‘पिटाई खाँदै, समय बिताउँदै हुनुहुन्छ’ « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

‘पिटाई खाँदै, समय बिताउँदै हुनुहुन्छ’


यलम्वर टाइम्स
१० चैत्र २०७४, शनिबार ०२:०१

अर्जुनधारा । अस्तीका दिन फोनबाट भन्नु भयो –‘अब घर फर्किने आशा मर्दै गएको छ । तिमीहरु आँटले गरि खानु !’ साउदी अरबको जेलमा जीवन बिताई रहेका प्रेमबहादुर राईले भनेको कुरा उनका श्रीमती सरिता राईले गहभरी आँशु पार्दै सुनाईन् ।

विहीबार खुदुनाबारीका सामाजिक योद्धाहरु बीच इलाम दानाबारीका प्रेमबहादुर राईलाई कसरी नेपाल फर्काउन सकिन्छ भन्ने एक कार्यक्रममा उनका श्रीमती सरिताले भावविहल हुँदै अनाहकमा जेल जीवन बिताई रहेका श्रीमान पहिलाकाभन्दा अहिले कमजोर हुँदै गएको बताउँदै –‘अब भेट हुन्छ कि हुन्न दैवले पूरा गरिदिए छोराछोरी अनुहार हेर्न फर्किन्थ्ये होला ।’ सरिताले यसो भनिरहँदा उपस्थित सबैले प्रेमबहादुरलाई फर्काउन जुटौं भनी प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

सोही दिन प्रेमबहादुर राईको सञ्चारमाध्यममा आएका डकुमेन्ट्री देखाउँदा उपस्थित सबै भावविहल हुन पुगेका थिए भने प्रेम राई बचाऊ अभियान समेत गठन गरिएको थियो ।

अभियानका संयोजक सुमन्ता राई रहेका छन् भने सचिवालय सदस्यहरुमा होमनाथ दुलाल, सीताराम भट्टराई, कैलाश श्रेष्ठ, प्रेम उपरकोटी, अमर परियार, चित्रा फागो, लक्ष्मी राई, कञ्चन काफ्ले, चन्द्रा तामाङ, बन्दना श्रेष्ठ, जानुका राई, राजु श्रेष्ठ, राजा साँवा, राजेन्द्र बुढाथोकी, प्रेम मगर, याम मगर, तिलक योञ्जन, लोकप्रिय खनाल, खगेन्द्र लिङ्देन, रमेश समदर्शी, दिपीन राई लगायत रहेका थिए ।

माई नगरपालिका–४ शुक्रबारे निवासी प्रेमबहादुर राई केही महिना अघि वैदेशिक रोजगारको लागि ड्राइभिङ पेसामा साउदी अरबमा पुगेका थिए । उनले चलाएको गाडीबाट कम्पनीको ९५ लाख मूल्य बराबरको सामान हराएपछि २ महिना जेल र ५० कोर्रा सजाय समेत भोगिसकेका छन् ।

त्यसपछि उनलाई अहिले मनाग जेलमा राखिएको छ । राई उक्त जेलमा नरकीय जीवन बिताउन बाध्य छन् । राईले परिवारमार्फत भन्दै आएका छन् –‘सामान मैले चोरेको छैन, म निर्दोष छु ।’

प्रेम राई बचाऊ अभियानमा सञ्चारकर्मी चन्द्रबहादुर कुलुङ राईको संयोजकत्वमा एक कार्यसमिति समेत गठन गरेर ५० लाख रकम उठाइएको छ । अब ४० लाख संकलन भएर उनी फर्कने पक्का भएको भेलामा पूर्व माननीय प्रेमबहादुर गिरीले जानकारी दिए ।

सोही दिन प्रेम राई बचाऊ अभियानमा ५२ हजार ७९० रुपैयाँ संकलन भएको बचाऊ समितिका खगेन्द्र लिङ्देनले जानकारी दिए ।

राईको ७ वर्षीय छोरी र १८ महिने छोरा छन् ।