उद्यमशिल महिला संघले भन्यो –‘महिलालाई रोजगारमुखि बनाउँछौं’ « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

उद्यमशिल महिला संघले भन्यो –‘महिलालाई रोजगारमुखि बनाउँछौं’


यलम्वर टाइम्स
१९ जेष्ठ २०७५, शनिबार ०३:३०

अर्जुनधारा । मोती तथा क्रिस्टलका माला बनाउने तालिम लिएसँगै माला निर्माण सम्बन्धि छोटो अनुभव बटुलेकी सरु बुढाथोकी थोरै सहयोग कतैबाट प्राप्त भए शिक्षित होस् या निराक्षर महिला, जोसुकैलाई रोजगारमुखि बनाउन सकिने हिम्मत आएको बताउँछिन् ।

नेपाल उद्यमशील महिला संघ अर्जुनधाराले ३ महिना अघि मोतीका गहना बनाउने तालिम प्रदान गरेपछि अध्यक्ष बुढाथोकीलाई यस्तो हिम्मत आएको हो ।

सुरु–सुरुमा अरुले दिएको तालिम जस्तै हो भनेर बेवास्ता गर्दै हिड्ने महिलाहरु १० दिन मोतीका गहना बनाउने तालिममा सहभागि भएपछि तालिम जीवन उपयोगी भएको बताएका छन् ।

उनीहरु अहिले घरैमा मोतीका विभिन्न प्रकारका आकर्षक गहना बनाएर छरछिमेकीलाई मात्र होइन, बजारका पसलेहरुलाई सहुलियत मूल्यमा बेच्दै आत्मानिर्भर बन्न सफल भएको बुढाथोकीले जनाइन् ।

‘तालिम त धेरै लिएँ तर प्रत्यक्ष उपयोगी हुने खालको लिन पाएँको थिइन । उद्यमशील महिला संघले दिएको तालिम मेरो लागि उपयोगी बन्न पुग्यो’ –आयुषा राई श्रेष्ठले बताइन् ।

राई यस अघि काम नपाएर भौतारी रहेकी थिइन् । दिउँसोभरी घरैमा फोकटिया गफ चुट्दै दिन काट्दै बस्नुको विकल्प थिएन उनीसँग । ‘उद्यमशिल महिला संघले दिएको तालिम जीवनको लागि उपयोगी मात्र होइन परिवारका लागि आर्थिक मेरुदण्ड नै बन्यो’ –राई थप्छिन् ।

यो बेला आयुषा उद्यमशिल संघको कार्यालयमा दिउँसोभरी माला बुन्ने काममा व्यस्त हुन्छिन् । आयुषा जस्तै तुलसा गौतम पनि यही पेशामा आबद्ध छिन् । संघले एउटा माला तयार पारेको ५० रुपैयाँ दिने भएपछि तुलसा पनि घरको काम सिध्याएर उद्यमशिलको कार्यालयमा माला बुन्न पुग्छिन् ।

२०७३ सालमा स्थापना भएको यस उद्यमशिलका संस्थापक अध्यक्ष देविका बुढाथोकी हुन् । उनी पछि हाल सरु बुढाथोकी लगायतको टिम संघमा सक्रिय छ ।

संघका वरिष्ठ उपाध्यक्ष देविमाया पोखरेल भन्छिन् –‘विभिन्न सभा–समारोहमा अतिथिहरुलाई उपयोग हुने व्याच र माला हामी तयार गरेर प्रदान गर्न सक्ने भएका छौं । बाहिरबाट ल्याइएका विषादीयुक्त फूलका माला गलामा पहिरिदा स्वास्थ्यमा असर पर्ने तर, हामीले तयार पारेका सामग्री शोभयमान मात्र होइन घरमा पनि सजाउन सक्ने बनाएका छौं ।’

संघका अर्का सदस्य गंगादेवी कटुवाल भन्छिन् –‘आत्मानिर्भर हुने बाटोहरु थुप्रै रहेछन्, तर सहयोग गर्ने बाटोहरु नपाइएको हुँदा संस्थालाई कसैले सहयोग गरेर लगे अन्य महिलाहरुलाई आत्मानिर्भर बनाउन सक्ने रहेछौं ।’

त्यसो त यस संस्थाले तयार पारेका मोतीका गहना, फ्रेबिक माला र व्याच झापाका विभिन्न क्षेत्रमा मात्र नभई पोखरा, इलाम जस्ता ठाउँबाट माग भई आएको बताएका छन् । धेरै महिलाहरु बरोजगार बसेका बेला यस्ता खाल्का तालिम प्रदान गरिए महिलाहरु आत्मानिर्भर हुने अध्यक्ष बुढाथोकीको कथन छ ।

मोतीका गहना चलचित्रका नायिकादेखि ठूलठूला विवाहमा नवदुलहीले समेत प्रयोग गरेको हुँदा मोतीका गहना तालिम वडैपिच्छे प्रदान गर्न सके नगर समृद्ध बनाउनमा एउटा कोशेढुंगा साबित हुने संघका सदस्य तथा सञ्चारकर्मी लीला राईको भनाइ छ ।

उद्यमशिल महिलाले हालसम्म ३३ भन्दा बढी महिलालाई तालिम प्रदान गरेको छ । नव आगन्तुक महिलाहरुलाई तालिम दिने लक्ष्य रहेको सदस्य सुशिला काफ्ले कटुवालले बताइन् ।