देश बचाऔं, पहिचान जोगाऔंः जनमुक्ति « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

देश बचाऔं, पहिचान जोगाऔंः जनमुक्ति


यलम्वर टाइम्स
१८ आश्विन २०७९, मंगलवार ०७:४९

खुदुनाबारी । राष्ट्रिय जनमुक्ति पार्टी ‘देश बचाऔं, पहिचान जोगाऔं’ भन्ने अभियानमा अगाडि बढेको पार्टीका केन्द्रीय सचिव गजेन्द्र आङ्बोहाङले बताएका छन् ।

जनमुक्ति पार्टी क्षेत्र नं. २ को छैठौं क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै सचिव आङ्बोहाङले ठूला दलका जनप्रतिनिधिहरुबाट भ्रष्टाचार, मनपरीतन्त्र र पहिचानलाई नै बदनाम गरेको हुँदा देश बचाऔं र पहिचान जोगाऔं भन्ने अभियानमा जुटेको बताए ।

प्रमुख अतिथि समेत रहेका आङ्बोहाङले आगामी निर्वाचन पहिचान पक्ष र भ्रष्टाचारी पक्ष बीचको लडाई भएको बताउँदै मुक्ति योद्धा र अग्रगामी निकासका लागि जनमुक्तिको उम्मेद्वारलाई यहाँको मत जाहेर भएमा पछुताउनु नपर्ने बताए ।

कार्यक्रममा महिला नेतृ मीना पन्धाकले राष्ट्रिय राजनीतिमा तुसारापन भएकै कारण जनमुक्तिको उम्मेद्वारी खडा भएको बताउँदै पहिचान पक्षलाई सम्मान गर्न आम नागरिकमा अनुरोध गरिन् ।

क्षेत्रीय अध्यक्ष खड्ग चेम्जोङको सभापतित्वमा भएको कार्यक्रममा सञ्चारकर्मी दिपीन राई, सामाजिक योद्धा भुतराज आले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दुई चरणमा भएको कार्यक्रमको बन्दसत्रमा पार्टीको राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरिएको थियो ।

राजनीतिक प्रतिवेदनमा यस क्षेत्रको समिक्षा गर्दै क्षेत्र नं. २ कुनै पनि दलबाट पहिचान पक्षको विजय नभएको कारण यहाँका आदिवासी जनजाति, दलित र महिलाहरुको मुक्ति हुन नसकेको, प्रदेशको नामाकरणमा क्षेत्र नं. २ बाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरु मौन बसेको कारण त्यस्तालाई निरुत्साहित गर्न जनमुक्ति सक्रिय हुनुपर्ने निचोड निकालेका थिए ।

बन्दसत्रले ७ सदस्यीय क्षेत्रीय समिति निर्माण गरेको छ । समितिको अध्यक्षमा खड्ग चेम्जोङ, उपाध्यक्षमा खेम मोराहाङ, सचिव छत्र चेम्जोङ, संगठन सचिवमा भरत थापा मगर र कोषाध्यक्षमा अजित तेयुङ रहेका छन् ।

यसरी नै सदस्यहरुमा टेकमाया गुरुङ र अगम येक्तेन रहेको निर्वाचन मण्डलले जनाएको छ । कार्यक्रमको सञ्चालन तेज योङहाङले गरेका थिए ।