अबको विकल्प जनमुक्ति विचारधारा होः गजेन्द्र आङ्बोहाङ, झापा क्षेत्र नं. ३ उम्मेद्वार « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अबको विकल्प जनमुक्ति विचारधारा होः गजेन्द्र आङ्बोहाङ, झापा क्षेत्र नं. ३ उम्मेद्वार


यलम्वर टाइम्स
३० कार्तिक २०७९, बुधबार १०:४१

गजेन्द्र आङ्बोहाङ पछिल्लो पुस्ताका युवा नेता हुन् । मुन्धुमी ज्ञान बोकेका आङ्बोहाङले साम्जिक मुन्धुमबाटै स्नातक गरेका छन् । २०६२÷०६३ को जनआन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–५ मा जन्मिएका आङ्बोहाङ संघीय लिम्बूवान राज्य परिषदको संस्थापक केन्द्रीय सदस्यीय हुँदै हाल राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं महाधिवेशनबाट केन्द्रीय सचिव भई काम गर्दै आएका छन् ।

आसन्न २०७९ मंसीर ४ गते हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको पदमा उम्मेद्वारी दिएका छन् । झापा क्षेत्र नं. ३ निश्चित जातजाति बसोबास गरेको बहुसंख्यक किरात धर्मावम्लम्बी र कोच विचार बोकेका आदिवासीहरु रहेको हुँदा तिनै समुदायसँग नजिक भएर जनतामाझ घरदैलो अभियान चलाइरहेका छन् । उनको चुनाव चिन्ह घर भएको हुँदा मत माग्न सजिलो भएको बताउँछन् । उनैसँग यलम्वर टाइम्सले गरेको चुनावी वार्ता :

चुनावी चर्चाले क्षेत्र नं. ३ लाई कतिको छोएको छ ?

वर्षौदेखि झापा क्षेत्र नं. ३ लाई आफ्नो क्षेत्र भनेर दुई ह्याभी वेटका नेता हौं भन्नेहरु आदिवासी जनजातिलाई मत फकाउन अनेकौं शब्दहरु छरिरहेका छन् । जब–जब चुनाव आउँछ, त्यस्ता आस लाग्दा शब्दहरु र लोभीपापी विचारहरु छरेर हिंड्नेहरुको दिन अब गएको छ । जहाँ जहाँ म पुग्छु, त्यहाँ ठूला दलका नेताहरुलाई धिकारेको देख्छु, सुन्छु । त्यसैले यसपालि क्षेत्र नं. ३ का जनताले जनमुक्तिलाई माया गर्ने प्रशस्तै आधार भएको हुँदा म निश्चित रुपमा राम्रै मतले अगाडि आउनेछु ।

आधारहरु के–के हुन् त ?

हामी आसा देखाउँदैनौं, कार्यान्वयन गरेर देखाउँछौं । मुद्दालाई अगाडि बढाएर क्षेत्र नं. ३ लाई सुन्दर क्षेत्रको रुपमा विकास गर्दै यस क्षेत्रका हरेक निकायमा समानुपातिक सिद्धान्तको आधारमा विकास गर्दै जाने हाम्रो राष्ट्रिय रणनीति छ । दोस्रो नेपाली कांग्रेसका नेता र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष ती दुईको उत्तरी ध्रुब र दक्षिणी ध्रुबको सिद्धान्त बोकेको कारण यस क्षेत्र विकास नभइरहेको, वर्षौदेखि बाटो, पुल, कुलेसो र शैक्षिक अवस्था कमजोर भएकोले तिनलाई सम्बोधन गर्न आफू तयार भएको हुँदा जनताले आश्वासन दिएको कारण भारी मत प्राप्त हुन्छ भन्ने आशा लिएको छु ।

तीन नं. क्षेत्र पर्यटकीय क्षेत्र पनि हो नि ?

