जिज्ञासाहरूका बीच सधैको दशैं « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

जिज्ञासाहरूका बीच सधैको दशैं


यलम्वर टाइम्स
१९ आश्विन २०७६, आईतवार ०८:३९

[कृष्ण धराबासी]

दशैं बारे मेरो खासै रमाइला अनुभवहरु छैनन् । दशैं हामी नेपालीहरुको सबैभन्दा ठूलो चाड हो । यो धार्मिकभन्दा पनि साँस्कृतिक पर्व हो । सामान्यतया यसलाई हिन्दू धर्मसँग जोडेर व्याख्या गरिन्छ । नेपालको पनि पहाडिया समुदायबाहिर दशैं हिन्दूहरुको मात्र भनेर पनि मानिन्छ । तर हिन्दूहरुको हुँदा यो नौरथा पछि दशमीको दिन पूजा सकिएको उपलक्ष्यमा टिका र दक्षिणा दिएर सकिने हो । भन्दै दशहरा भनिन्छ । नवदुर्गाको नौ दिनसम्म पूजा गरी दशमीको दिन समापन गरेपछि हिन्दूहरुको दशैं सकिन्छ तर हामी पहाडिया नेपालीहरुको भने नौ दिनसम्म पूजा गरे पनि नगरे पनि दशमीदेखि पूर्णिमासम्म दशैं शुरु हुन्छ । सरकारले पनि यही पाँच दिन राष्ट्रिय पर्व बिदा दिने गरेको छ ।

संसारमा पहाडिया नेपालीहरुले मात्रै दशैंमा पाँच दिनसम्म निधारमा अक्षताको टिका लगाउने चलन छ । यथार्थमा हिन्दूले अक्षता चलाउदैनन् । उनीहरुले तिलक चलाउने हुन् । अक्षता हिन्दूहरुको लागि जुठो मानिन्छ ।

अक्षतासँग पहाडिया नेपालीहरुको फरक सम्बन्ध छ । पहाडिया आदिबासी, जनजातिहरुको संस्कृतिसँग मिलेर बस्नु पर्दा पहाडिया हिन्दूहरुले आफूमा धेरै परिवर्तन र संशोधन गर्दै आउँदा आज नेपाली संस्कृति नै एकदम नै फरक परेर गएको छ । सबै जातजाति र भाषाभाषीको साझा पर्वको रुपमा विकसित भइसकेको यस चाडलाई हिन्दू मात्रको महान चाड भन्ने गरेको सुन्दा मलाई जहिले पनि असुहाउँदो लाग्छ ।

हिन्दू धर्ममा दशमी पछि लगातार पाँच दिनसम्म निधारमा टिको लगाएर घरघर घुम्ने कुरा थियो भने संसारको सबैभन्दा धेरै र कट्टर हिन्दूहरु भएको देश भारतमा किन लगाइदैन ? नेपालका अधिकांश पण्डितहरु भारतको बनारसबाट उत्पादितहरु नै हुन् । उनीहरुले भारतकै तरिकाले मात्र दशैं मान्न मिल्छ किन भन्न सक्दैनन् ।


मलाई अचम्म लाग्ने कुरा चाहिं के हो भने दशैंलाई शतप्रतिशत आफ्नो मान्ने र शतप्रतिशत आफ्नो नमान्नेहरुको माझ मच्चिएको बहसका बीचमा यी पर्वहरुको ऐतिहासिक र साँस्कृतिक अन्तर्घुलनको बारेमा छुट्टै अध्ययन गर्ने काममा किन कोही अग्रसर देखिदैन ।

