंको छेउमै रहेर तपाईंको भजन गाउदै वर माग्न वरिपरि घुमिरहेकाहरुले नै तपाईंका कमजोरीहरु पनि छेउबाटै नियालीरहेका छन् । थुप्रै प्रियजनहरु वरिपरि पाएर तपाईं गद्गद पनि हुनुहोला तर विरोधीहरुले सुराकीहरुको प्रयोग पनि यसरी नै गर्ने गर्दछन् ।

तपाईंका थुप्रै गोप्य सूचनाहरु पनि यिनै तपाईंका भक्तजनहरुले चुहाइदिने हुन् । तपाईंलाई धेरै निम्ताहरु आउँछन् , उद्घाटनका लागि, प्रमुख आतिथ्य ग्रहण गरिदिनका लागि । तपाईंको महत्वपूर्ण समय यसमा खर्च पनि भइरहेको छ । तर मतदाताले तपाईंको मुल्याँकन गर्दा एक अंक पनि नदिने काम भनेको तपाईंले प्रमुख अतिथिका कतिवटा विल्ला पहिरिनु भयो भन्ने नै हो । समयको सही व्यवस्थापन, सल्लाहकार र सचिवालयको सही व्यवस्थापन र परिचालन, विकासका हरेक आयामहरुमा दुरदृष्टि अनि सो अनुरुपका योजनाहरु निर्माण, कार्यान्वयन र अनुगमनले मात्रै तपाईंका सफलताका सूचकहरु थप्दै लैजानेछन् ।

हरेक साल मेरो घर अगाडिको बाटोमा तपाईं एक ट्रिपर समृद्धि छरेर जानुहुन्छ, अर्को साल बाटो जस्ताको तस्तै हुन्छ । यस्तो वर्षेनी आइरहने समृद्धिले हामीलाई तपाईंको कार्यकालभरिमा कहीँ पनि पु¥याउँदैन । समृद्ध नगर निर्माणमा दत्तचित्त सबै जनप्रतिनिधिहरुलाई सफलताको हार्दिक शुभकामना ।

      पुण्य सुवेदी