नेपालमा फिल्म सिटी स्थापना हुने « Yalambar Times
१६ बैशाख २०८१, आईतवार

नेपालमा फिल्म सिटी स्थापना हुने


यलम्वर टाइम्स
६ श्रावण २०७५, आईतवार ०८:०६

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फिल्म सिटी स्थापना गर्न तत्पर भारतीय कलाकार र लगानीकर्तालाई धन्यवाद दिएका छन् ।

शनिबार साँझ आफूलाई भेट्न आएका एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जयाप्रदालाई प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरेका हुन् ।

भेटअघि भारतीय समूह फिल्म सिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएको थियो । अध्ययनपछि जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफुलाई आकर्षित गरेको बताए । उनले ती ठाउँका प्रशंसा गर्दै नेपालमा फिल्म सिटीको स्थापना गर्नका लागि प्रारम्भिक कार्य सुरु भइसकेको बताए ।

चन्द्राले आउँदो नोभेम्वर–डिसेम्वरमा जीसिने अवार्ड समारोहको आयोजना काठमाण्डौमै गर्ने र हरेक वर्ष नेपाली फिल्मका लागि समेत एक अवार्डको व्यवस्था गरिने घोषणा समेत गरे ।

भेटघाटका अवसरमा प्रधानमन्त्रीले जीसिने अर्वाड समारोहकै अघिपछिको मिति पारेर काठमाण्डौमा हिमालयन कनक्लेभको समेत आयोजना गरिने घोषणा गरे ।

नेपाली कलाकारहरुसमेतको उपस्थितिमा भएको भेटघाटका अवसरमा प्रधानमन्त्रीले जयाप्रदाले नेपाल–भारत सम्बन्धका लागि साँस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको बताए ।