लिम्बूवान बन्दको कारण पूर्वका जनजीवन प्रभावित « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

लिम्बूवान बन्दको कारण पूर्वका जनजीवन प्रभावित


यलम्वर टाइम्स
२२ श्रावण २०७४, आईतवार ०८:५२

 झापा / राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण झापा सहित अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

परिषदको बन्दका कारण पूर्वका झापा, ईलाम पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् । प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् ।

साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज ९ जिल्ला बन्द आह्वान गरेको हो । बन्दलाई लिम्बुवान क्रान्तिकारी पार्टीले पनि ऐक्यवद्धता जनाएको छ । १८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले लिम्बूवानको लालमोहर सहित आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

२०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो । बन्दका कारण झापाको कांकरभिट्टा, धुलाबारी, बिर्तामोड, दमक, चन्द्रगढी लगायतका शहरहरु बन्द रहेका छन् भने यातायात पनि सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बन्दकाकारण शैक्षिक संस्थाहरु समेत बन्द भएको जनाइएको छ । बन्दकर्ता सडकमा नदेखिए पनि बन्दको प्रभाव भने परेको प्रहरीले जनाएको छ ।