नयाँ शक्तिबाट विद्यार्थीलाई निःशुल्क पोशाक « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

नयाँ शक्तिबाट विद्यार्थीलाई निःशुल्क पोशाक


यलम्वर टाइम्स
२८ भाद्र २०७४, बुधबार ०७:१९

[इन्द्रकुमार राई]

 अर्जुनधारा । नयाँ शक्ति पार्टी नेपालले झापा गाउँपालिका–२ स्थित बाढी पीडित विद्यालय जुडो प्राथमिक विद्यालयका बालबालिकाहरुलाई निःशुल्क पोशाक (कपडा) वितरण गरेको छ ।

झापा गाउँपालिका दुर्गम र अति बाढी प्रभावित क्षेत्र भएकाले विद्यालयमा अध्ययनरत १ सय १२ जना बालबालिकालाई निःशुल्क ६० हजार मूल्य बराबरको पोशाक वितरण गरेको बताइएको छ ।

जुडो प्राथमिक विद्यालयको आयोजना र नयाँ शक्ति पार्टी नेपालको सहयोगमा सोमबार विद्यालयमा आयोजित पोशाक वितरण कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक गोपाल गणेशले अविरल वर्षाका कारण आएको बाढीले विद्यालयको शैक्षिक सामग्री, कागजातहरु बगाई विद्यालयलाई क्षति पु¥याएको र कुनै पनि निकायले हालसम्म आफ्नो विद्यालयलाई सहयोग स्वरुप राहत वितरण नगरेको बताउँदै पहिलो चोटी नयाँ शक्ति पार्टीले पोशाक वितरण गरेकोमा पार्टीको प्रशंसा गरे ।

कार्यक्रममा प्रमुख अतिथि तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य कुमार क्षेत्रीले बाढी, पहिरो, भूकम्प, अग्नी पीडितहरुलाई सहयोग गर्न सरोकारवालाले दातृ संघसंस्थाहरुबाट संकलन गरेको राहत पीडित पक्षलाई सबै वितरण नगर्ने परिपाटी भएकोले आफ्नो पार्टीले यस परिपाटीको अन्त्य गर्न संकलन गरिएको सबै राहत विद्यालयका बालबालिकाहरुलाई वितरण गरिएको बताए ।

यसैबीच नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय कार्यकारी सदस्य देवकला प्रसाईले पोशाक सिलाईका लागि ज्याला खर्च १९ हजार ८ सय रुपैयाँ नगद विद्यालयका प्रधानाध्यापक गणेशलाई हस्तान्तरण गरेकी थिइन् । त्यसैगरी शनिश्चरे बजारका कपडा व्यवसायी भिकम मित्तलले पनि विद्यालयलाई सहयोग स्वरुप २ हजार ५ सय रुपैयाँ प्रदान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृतबहादुर विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नयाँ शक्ति पार्टीका नरेशकुमार लावती, उदय गुरुङ्ग, रोम घिमिरे, पुष्प पौडेल, चन्द्रजीत राई, गंगादेवी गिरी लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका संस्थापक गंगाबहादुर खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक तेजनारायण राजवंशीले गरेका थिए ।