भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नः गठबन्धनका उम्मेद्वार कार्की « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नः गठबन्धनका उम्मेद्वार कार्की


यलम्वर टाइम्स
१६ बैशाख २०७९, शुक्रबार १०:०५

खुदुनाबारी । गठबन्धनद्वारा आज शुक्रबार अर्जुनधारा–३ स्थित खुदुनाबारीमा आयोजित चुनावी सभामा उपस्थित उम्मेद्वारहरुले भ्रष्टाचार, अनियमितताको अन्त्य गठबन्धनको पहिलो शर्त भएको बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख पदका प्रत्यासी महिला नेतृ तथा अधिवक्ता रञ्जीता कार्कीले आफू निर्वाचित भए भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताएकी हुन् ।

चारैतिर खोलाको धारले छोएको खुदुनाबारीवासीको पीडालाई सम्बोधन गर्न आफू तयार भएको बताउँदै गठबन्धन पक्षलाई मत दिएर विजयी गराउन आग्रह गरिन् ।

गठबन्धनका उपप्रमुखका प्रत्यासी जीतेश योञ्जनले आमूल परिवर्तनको पक्षमा उभिदै र वकालत गर्दै आएको यतिका वर्षमा बल्ल गठबन्धनबाट परिवर्तन गर्न सक्छु भन्ने इच्छा र अभिलाशाबाट यहाँहरु समक्ष आएको बताए ।

उनले सुन्दर नगर, न्यायीक नगर र प्रकृतिले सजिएको नगर निर्माणमा गठबन्धनको अहम् भूमिका हुने बताउँदै गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

कृष्ण थापाद्वारा सञ्चालित सभामा वडा नं. ३ का वडाध्यक्षका उम्मेद्वार सीताराम भट्टराईले बुढी सुखानीदेखि गोमाघाटसम्म मात्र होइन ३ नम्बर क्षेत्रमा रहनुभएका न्यायप्रेमी जनताको पक्षमा आजीवन सेवक भएर काम गरिरहने बताए ।

कार्यक्रममा उम्मेद्वारहरुको परिचय समेत गरिएको थियो भने कार्यक्रममा धर्मशिला चापागाई, भरत बुढाथोकी, चतुर्भुज काफ्ले, मीना पन्धाक, जीवन भण्डारीको उपस्थिति रहेको थियो ।