स्वस्थानीले कतै महिलामाथि विभेद त गरेको छैन ? « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

स्वस्थानीले कतै महिलामाथि विभेद त गरेको छैन ?


यलम्वर टाइम्स
२८ माघ २०७५, सोमबार ०७:४१

[नरेश खाती]

सुदुरपश्चिमका केही जिल्लामा महिनावारी हुँदा महिलाहरु छाउ बार्न, छाउगोठमा बस्ने गर्दछन् । छाउ बार्ने मध्ये प्रत्येक वर्ष आधा दर्जनभन्दा बढी महिलाहरु ज्यान गुमाउन बाध्य छन् । अछाम जिल्लामा महिनावारी हुदाँ घरमा छोउ बार्नुपर्ने कडा नियम रहेको छ । अधिकांश जनप्रतिनिधिको घरमा छाउगोठ छ । वडामा निर्वाचित जनप्रतिनिधि महिला तथा सबै महिनावारी हुदाँ छाउ बार्नुपर्ने बाध्यता छ । शिक्षिकाहरु महिनावारी हुदाँ विद्यालय जादैनन् बिदामा बस्छन् । विद्यालय नजिकै देवताको मन्दिर रहेकोले उनीहरु विद्यालय नगएका हुन् । साथै ती शिक्षिकाहरु महिनावारी भएका बेला गोठमा पनि बस्ने गर्छन् । त्यसैगरी छाउपडी प्रथा विरुद्ध अन्य अभियानका अभियान्ताहरु समेत परम्परगत नियमपूर्वक छाउगाठमा बसेर छाउपडी प्रथालाई टेवा दिइरहेका छन् ।

गत ०७४ पुष २४ गते छाउगोठमा निसासिएर एक सामाजिक अगुवा लक्ष्मी बुढाको मृत्यु भयो । शर्मिला भूल, र रोशनी तिरुवाको पनि छाउगोठमा मृत्यु भएको थियो । ती दुवै पढेलेखेका अगुवा महिलाको रुपमा चिनिन्थ्ये । छाउपडी प्रथा मान्नेहरुमा जनप्रतिनिधि, शिक्षिका र सामाजिक अगुवा नै अग्रपंत्तिमा छन् ।

नेपालका अधिकांश भागमा महिलामाथि हुन हिंसात्मक घटनाहरु क्षेत्रीय हिसाबले फरक–फरक छन् । सुदुरपश्चिममा जस्तो सुदुरपूर्वका हिन्दू महिलाहरु छाउगोठमा त बस्दैनन् तर महिनावारी हुदाँ बार्ने गर्दछन् । प्रथा परम्परा धर्म संस्कारका रुपमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा महिलालाई दोस्रो दर्जाको रुपमा राख्ने चलन नेपालभर नै छ । यसो भनिरहँदा, अतिशयोक्ति नहोला । यस्तै धार्मिक विश्वासका नाममा महिलामाथि शोषण गर्ने संस्कारबारेमा चर्चा गर्न आवश्यक छ । प्रसंग हो प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने ‘श्री स्वास्थानी व्रत कथाको’ । हिन्दू धर्ममा आस्थावान महिलाहरुले एक महिनासम्म पूजाआजा गर्दै स्वास्थानीको व्रत लिने गर्दछन् । यो पुस्तक श्रद्धा भक्तिपूर्वक पढ्ने र सुन्ने गर्छन् ।

‘श्री स्वास्थानी व्रत कथाका सम्बन्धमा नेपाली समाजमा फरक–फरक किसिमको धारणा रहेका पाउँन सकिन्छ । पहिलो, हिन्दू धर्मलाई आलोचना बिना स्वीकार गर्नेहरु जो हिन्दू धर्मका सम्पूर्ण विधिलाई भगवानले बनाएका हुन् र यसको पालना गर्नु पुण्य कर्म हो भन्ने बुझाई भएकाहरु । यति मात्रै होइन यसरी श्रद्धापूर्वक धर्मको पालना गरेवापत विभिन्न मनोकांक्षा पूरा हुने र पुण्य लाभ हुने कुरामा विश्वस्त छन् । दोस्रो हिन्दू धर्ममा आस्थावान तर, समय सापेक्ष सुहाउँदो संस्कारको आवश्यकता महसुस गर्दै धर्मको आलोचनात्मक सर्मथन गर्ने हिस्सा । तेस्रो धारमा जो जुनसुकै धर्ममा रहेका जातजाति, वर्ण, लिङ्गका आधारमा हुने विभेदको अन्त्य गन पहल गर्नेहरु ।