इतिहासको एउटा अंश बोकेको ठाउँ किच्चक बध, धार्मिक मन्दिर र किरात धर्मावलम्बीहरुको छुट्टै पवित्र स्थल अनि मुस्लिम समुदाय र कोच समुदायको पनि छुट्टै देवस्थल भएको ठाउँ झापा क्षेत्र नं. ३ भएको हुँदा यसको प्रवद्र्धन संरक्षण अति नै आवश्यक रहेको हुँदा यसलाई सम्बोधन नगरी अगाडि बढे यस क्षेत्रको विकास हुनै सक्दैन । महाभारतकालिन इतिहासलाई छोएर बनेको पवित्रस्थल किच्चक बध मन्दिर यही भएको हुँदा यसलाई पर्यटकीय क्षेत्रमा रुपान्तरण गरेर अगाडि बढे ऐतिहासिक नाम रहनेमा टेवा पुग्ने थियो । यसअघि निर्वाचित जनप्रतिनिधिहरुले यी सबैलाई बेवास्था गरेको कारण यस्ता देवस्थलहरु माथि आउने सकेन । यहाँबाट जो–जो निर्वाचित भए, उनीहरुले आदिवासी जनजाति र कोच विपरित विचार राख्ने भएको हुँदा विकास हुन नसकेको मेरो ठहर छ ।

जनमुक्तिको विचारले क्षेत्र नं. ३ समृद्ध हुन सक्छ ?

हामी स्थापित भएदेखि भन्दै आएका छौं, हरेक विकासको एकमात्र मन्त्र जातीय जनसंख्याको समानुपातिक प्रतिनिधित्व हो । विकासका हरेक गतिविधिमा समानुपातिक प्रतिनिधित्वबाट समिति निर्माण गरी अगाडि बढेको खण्डमा त्यहाँ भ्रष्टाचार भन्ने शब्द हराएर जान्छ । विकास कार्यहरु द्रुत रुपले अगाडि बढ्न सक्छ । झापा क्षेत्र नं. ३ यस्तो क्षेत्र हो, जहाँ भौगोलिकताले असहज बनाएको र व्यापार व्यवसायलाई सरलता प्रदान गर्न नसकिएको, सिचाईंको अभावले पीडा दिएको हुँदा किसानलाई चाहिने आवश्यक सामग्री, उत्पादित सामग्रीलाई बजारीकरण गर्न सके समृद्धिको बाटोमा जाने देखिन्छ ।

तपाई युवा शक्तिलाई कसरी डोहोर्याउन सक्नुहुन्छ ?

युवा शक्ति देशको मेरुदण्ड हो । राज्यबाट विकास निर्माणमा आएका बजेट युवामार्फत परिचालन गर्न सके छिट्टो र परिपक्क काम हुनेमा दुइमत हुँदैन । त्यसैले दक्ष युवाहरुलाई रोजगारको हरेक गतिविधिहरु जस्तै प्राविधिक शिक्षा, बहुआयामिक गतिविधि र कृषि क्रान्तिका बाटोतर्फ डोहोर्याउन सके युवाहरु स्वदेशमै गरिखान सक्ने हुन्छन् ।

धर्म निरपेक्षतामा आम नेपाली जनता रमाउन सक्छन् ?

अवश्य रमाउने छन् । निरपेक्ष भनेको सिमान्तकृत भाषा होइन, समानता हो । त्यसैले यस देशमा मान्दै आएका आम नेपालीहरुले धर्म निरपेक्षतामा जनमत दिएका हुन् । ०६२÷६३ को जनआन्दोलनको एउटा म्याडेड धर्म निरपेक्षता हो । धर्म निरपेक्ष भएका राष्ट्रहरु मेलमिलाप, आत्मियता भाईचारा भएर रमाएको हामी पाउँछौं । को हिन्दू, को मुस्लिम, को किरात, को बुद्धिष्ट, को इसाइ सबैको समान धर्म मान्न पाउने आधार भएको हुँदा धर्म निरपेक्षतामा आम नेपाली जनता खुशी रहने छन् ।

के हिन्दू राज्य र राज संस्था फर्कन सक्छ ?

