पत्रकार भट्टराईको अश्वत्थामा विमोचन « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

पत्रकार भट्टराईको अश्वत्थामा विमोचन


यलम्वर टाइम्स
८ असार २०७६, आईतवार १२:३५

बिर्तामोड । विगत लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा समेत सक्रिय रहेका झापाली पत्रकार कुमार भट्टराईको कृति ‘अश्वत्थामा’ विमोचन गरिएको छ ।

शनिवार बिर्तामोड स्थित जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित समारोहमा साहित्यकार गणेश रसिकसँगै कञ्चनजङ्गा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, मिश्रा विययन्तीले संयुक्त रुपमा अश्वत्थामाको विमोचन गरेका थिए ।

साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको अश्वत्थामा पत्रकार तथा साहित्यकार भट्टराईको छैठौं कृति हो ।

भट्टराईले यस अघि ‘नसमेटिएका पाइलाहरु’ र ‘बकाइनो’ नामक दुई कथा संग्रह, ‘धनबहादुर र म’ नामको उपन्यास, ‘कृष्ण’ नामको सूत्रकाव्य र ‘मेरो’ नामको कविता संग्रह पाठक माझ ल्याइसकेका छन् ।

ती कृतिहरु मध्ये ‘कृष्ण’ सूत्रकाव्य पछिल्लो पटकको चर्चित पुस्तक हो । विमोचन पछि कृतिमाथि टिप्पणी गर्दै पत्रकार बसन्त बस्नेतले शक्तिको नजिक पुगेर बोल्नेले सत्य बोल्दैन भन्ने कुरालाई कृतिले उजागर गरेको उल्लेख गरे ।

महाभारतकालमा जातीयता, राष्ट्रियताको अवस्थालाई अहिलेको विषयसँग जोडेर कथावस्तु पस्केर लेखकले सबै पुस्तालाई उपन्यासभित्र समावेश गराएको बताए ।

कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले नयाँ गम्भीर विषयवस्तु लिएर उपस्थित भएको धारणा राखे ।

त्यस्तै समालोचक मिश्रा बैजयन्तीले महिलाको अस्मितामाथि नै प्रश्न उठिरहेको बेला महाभारतकालमा पनि महिलालाई वेश्याको रुपमा देखाउन खोजिएको अवस्थालाई चित्रण गरेको टिप्पणी गरे ।

कार्यक्रममा लेखक कुमार भट्टराईले मुलुकमा व्याप्त राजनीतिक अस्थिरता र मुलुकमा भएका विभिन्न किसिमका रहस्यमय घटनाहरुले प्रेरित भएर उपन्यास लेखिएको उल्लेख गदै महाभारतकालमा शक्तिशाली हुँदाहुँदै पनि अस्वस्थामा गुमनाम हुनु परेको अवस्थालाई अहिलेको कथावस्तुसँग जोडेर पुस्तक आएको बताए ।

मणि शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन लीला अनमोलले गरेकी थिइन् । कार्यक्रममा साहित्यकारहरु कृष्ण धराबासी, सरोज ओली लगायतको उपस्थिति रहेको थियो ।