हरेक पर्वहरु साँस्कृतिक हुन्छन् । तिनलाई धर्मले पनि छोप्ने गरिन्छ तर नेपालमा दशैं र तिहारलाई हिन्दू धर्मले छोप्न सकेको छैन । किनकि यी पर्वहरु एउटा विशेष जाति र संस्कृतिले मात्र विकास गरेर ल्याएको हैन । मलाई अचम्म लाग्ने कुरा चाहिं के हो भने दशैंलाई शतप्रतिशत आफ्नो मान्ने र शतप्रतिशत आफ्नो नमान्नेहरुको माझ मच्चिएको बहसका बीचमा यी पर्वहरुको ऐतिहासिक र साँस्कृतिक अन्तर्घुलनको बारेमा छुट्टै अध्ययन गर्ने काममा किन कोही अग्रसर देखिदैन ।

राजनीतिक बहस र विश्लेषणमा बर्षौ दिमाग घोट्न जाँगर चलाउनेहरु साँस्कृतिक अध्ययनमा किन अल्छी गर्छन् । अब हाम्रो देशमा राजनीति मुद्दा होइन । अबको मुद्दा भनेको साँस्कृतिक भाषिक र आँञ्चलिक हो । के–के कुरा फरक छन्, के–के कुरा समान छन् र ती किन छन् ? ती फरक र समानहरुका बीच के कस्तो समन्वयको आवश्यक छ भन्ने बिषयमा काम किन थालनी हुँदैन ? हामीले सयौं बर्षदेखि मान्दै आएको दशैंको यथार्थ पृष्ठभूमि के हो ? पुराणले भनेकै आधार अन्तिम हो कि यसको शुरुवातमा बेग्लै सन्दर्भहरु छन् ? वास्तवमा नेपालमा दशैंको शुरुवात भएको चाहिं कहिलेदेखि हो ? के केही जातिवादी राजनीतिक दल र ती दलसँग सम्बद्ध विद्वानहरुले भने झैं यहाँका आदिवासी जनजातिहरुलाई दमन गरेर आफ्नो सत्ता कायम गरेको उपलक्ष्यमै दशैंको शुरुवात भएको हो त ? रातो रङ्गको टिका पनि उनीहरुलाई हराएकै उपलक्ष्यमा हो ? हैन भने देशका विश्वविद्यालयहरु यस्ता साँस्कृतिक अध्ययनमा किन लागेका छैनन् । छन् भने अहिलेसम्म केके कुरा पत्ता लाग्यो र ती कुरा जनतासम्म कहिले आइपुगे वा आइपुग्छन् ।

पहिलो कुरा त मलाई दशैं बारेका यस्ता अपरिपक्व सन्दर्भहरुदेखि नै वाक्क लाग्छ । कुनै पनि पर्व मनाउँदा भित्र मनैदेखि मनाउन पाइयोस् न । एउटै समुदायभित्र कोही यसको बिशेषतामाथि नै प्रश्न गरिरहेको हुन्छ, कोही यसको पौराणिक, ऐतिहासिक बिशेषताहरुका पुष्टी गर्नु आवश्यक नै ठान्दैन । हिन्दूसँग जोड्छ तर नेपालको पहाडे बाहेक अरु हिन्दुहरु यसलाई किन पच्छ्याउँदैनन् ? नेपालकै मधेशीहरु हिन्दू भएर पनि किन पच्छ्याउँदैनन् ? हामीले यसलाई साझा र मौलिक चाडका रुपमा अझ पनि स्थापित गर्ने अभ्यासमा किन प्रवेश नगरेको ?

देशमा नयाँ सम्बिधान लागू भए यता इसाईहरुको प्रवेश अत्यन्तै बाक्लिदै गएको छ र धेरैजसो जनजाति, आदिवासी र दलितहरुले हिन्दू धर्म परित्याग गरिरहेका छन् भन्ने ठूलो पिरोलो पनि सुनिन्छ । त्यस्तो हुन कानूनले सजिलो पारेर मात्र हो कि हिन्दु हौं भन्नेहरुले आफ्ना कमी कमजोरीमा संशोधन गर्न नसकेर हो ? हामीसँग रहेका कट्टरताहरु जसले संगैको साथी, छिमेकी र शुभचिन्तकलाई पनि विभेद गर्छ । यो दशैंमा दुर्गाको मन्दिरमा बली दिन चाहने कुनै दलितले आफ्नो बोको लान पाउँछ कि पाउदैन ? कुनै जनजाति मन्दिरको पुजारी हुन सक्छ ? मन्दिर र त्यहाँ स्थापना गरेको देवता कुनै खास जाति र समुदायको मात्र हुन्छ ?