पहिलो र दोस्रो धारका व्यक्तिहरुले प्रत्यक्ष अप्रत्यक्ष इच्छाएर वा बाध्यतामा अन्धविश्वासलाई मलजल गरेको यथार्थ हाम्रो समाजिक व्यवहारमा पाउँन सकिन्छ । यहाँ म तेस्रो धारका व्यक्तिहरुले ‘श्री स्वास्थानी व्रत कथाका सन्दर्भमा उठाएका मतका बारेमा चर्चा गर्नेछु ।

हिमालय पुत्री पार्वतीले विष्णुको सल्लाह अनुसार महादेव स्वामी पाउँ भनी, बालुवाको शिवलिङ्ग बनाई निरहार व्रत बसेर तपस्या गरी मनोकांक्षा पूरा भएको प्रसंग स्वास्थानी व्रत कथामा उल्लेख छ । स्वास्थानी यतिमा मात्र सीमित छैन । अनेक प्रसंग छन्, त्यहाँ बालविवाहलाई प्रोत्साहन गरिएको छ । पतिको अपमान भएकोमा पत्नीले आगोमा फालहानी मृत्यु वरण गरेको प्रसंग छ, महिलालाई कर्मशिल हुनका सट्टा भाग्यवादी हुन सिकाइएको छ । छलकपट, भ्रामक र अश्लिलताले भरिभराउ छ ।


नेपाली हिन्दू महिलाहरु एक महिनासम्म सात वर्षकी बालिकाको सत्तरी वर्षको बुढोसँग भएको विवाहलाई न्यायसंगत मानि पूजा गर्दैछन् । यानिकी बालविवाह स्वीकार गरिँदैछ ।

स्वास्थानीमा पाँच वर्षकी बालिकालाई श्राप दिएको कथा छ । एक पटक भिक्षुकका रुपमा भिक्षा लिन आएका महादेवले गोमालाई श्राप दिन्छन् । पूजाका लागि केलाएको अक्षता नदिएर अरु नै चामल दिदा क्रोधित भएर भिक्षकका रुपमा आएका महादेवले गोमालाई श्राप दिदै भन्छन्, ‘तँ सात वर्षकी हुदाँ सत्तरी वर्षको बुढोसित तेरो विवाह होस् ,फेरि तेरा बाबा महतारीले कष्टले कमाएको सम्पत्ति नाश होस्, फेरि तँलाई पनि अनेक तरहका दुःख परुन् । फेरि तेरा बाबा महतारी चाँडै मरुन् ।’ श्राप अनुरुप नै गोमाको विवाह सत्तरी वर्षको बुढोसँग हुन्छ । नेपाली हिन्दू महिलाहरु एक महिनासम्म सात वर्षकी बालिकाको सत्तरी वर्षको बुढोसँग भएको विवाहलाई न्यायसंगत मानि पूजा गर्दैछन् । यानिकी बालविवाह स्वीकार गरिँदैछ । जब बालिका गोमाको शिव शर्मासँग विवाह हुन्छ, गोमाका बाबुले सम्झाउँदै भन्दछन्, ‘दैवको सामु कसैको केही लाग्दैन । दैवले जे गर्छन् त्यो व्यहोर्नु पर्छ । यो विश्व दैवको इच्छाले चलेको छ भने, म के गरौं ?’ बालिका गोमा बाबुको स्वीकार गर्दै भन्छिन, ‘मेरो भाग्यमा यस्तै लेखिएको रहेछ, फेरि महादेवको श्राप उल्लङ्घन गर्न कसले सक्छ ? जन्मसँगै भाग्यमा लेखिएको हुन्छ र जे गर्नुपर्ने भाग्यले गर्छ भन्ने कुरा हाम्रो समाजका महिलालाई स्वीकार गर्न लगाईएको छ । अर्थात् जर्बजस्त भाग्यवादी बनाउन सिकाएको छ, हाम्रो समाजका महिलालाई ।

