भुटानको पारोलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

भुटानको पारोलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा


यलम्वर टाइम्स
१७ बैशाख २०७६, मंगलवार ०६:५४

काँकडभिटा । मेची नेत्रालय मेचीनगर गोल्डकपको सोमबार भएको खेलमा पाहुना टोली भुटानको पारो एफसीलाई ३–० को अन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा पुलिसले संकटा क्लबको सामना गर्ने छ ।

पहिलो हाफको अन्त्यतिर कप्तान भरत शाहको गोल मार्फत पुलिसले अग्रता लिएको थियो ।

तेज तामाङको फ्रि किकलाई मानबहादुर परियारले मिलाई दिएको पासलाई कन्ट्रोल गर्दै शाहले गरेको प्रहारले जाली चुमेको थियो ।

५६ औं मिनेटमा सुमन लामाको पासमा रबी पासवानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेट बित्न नपाउँदै पासवानले टीमको लागि अर्काे गोल गरेपछि पुलिसको जित सुनिश्चित भएको थियो ।

१८ औं मिनेटमा भरत शाहको प्रहार भुटानका गोलरक्ष शेरब ग्याल्सेनले बचाए । ३० औं मिनेटमा निरकुमार राईको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ३छ औ मिनेटमा आशिष गुरुङको हेडर बारमा लागेर फर्कियो ।

३३ औ मिनेटमा भुटानका करण राईको प्रहार पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए । ४६ औ मिनेटमा दिवस सुब्बाको कडा प्रहार गोलरक्षक चौधरीले पञ्च गरेर फर्काए । ४९ औ मिनेटमा भुटानका सेड्रिक अबाले गोल गर्ने अवसर खेर फाले ।

खेलको म्यान अफ द म्याच बिजेता टीम नेपाल पुलिस क्लबका रवी पासवान भए । उनले नगद ११ हजार रुपैंया पुरस्कार पाए ।

मंगलबारको खेल रुस्लान थ्रि स्टार क्लब काठमाण्डौ र इलामको माइ भ्याली क्लबबीच हुने आयोजक समितिका उपाध्यक्ष नवराज ओलीले जानकारी दिए ।

बैशाख १२ गतेदेखि शरु भएको प्रतियोगितामा नेपालका ८, क्यामरुनको दाउफिन्स एफसी र भुटानको पारो एफसीको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले १० लाख १ हजार, उपबिजेताले ५ लाख १ हजार रुपैया पुरस्कार पाउने छ ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले पहिलो पटकको भेटका कारण शुरुमा स्कोर हुन नसकेको बताए । उनले खेलाडीको तालमेलका कारण जित निकाल्न सकिएको बताए ।

भुटानका प्रशिक्षक पुष्पलालले कृतिम मैदानमा खेल्ने खेलाडीलाई प्रकृतिक मैदानका कारण खुलेर खेल्न नपाएको टिप्पणी गरे ।

उनले नियमित खेल्ने ६ जना खेलाडीको अनुपस्थितीमा सोचेअनुकुलको नतिजा निकाल्न नसकिएको बताए ।