सबैभन्दा जरुरी कुरा छ साँस्कृतिक अनुसन्धानको । सुनेका भरमा, अनुमानका भरमा, किंबदन्तीका भरमा र हरेक कुरालाई अरे परम्परामा टुङ्ग्याएर आरामले बस्ने र कसैले जिज्ञासा राख्यो वा प्रश्न उठायो भने त्यसैमाथि जाई लाग्ने प्रवृत्ति हाम्रो साँस्कृतिक भविष्यका लागि खतरनाक छ । विगत पुस्ताले बुझेरै केही गरेका थिए भने पनि वर्तमान पुस्ता बिरालो बाँध्ने संस्कृतिमा फर्किएको छ । हाम्रा कैयौं कट्टरताहरु अज्ञानताबाट आएका छन् । तिनले हामीलाई कतै पनि पुग्ने बाटो देखाउदैनन् ।

चाडपर्व त फेरि पनि मानौंला तर ती किन मान्ने र कसरी मान्ने भन्ने कुराको सहज आधारको उत्खनन् हुनुपर्छ । हिन्दुका अनुसार नौरथा भरि नवदुर्गाको पूजा र चण्डी पाठ त ठीकै रैछ । त्यसपछिको सप्ताहव्यापी निधारको टिको चाहीं के हो र किन हो ? आज हामी फरक समय र परिस्थितिमा आइपुगेका छौं । सधै दैलोमा टिको लगाएर मात्र निधारमा टिको लाग्थ्यो । दैलोको टिको राजालाई भनिन्थ्यो । अबको त्यो टिको कसलाई हो ?

स्पष्ट छ– धेरै संस्कृतिहरु राजनीतिले निर्धारण गर्दै आएका हुन्छन् । जति पनि धर्मशास्त्र मानिएका ग्रन्थहरु छन् ती सबै राजा महाराजाका कथाहरुले भरिएका हुन्छन् र उनीहरुले भनेका कुराहरू नै कैयौं आध्यात्मिक कानून बन्दछन् । आज पनि कति कुरा राजनीतिले निर्धारण गरिरहेको छ । परम्परादेखि मानि आएका कति पर्वहरु गौण हुँदै गएका छन् र कति नयाँहरु मुखरित भइरहेका छन् । सरकारले कति धार्मिक पर्व बिदाहरुलाई कटौती गर्दै गएको छ । त्यसको अर्थ हुन्छ अब बिस्तारै ती पर्वहरु लोप हुँदै जाने छन् ।

अधिकांश कुराको निर्धारण सरकारी तर्फबाटै हुने हो । हामीले इतिहास पढ्यौं भने कर्मकाण्डहरुको निर्धारण समेत राजाहरुको उर्दीसँग जोडिएका छन् । जस्तो कि हिजोआज मानिस मरेपछि क्षेत्री बाहुनहरुले गर्ने तेह्र दिने किरिया विधिलाई गरुड पुराणमा जे लेखिएको भए पनि जुद्ध शमशेरको पालादेखि तेह्र महिनालाई घटाएर तेह्र दिन बनाएको कुरा इतिहासमा उल्लेखित छ । सयौं बर्षदेखि चलि आएको सतीप्रथा चन्द्र शमशेरको एक उर्दीले उन्मुलन नै भयो । धार्मिक ग्रन्थले निर्धारण गर्ने भए एउटा शासकले घोषणा गर्दैमा त्यो हट्नु पर्ने कुरा हो र !