महिलालाई पतिभक्त बनाउन सिकाईएको छ । स्वास्थानीमा गोमा भन्छिन्, ‘हे माता पिता ! स्त्री जातिको सबै तीर्थ व्रत, दान धर्म आफ्ना पति हुन् । स्त्री जाति भई आफ्ना पतिलाई रिस गरेर हेरे डेरी हुन्छन्, गाली गरे भकभके हुन्छन्, मुख लागे लाटी हुन्छन्, पतिदेखि लुकाई खाए कुकुर्नी हुन्छन्, झगडा गरे द्रोही हुन्छन् । यसरी नारीलाई कर्तव्य सिकाउने स्वास्थानीले पतिले, पत्नीलाई गाली गरे, लुकाई खाए र झगडा गरे पति के के हुन्छन् भनी केही भनेको छ्रैन् । पतिले गरेका सबै कार्य मनासिव मानेको छ । स्वास्थानीमा देवताहरु बहुपत्नी भएको उल्लेख छ । तर पनि उनीहरुलाई पूजनी नै मानिएको छ । पत्नीलाई भने पतिप्रति आदार सत्कार गर्न खुबै मजाले सिकाइएको छ । स्वास्थानीमा सतीको पनि प्रसंग छ । शिवलाई निन्दा गरेर आफ्ना पतिलाई यज्ञमा निमन्त्रण नगरेको भन्दै, महादेव पत्नी सतीदेवीले यज्ञकुण्डमा हामफाली आत्मदाह गरिन् । अर्को एक प्रसंगमा हिन्दूका पूजनीय देवता विष्णुले जालन्धर पत्नी बृन्दाको सतित्व डग्छन् अर्थात् बलात्कार गर्छन् ।

स्वास्थानी व्रत कथाको निष्पक्ष विश्लेषण गर्ने हो भने, यसले नारीलाई अपमान गर्नु सिवाय केही गरेन भन्ने तेस्रो धारका तप्काको छ । तर अपसोच यस्ता कुरीतिलाई बचाई राख्न मद्दत गर्ने को हुन त ? यो तत्व पत्ता लगाउन मुस्किल छ । एकाध व्यक्ति बाहेक समाजमा शिक्षित, जनप्रतिनिधि, नीति निर्माता, सामाजिक अभियान्ता सबैजसोले यस्ता कुसंस्कारको विरोध गर्ने आँट गरेका छैन । त्यति मात्रै होइन उनीहरुका घर–घरमा स्वास्थानी व्रत कथा अनुरुपमा पूजाआज गरिन्छ । शिक्षित पुरुषहरु नै यस्ता परम्परा जोगाइराख्न चाहान्छन् ।

स्वास्थानीको कुसंस्कार बचाउन मिडियाको पनि उत्तिकै भूमिका रहेको मान्न सकिन्छ । नेपालका धेरै मिडिया (छापा, श्रव्य, दृश्य र अनलाइन)ले स्वास्थानीको शुरुवातदेखि महत्वका साथ समाचार प्रकाशन प्रसारण गर्ने गरेको पाइन्छ । पत्रपत्रिकामा समाचार र तस्वीर स्वास्थानी कथाका अनुकुल प्रकाशन गर्ने र कतिपय रेडियोहरुले स्वास्थनी कथा नै प्रशारण गर्ने गर्छन् । टेलिभिजन रिपोर्ट प्रशारण गर्छन् । कतिपय मिडियाहरुले पनि स्वास्थानीबाट हुने महिला हिंसालाई धर्मका नाममा प्रोत्साहन त गरेका छैन्न ? यो विचारणीय पक्ष हो ।

कुनै समयमा हिन्दू समाजमा धर्मका नाममा नारीलाई लोग्नेको मृत्यु हुँदा शवसँगै जिउँदो जल्न बाध्य पारिन्थ्यो । यद्यपी अहिले प्रत्यक्ष मर्न बाध्य छैनन् तर पीडाजनक व्यवहार हिन्दू समाजमा नारीमाथि निरन्तर जारी छ । स्वास्थानी जस्ता पुस्तकले अनेकौं प्रकरणलाई पुर्नजीवित गर्न सघाउँछ । यसले नारीलाई दुर्बल बनाउँछ । दुर्बल नारी भएको समाज सबल हुन सक्दैन भने सबल देशको कामना गर्न सकिदैन । समाजका सचेत नागरिकले महिलामाथि हुने विभेदपूर्ण संस्कारलाई अन्त्य गर्न अब ढिला गर्नु हुँदैन ।

यो लेखकको निजी विचार हो ।

नरेश खाती