नगर शिक्षा शाखाले बालअधिकारको हनन् गर्योः प्याव्सन अध्यक्ष सिटौला « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

नगर शिक्षा शाखाले बालअधिकारको हनन् गर्योः प्याव्सन अध्यक्ष सिटौला


यलम्वर टाइम्स
२२ कार्तिक २०८०, बुधबार ०८:२७

रुद्रप्रसाद सिटौला प्याव्सन अर्जुनधाराका अध्यक्ष हुन् । संघीयतापछि पालिका क्षेत्रमा प्याव्सन गठन भएपछि दुई कार्यकाल सफल अध्यक्षको रुपमा उभिएका छन् । निजी विद्यालय सञ्चालनमा लामो अनुभव बटुलिसकेका सिटौला श्रीमती कमलादेवी उप्रेती र एक छोरा, एक छोरीका साथ अर्जुनधारा–५ स्थायी रुपमा बस्दै आएका छन् । निजी क्षेत्रमै रहेर शिक्षा विषयमा जीवन व्यत्तित गरिसकेका अनुभवि अध्यक्ष सिटौलासँग नगरको शिक्षा विषयलाई लिएर गरिएको केही प्रश्नहरुः

निजी विद्यालयको सञ्चालन अवस्था कस्तो छ ?

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) अर्जुनधारामा आवद्ध ३० वटा विद्यालयहरु सञ्चालनमा छन् । त्यस्तै ४ वटा मन्टेश्वरी सञ्चालित छन् । त्यसमध्ये प्लस टु पनि सञ्चालन गरिएको छ । खुदुनाबारीको न्यूहोप, अर्जुनधारा–७ को रुपरत्न र अर्जुनधारा–५ को ब्राइटर विद्यालयमा प्लस टुका विषयहरु पठनपाठन हुँदै आएका छन् । अर्जुनधारा क्षेत्रमा मात्रै करिब नौ हजारभन्दा बढी विद्यार्थीहरु निजी विद्यालयमा अध्ययन गरिरहेका छन् भने ६ सयभन्दा बढी शिक्षक, कर्मचारीहरु रहेका छन् । यातायातका साधन भने ७० वटा हाम्रो रेकर्डमा रहेको छ ।

विद्यालयको मासिक शुल्क कसरी निर्धारण गर्नुहुन्छ ?

नेपाल सरकारको शिक्षा नियम अनुसार प्रत्येक विद्यालयमा अभिभावक संघ गठन गरिएको छ । अभिभावकले विद्यालयको अवस्थालाई निर्धारण गरेर शुल्क तोकिदिएपछि त्यही निर्णय शिक्षा शाखामा पुर्याउँछौं । त्यसैलाई सदर गरेपछि विद्यालयले शुल्क निर्धारण गर्ने हो । निजी विद्यालय पारदर्शी छ र दूरदर्शी निर्णय गर्छ ।

प्याव्सन अर्जुनधारा सञ्चालनमा विद्यालयको सहयोग कस्तो रहेको छ ?

झापाको अन्य पालिकाभन्दा प्याव्सन अर्जुनधारा छुट्टै र भिन्नै तरिकाबाट सञ्चालनमा आएको छ । जे समस्या आए पनि प्याव्सनले समाधानको बाटो खोलिदिएको छ । सम्बन्ध राम्रो छ । त्यसैले राज्यबाट सञ्चालित सरकारी विद्यालयभन्दा हामी अब्बल छौं ।

अब्बल हुनुको कारण ?

मैले अघि नै भने प्याव्सन र विद्यालय बीचको सम्बन्ध राम्रो छ । सम्बन्ध राम्रो भयो भने अरु विषयमा सजिलै लड्न भिड्न सक्छौं । तर सरकारी विद्यालयमा त्यस्तो रहेनछ । सरकारले निर्धारण गरेको बाल दिवस जस्तो कार्यक्रमलाई अर्जुनधाराले बेवस्था गरेको कारण विद्यालयको बालअधिकार अर्जुनधारा शिक्षा शाखाले हनन् गरिदिएको छ । तपाई आफै भन्नुहोस्, एउटा सरकारी व्यक्तिले बालअधिकार हनन् गर्छ भने त्यस्ता व्यक्तिबाट सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीको उन्नति कसरी हुन सक्छ ?

बालअधिकार कसरी हनन् भयो ?

