जुगौंजुग जीवन्त रहोस् « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

जुगौंजुग जीवन्त रहोस्


यलम्वर टाइम्स
५ श्रावण २०७६, आईतवार ०९:५५

[कुमार भट्टराई]

बहुत कठिन काम हो सञ्चारगृह चलाउनु । पत्रकार मात्र हुन त त्यति गाह्रो छैन, तर पत्रकारिता गरेरै परिवार पाल्छु भन्नु चाहिं ठूलो आँट चाहिन्छ । पत्रकारिताको माध्यमबाट आर्थिक विकास गर्छु भन्नेहरु कि त भ्रष्ट हुन्छन्, कि त पत्रकारिताको आवरणभित्र अनैतिक धन्दा चलाउने । यस्तै धन्दावालहरुका कारण पछिल्लो पटक पत्रकारिताको साखमा केही ह्रास भने आएकै छ ।

सञ्चारगृहको आर्थिक व्यवस्थापन दह्रो भयो भने मात्र सञ्चार माध्यममार्फत नागरिकहरु सुसूचित हुन सक्छन् । ठूला शहर–बजारतिर सञ्चारगृहहरु दह्रो नभए पनि कमजोर हुँदैनन् । किनकि त्यहाँ सम्भावनाहरु धेरै हुन्छन् । सञ्चारगृह चल्ने स्रोत भनेको विज्ञापन नै हो । यसको अर्को आम्दानीका स्रोतहरु हुँदैनन् । केहीलाई सरकारले वर्गिकरणका आधारमा मासिक केही रकम पनि दिने गरेको छ । त्यो सुविधा सबैले पाउँछन् भन्ने छैन ।

विज्ञापनको अभावमा सञ्चारगृह राम्रोसँग उभिन नसक्दा कार्यरत् पत्रकार तथा कर्मचारीहरु समेत लाभान्वित हुन सक्दैनन् । त्यसैले ग्रामीण भेगमा बसेर सञ्चारगृह चलाउनु र पत्रकारित गर्नु जस्तो चुनौति अरु केही छैन ।

यस्तो अवस्थामा समेत दिपीन राईले विगत १२ बर्षदेखि यलम्वर टाइम्सलाई शनिश्चरे गाविस, शनिअर्जुन नगरपालिका हुँदै अर्जुनधारा नगरपालिकासम्मको यात्रामा गाउँबस्तीमा टिकाइ रहनु भएको छ । विज्ञापनको अभाव छ, त्यसैबाट थुप्रै परिवार पालिनुछ, तथापि आधापेट खाएर यस क्षेत्रका नागरिकलाई रचनात्मक सूचना सम्प्रेषणमा निरन्तरता दिनु भनेको हामी सबैलाई आभारी तुल्याउनु हो ।

एउटै भूमीको तीन वटा परिवर्तित संरचना देखिसकेको यलम्वर टाइम्स अर्जुनधारा नगरपालिकाबाट प्रकाशित हुने एक मात्र छापा पत्रिका हो । यसैले यो पत्रिका अर्जुनधाराबासीका लागि गर्व गर्ने विषय पनि हो । यसलाई दिपीन राईले नेतृत्व गरेको छन् । एक युग बिताइसकेको यलम्वर टाइम्स भने नगरका प्रत्येक नागरिकको आफ्नो पत्रिका हो ।

प्रायः जसो नकारात्मक समाचार नलेख्ने यलम्वर टाइम्स पठ्ने पाठकलाई रचनात्मक उर्जा प्राप्त हुन्छ । यसका समाचारभित्र सल्लाह हुन्छ, मार्गदर्शन हुन्छ र नगरभित्रका गतिविधिको दस्तावेज हुन्छ । संघीयताको मर्म राम्रोसँग बुझेको पत्रिकाले यो लामो यात्रामा थुप्रै हण्डर खाँदै आएको छ । पत्रिका सञ्चालनका क्रममा सम्पादक आफै ऋणमा चुर्लुम्म डुबेका छन् । परिवारहरुको दैनिकीमा थुप्रै सम्झौताहरु गरेका छन् । तर सूचना प्रदानमा कहिल्यै चुकेका छैनन् ।

अब त यलम्बर टाइम्स पनि यस बर्षदेखि ‘टिन एज’ (किशोरावस्था) मा प्रवेश गरेको छ । यतिन्जेल बालक थियो, अब किशोर छ । मान्छेको उमेरसँग दाँज्ने हो भने अलिअलि उत्ताउलिने, अलिअलि मात्तिने, अलिअलि पात्तिने, अलिअलि बाटो बिराउने उमेरमा प्रवेश गरेको छ । तर पत्रकारिताकाको उमेरमा भने अब सम्हालिने, खुट्टा टेक्ने, अवसर खोज्ने, सन्तुलन गर्ने, रचनात्मक बनाउने र पत्रिकालाई दस्तावेजका रुपमा स्थापित गराउँदै जाने बेला हो ।

बाह्रौं बर्षमा प्रवेश गरेको यस पत्रिकालाई निरन्तरताको लागि हार्दिक शुभकामना दिन चाहान्छु । साथै आफ्ना दुःखहरु कतै व्यक्त नगरिकन पत्रिकाको निरन्तरतामा रातो दिन लागिरहने दिपीन राई, लीला राई, राजन राई लगायतको सम्पूर्ण यलम्वर टाइम्स परिवारप्रति अर्जुनधाराबासीको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै गाउँका आवाजहरु संसारभरि छर्नकै लागि यलम्वर टाइम्स पुस्तौंपुस्ता जीवन्त रहन सकोस् कामना गर्दछु । [email protected]

कुमार भट्टराई