‘यो पटक पनि जेसीजको राष्ट्रिय पदमा उम्मेद्वारी रहनेछ’ « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

‘यो पटक पनि जेसीजको राष्ट्रिय पदमा उम्मेद्वारी रहनेछ’


यलम्वर टाइम्स
११ आश्विन २०७६, शनिबार १३:०३

अजय देव युवा व्यवसायी हुन् । उनी अर्जुनधारा जेसीज वर्ष २०१८ को अध्यक्ष भएर रचनात्मक काम गरिसकेका छन् । उनको पालमा जेसीज सप्ताहदेखि लिएर लिडरशीप निर्माण गर्न विद्यालय स्तरमा कार्यक्रम गरिसकेका छौं । हाक्की स्वाभावका, कमलो मन भएका अजय यो पटक पनि जेसीजको राष्ट्रिय पदमा उम्मेद्वारी दिने तर्खरमा छन् । यसै विषयलाई लिएर गरिएको कुराकानी ः

जेसीज के हो ?

जेसीजभित्र बसेर अध्ययन गर्ने हो भने यो एउटा नेतृत्व र व्यक्तित्व विकास गर्ने राम्रो संगठन हो । आफू पूर्व अध्यक्ष भईरहँदा तमाम् शिक्षित युवाहरु यसभित्र रहेर व्यक्ति निर्माण गर्न सक्छन् र चासो देखाएर बस्नु पनि पर्छ । त्यसैले बुझ्नेहरुका लागि अबल्ल स्थानमा पुग्ने सुमार्ग हो ।

धनीहरुको संस्था भन्छन् नि ?

काम गर्न आँट भए जेसीज धनी–गरिब सबै युवाहरुको संस्था हो । जेसीजमा धनी युवाहरुमात्र केन्द्रीय अध्यक्ष भएका छैनन् । गरिबका आँटिला छोराहरु पनि नेतृत्वमा पुगेर व्यक्तित्व निर्माण गरिसकेका छन् । उदाहरणका लागि आदरणीय दाजु पूर्व केन्द्रीय अध्यक्ष भोलेश्वर दुलालको जीवनी अध्ययन गरे पुग्छ ।

जेसीजलाई खर्चालु संस्थाको रुपमा हेरिन्छ नि ?

समाजमा रहेर हरेक कुराको म्यानेजमेन्ट गर्न सकियो भने ऋणी हुन पर्दैन । समाजले जन्माएको हो मानिस । समाजले माया र सम्मान दिन सक्छ । तर, तपाई हाम्रो दिमाग सकारात्मक हुन जरुरी छ ।

यसपाली पनि राष्ट्रिय उम्मेद्वारी छ ?

सबैको माया र स्नेहता प्राप्त भए उम्मेद्वारी दिनेछु । गत वर्ष थोरै मतले मन खिन्न पार्नु पर्यो । यो पटक भने सबैले सम्मान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । जेसीज आस्था र विश्वासले बाँचेको युवाहरुको ढुकढुकी हो । तमाम् युवा मित्रहरुको माझमा परिचित भइसकेको छु । जेसीजलाई युवाहरुको मन–मनमा पुर्याउन सक्नेछु । तसर्थ अग्रजहरुको माया जरुरी देखेको छु ।

अन्त्यमा केही छ ?

जेसीजलाई आत्मसाथ गरौं । त्यहाँबाट भविष्य खोज्य पनि सकिन्छ । म अनुरोध गर्छु । बाहिरबाट आलोचना गरेर बस्नु भनेको जिन्दगीमा हार खानु जस्तै हो । त्यसैले ऊर्जा उत्पादन गर्न र युवा–युवाबिचको हरेक कुराको भावना निर्माण गर्न जेसीजमा जुटौं ।