शिवसताक्षीमा आंशिक लकडाउन « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

शिवसताक्षीमा आंशिक लकडाउन


यलम्वर टाइम्स
२ भाद्र २०७७, मंगलवार ०७:५४

झिलझिले । समुदायमा कोरोना संक्रमण फैलन थालेपछि शिवसताक्षी नगरले पनि आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।

बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म आंशिक रुपमा बजार खुल्ला गरे पनि सवारी साधनमा आवत जावतमा भने पूर्ण रोक लगाएको छ ।

पालिकाले दिएको समय बाहेक पसल खोले, सडकमा आवतजावत गरे, विना काम घर बाहिर निस्कीए क्वोन्टिनमा समेत राखिने नगरका प्रवक्ता नविन ईजमले जानकारी दिए ।

नगरपालिकाको बोर्ड बैठकले सोमबार राति १२ बजेदेखि भदौ ८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सबै नगरबासीलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

अत्यावश्यक सेवाहरु स्वास्थ्य संस्था, औषधी पसल, दूध डेरी बाहेक अन्य व्यवसायका पसलहरु बिहान ८ बजे देखि १२ बजेसम्म मात्र खोल्न पाउने निर्णय भएको छ ।

प्रवक्ता ईजमले भने, ‘बाँकी समय पूर्ण बन्द गरिने छ । होटल व्यवसाय लकडाउन अवधिभर नै पूर्णरुपमा बन्द गरिने निर्णय भएको छ ।’

यो समयामा उपभोक्ता र बिक्रेताले अनिवार्य रुपमा माक्स, सेनिटाईजर र भौतिक दूरी कायम राख्नु पर्ने नगरपालिकाले नियम बनाएको छ ।

नगरभित्रका साप्ताहिक बजारहरु अर्को सूचना नगरुन्जेलसम्मको लागि बन्द गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगरभित्र कुनै पनि सभा समारोह, गोष्ठी, योग कक्षा सञ्चालन गर्न पाईने छैन । प्रवक्त ईजमका अनुसार जिम खाना बन्द गरिएको छ ।

विवाह, व्रतवन्ध, पुराण जस्ता धार्मिक कार्यक्रमहरु गर्नु परे २५ जनाभन्दा बढी सहभागी हुन पाईने छैन । उल्लेखित संख्याले अनिवार्य रुपमा माक्स, सेनिटाईजर र भौतिक दूरी कायम राख्नु पर्ने निर्णय भएको छ ।

बैंक तथा वित्तिय संस्थाहरु बिहान १० बजेदेखि १ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने छ । कर्मचारीले अनिवार्य रुपमा परिचय पत्र साथमा नबोके स्थानीय प्रसाशनले पक्राउ गर्ने नगरपालिकाले जनाएको ।

आक्समिक सेवाका दमकल, एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी साधन, अतिआवश्यक काममा खटिएका नगरपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, शिवसताक्षी नगरका कर्मचारीले प्रयोग गर्ने सवारी साधन बाहेक नगरभित्र सञ्चालन गर्न पाईने छैन ।

नगरका प्रवक्ता ईजमका अनुसार पूर्व पश्चिम राजमार्गमा भने पालिकाले निर्णय लागु हुने छैन ।

नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको दैनिक प्रशासनिक काम पनि मंगलबारदेखि पूर्ण रुपमा बन्द गरिएको छ ।

यसअघि दैनिक रुपमा प्रशासनिक कामहरु हुँदै आएको थियो । कार्यपालिका बोर्डले नगरपालिका अन्तर्गतका सबै वडा कार्यालयबाट प्रभाह हुने सेवा बन्द गरेको छ ।

शिवसताक्षी नगरपालिकाले विपतको घडीमा सम्पूर्ण नगरवासीबाट सहयोगको अपेक्षा लिएको प्रवक्ता ईजमले बताए ।