दशैं हाम्रो सबैभन्दा रमाइलो र महत्वपूर्ण चाड हो । पारिवारिक भेटघाट र मनका गुनासाहरु पखाल्ने बेला पनि हो । अग्रजहरुको आशिर्वादले टाउको झुकाउने बेला पनि हो । केही नभए पनि बर्षमा एकपल्ट परिवारलाई तानेर एक ठाउँमा ल्याउने दिन हो । आपसमा बोलचाल नभएका आफन्तहरुको बोली पनि त्यसैबेला फुट्छ । एकअर्कासंगका गुनासोहरु मेट्ने पनि यही बेला हो । तर यसलाई सैद्धान्तिकरण गर्नु पनि आवश्यक छ । आउँदो पुस्ता तर्कशील छ । उसले हरेक कुराको कारण खोज्छ । उसलाई कारणहरुले सम्झाउन सकिएन भने बिस्तारै बिर्सदै जाने छ ।
स्पष्ट छ यो पहाडेमुलका नेपाली जातिहरुको महान चाड हो । यसको अन्तर्यमा हिन्दु धर्म जोडिएको भए पनि अब यो धर्मको आडले मात्र दह्रो छैन । आज देशविदेशमा यो चाड मान्नेहरु फरक प्रकारले बढिरहेका छन् । हामी हरेक दशैंमा देखिरहेछौं तराईतिर मुसलमानहरुले पनि र पहाडतिर इसाईहरुले पनि यसलाई मान्ने गरेका छन् । धर्म भनेको पुरानो राज्य चलाउने कानुन नै हो । धार्मिक किताबका आधारमा राजाहरुले शासन गर्थे । आज न राजा छन्, न त्यस्तो निरङुश कानुन नै छ । यसबेला सरकारले खासखास बिषयका लागि फरक प्रकारका अनुसन्धानहरुमा जनशक्ति परिचालित गर्नु पथ्र्यो । चलेका मान्यताहरुलाई तार्किक र बैज्ञानिकीकरण गर्नु अबको प्रारम्भिक अनिवार्यता हो ।वास्तवमा यो दशैं मान्न थालिएको कहिलेदेखि हो र यसको ऐतिहासिक आधार के छ ? किताब पढेर कसैले चाड स्थापित गर्न सक्दैन । एउटा पुरेतको उर्दीले पनि पर्वहरु शुरु हुँदैनन् ।

आज हिन्दू धर्मले अङ्गीकार गरेको बिक्रम सम्बत पनि एउटा राजाका नाममा चलेको सम्बत हो । तर त्यस सम्बतलाई कसरी तमाम शास्त्रीय आधारमा उभ्याइयो ? के हिन्दू धर्म २०७६ बर्ष मात्र पुरानो हो ? बुद्ध जन्मेको बेला पनि ज्योतिषीहरु थिए । तिनीहरुले बुद्धको चिना कुन सम्बतको आधारमा बनाएका थिए होला त !

दशैं मैले थाहा पाएदेखि नै मान्दै आएको छु तर बुद्धि पस्न थालेपछि मलाई लगातार उठिरहने यी माथिका जिज्ञाषाहरूको अन्त्य भएको छैन । मनभरि प्रश्न बोकेर म हरेक बर्ष निधारमा टिको थापिरहेछु । अरुलाई लगाई दिँदै छु । मलाई नै थाहा छैन यी सब कुरा म किन गरिरहेछु । उसो त सबै जाति वा ब्यक्तिका आफ्ना विशेष कुरा हुन्छन् तर जब कुनै कुरा राष्ट्र भरिको हुन्छ, त्यसले सबैको चासो र जिज्ञाषालाई पूरा गर्न सक्नु पर्छ । मेरो जिज्ञाषा कहिले कसले पूरा गरिदेला ?

[कृष्ण धराबासी]