पञ्चायती निरङ्कुशतालाई ठूलै जत्था, दलबल र ठूला पार्टी हुँ भन्ने एमाले, कांग्रेस लगायत आम जनताले कोमामा पुर्याएको सर्वविधितै छ । कोमामा पुगेको जन्तु फर्केर आउनु असम्भव हो । अनि राजासहितको हिन्दू राज्यलाई एमाले, कांग्रेस र माओवादी लगायत दलले आर्यघाटमा पुर्याई दाहसंस्कार गरिसकेको हुँदा फर्केर आउने कुरै भएन । राजतन्त्र प्रणाली आफैमा निरङ्कुश प्रणाली हो । जुन प्रणाीमा जननिर्वाचति प्रणाली अटाउँदैन त्यो परिवारबाटै अवतारको रुपमा आउने प्रणाली हो । त्यसैले संघीय लोकतान्त्रिक विचारको उदय भइसक्यो । त्यसैले हिन्दू राज्य र राज संस्था फर्किने कुरा कोरा कल्पना बाहेक अरु केही हुन सक्दैन ।

पहिचानको मुद्दामा तपाईको धारणा ?

राष्ट्रिय जनमुक्ति पार्टी पहिचानको आवाज उठाउने पहिलो दल हो । म त्यो दलको सिपाई हुँ, त्यसैले जनमुक्ति पार्टी सत्तामा पुग्न सफल भए पहिचानमुखी राज्य निर्माणमा प्रदेश नामाकरण गरिने छ । हाम्रो पार्टीले १२ वटा प्रदेशको नाम लिएर स्थापित भएको दल भएको हुँदा तपाईहरु ढुक्क हुनुहोस् । पहिचानको मुद्दालाई सधैव शीरमा राखेर अगाडि बढ्ने छ ।

के समानुपातिक प्रतिनिधित्व नै बहुजातिहरुको विकासको बाटो हो ?

अवश्य ! नेपालको सुरक्षामा सेना, प्रहरी र प्रशासनिक कामहरुमा समानुपातिक सिद्धान्तको आधारमा अगाडि बढेको खण्डमा चुस्तदुरुस्त राज्य सञ्चालन हुने थियो । एक जातिको मात्र बाहुल्यता भएको कारण धेरै जातिहरु असन्तुष्ट छन् । प्रशासनिक क्षेत्र भनौं, राजनीतिक नेतृत्वमा भनौं वा विकासका हरेक काममा भनौं, एक जातिकोमात्र बाहुल्यता र नेतृत्व भएको कारण मुलुक विकासको गतिमा नबढेको र भ्रष्टाचारको दलदलमा फसेको हुँदा हामी समानुपातिक प्रतिनिधित्वसँगै बहुजातिको विकासको बाटोमा छौं ।

तपाईलाई भोट दिनै पर्ने आधारहरु के–के हुन् ?

१ नेपाललाई भू–राजनीतिको थलो हुनबाट मुक्त गर्ने, २ भ्रष्टाचारीहरुले कमाएको अकुत सम्पत्ति राज्यको ढिकुटीमा जम्मा गर्दै भ्रष्टाचारीहरुलाई आजीवन जेलको सजाय गर्ने, ३ हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक सहभागिताको विकास गर्दै लाने जस्ता थुप्रै आधारहरु छन् । त्यसकारण क्षेत्र नं. ३ का जनताले जनमुक्तिको चुनाव चिन्ह घरलाई सम्झेर अगाडि बढाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा केही छ ?

सर्वप्रथम झापा क्षेत्र नं. ३ का जनताले मलाई सदनमा पुर्याउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । थुप्रै समस्याहरु छन्, मेची कटानको समस्या, बोर्डरका समस्या, बाटो मात्र होइन औषधी अभावसँगै अस्पतालको समस्या भएको हुँदा यसलाई सम्बोधन म बाट हुने नै छ । पटक–पटक जितेर जानेहरुले यस क्षेत्रका जनताको मतको दुरुपयोग गरेका छन् । म त्यसो हुन दिन्न । त्यसैले अरु बेलाका उम्मेद्वारभन्दा फरक विचार लिएर यहाँहरु समक्ष आएको हुनाले चुनाव चिन्ह घरमा मतदात गर्नुहुनेछ भन्ने आसा लिएको छु । मेरो विचारलाई जनतामाझ पुर्याइदिनुहुने यलम्वर टाइम्सलाई धन्यवाद दिन चाहन्छु ।