नगर शिक्षा शाखाले बालदिवस भव्य मनाउनु पर्छ भनेर क्यालेन्डर समेत प्रकाशित गरेको छ । बजेट निकासा गरेको छ । बालदिवसमा बालबालिकाका विषयमा कुराकानी, अधिकार र क्षमताको प्रदर्शन गरिन्छ । तर, अर्जुनधारा नगर शिक्षा शाखाले नगरका सरकारी विद्यालयमा बालदिवस मनाउन सकेन । हामी प्याव्सन नगरले नगरपालिका परिषरमा नगरका प्रशासकीय प्रमुखलाई प्रमुख अतिथि मानेर कार्यक्रम सञ्चालन गर्यौं । यस हिसाबमा पनि बालअधिकारको हनन् भएको छ ।

सरकारी र निजी बीचको फरक ?

मैले अघि नै भने, सरकारी विद्यालयका शिक्षक, शिक्षिका उत्कृष्ट हुनुहन्छ तर, विद्यालय सञ्चालन गर्ने विधीमा सरकारी नीति कमजोर भएकै कारण निजी विद्यालय उत्कृष्ट छ । हामी सांस्कृतिक शिक्षादेखि लिएर व्यवहारिक ज्ञानसम्ममा अभ्यास गराउँछौं । सरकारी विद्यालयले पढाउने र केहीले सांगीतिक कार्यक्रमसम्म गर्ने भएको हुँदा नतिजाबाटै थाहा पाइन्छ ।

शिक्षा शाखाले नगरका विद्यालयको उन्नतिमा ध्यान दिएको छैन त ?

मेरो ठाडो चुनौति छ, यही तरिकाबाट शिक्षा शाखाले आफ्नो व्यवहार परिवर्तन गरेन भने नगर शिक्षाको हालत कमजोर भएर जानेछ । शिक्षा शाखाले निजी तथा सरकारी विद्यालयको नतिजा सार्वजनिक गर्दै समान पुरस्कार प्रदान गरी विद्यार्थीलाई हौसला प्रदान गर्नुपर्ने हो । त्यो गर्न सकिरहेको छैन । २०७५ सालमा हरिकुमार राना नगर प्रमुख हुँदा नगर क्षेत्रका प्रथम, द्वतीय, तृतीय हुनेलाई सम्मान गथ्र्यो । अहिले त्यो हुन सकेको छैन । २०७९ मा होलबेसिल विद्यालयका छात्राले एसईईमा उत्कृष्ट नतिजा ल्याएको थियो । त्यो पनि प्रदान गर्न सकेन भने कसरी विद्यार्थीहरुको उन्नति हुन सक्छ ?

नेपालमा कति निजी विद्यालय सञ्चालन होलान् ?

१० हजारभन्दा बढी निजी विद्यालय सञ्चालनमा छन् भने २० लाखभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्छन् । निजी क्षेत्रले यति धेरै शिक्षामा सहयोग गर्दा पनि सरकार निजी विद्यालयलाई हेर्ने दृष्टिकोण फरक राख्छ । निजी विद्यालयलाई सहयोग गर्ने कुनै नीति न नगरले ल्याउँछ । न प्रदेश न संघ । त्यसो हुँदा निजी विद्यालयमा मारमा परेको छ ।

सरकारी विद्यालय चाहिँ राम्ररी चलेको होला त ?

चलेकै छ । अनावश्यक खर्च गरेको हामी देख्छौ । २ जना विद्यार्थी बराबर एक शिक्षक पालिएको छ । अनुगमन छ्रैन । प्रतिस्पर्धा गर्न सक्दैन । शिक्षकहरु अब्बल भएर मात्र हुँदैन रहेछ । सञ्चालन गर्ने विधि र राज्यबाट अनुगमन अध्ययन नहुँदा सरकारी विद्यालय खस्किदै गएको हाम्रो ठम्याई छ । म भन्छु राज्यको सम्पत्ति २ जना विद्यार्थी पढाउने शिक्षकलाई जति दिएको त्यसको आधा रकम हामीलाई भौचर गरिदियोस् हामी विद्यार्थीलाई अब्बल बनाउने छौं ।

तपाईहरुको पनि आन्दोलन छ ?

थियो । आवश्यक परे हुनेछ । सरकारी शिक्षक कर्मचारीको आन्दोलन चलिरहेको छ । त्यसमा हाम्रो नैतिक समर्थन छ ।

अन्त्यमा केही भन्नु छ ?

हामी निजी विद्यालय सञ्चालकहरु पनि अभिभावकको मन जित्न सक्नुपर्छ गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुको चौतर्फी विकासमा नयाँ शिक्षा प्रदान गर्नुपर्छ भन्नेमा छौं । त्यसतर्फ प्याव्सन क्रियाशिल छ । आउँदै गरेको महान पर्वको शुभकामनाका साथै मितव्ययीता अपनाएर पर्वलाई सम्पन्न गरौं । यही कुरा नगरको गहनको रुपमा रहेको यलम्वर टाइम्स अखबारमार्फत सबै नेपालीमा जानकारी गराउँछु ।