भ्रष्टाचार र सीमा अतिक्रमण विरुद्ध कलाकारहरु जाग्नुपर्नेः अध्यक्ष पालुङ्वा « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

भ्रष्टाचार र सीमा अतिक्रमण विरुद्ध कलाकारहरु जाग्नुपर्नेः अध्यक्ष पालुङ्वा


यलम्वर टाइम्स
२ पुष २०७६, बुधबार ११:१६

दमक । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले बहुजातीय सांस्कृतिक मोर्चाको प्रथम ऐतिहासिक महाधिवेशन उद्घाटन गर्दै कलाकारहरुले आफ्नो संस्कृति, धर्मको मात्र होइन भ्रष्टाचारी र सीमा अतिक्रमणकारीहरुको विरुद्धमा पनि संगीतबाट जनतालाई सचेत पानुपर्ने बताएका छन् ।

दमकमा भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पालुङ्वाले सत्तामा रमाउने सांस्कृतिककर्मीहरुबाट सीमा अतिक्रमणका शब्दहरु संगीत र कलाबाट प्रस्तुत नहुँदा देश अतिक्रमणको शिकार बनेको हुनाले अब जनमुक्तिका कलकारहरुले संगीतको माध्यमबाट जनचेतना जगाउनुपर्ने बताए ।

अधिवेशनमा विशेष अतिथि रहेका पार्टी महासचिव केशव सूर्यवंशीले दुई तिहाइको सरकार राष्ट्रियता प्रति बफादार नरहेको आरोप लगाए ।

नेपालमा बनेका जति पनि प्रधानमन्त्रीले कालापानी अतिक्रमण भएको थाहा हुँदाहुँदै पनि त्यसको उचित सम्बोधन गर्न नसक्दा देशले दुःख पाइरहेको र सीमा अतिक्रमण कार्य अघि बढिरहेकोले यसको विरुद्धमा जनमुक्ति कलाकर्मीहरु संगीतको माध्यमबाट जनचेतना छर्न अगाडि बढ्नुपर्ने बताए ।

विकासको नाममा समृद्ध राष्ट्र बनाउने उद्घोष गर्दै महंगी, कालाबजारीया जस्ता कार्यले जनताको ढाड सेकेको, शैक्षिक क्षेत्रमा चर्को शुल्क हुँदा पनि सरकार मौन रहेको आदिवासी जनजातिका मुद्दाहरुमा सरकार मौन रहेको हुँदा वर्तमान दुइतिहाइ सरकारबाट अल्पसंख्यक जातिहरुको उन्नति हुन नसक्ने बताए ।

महासचिव सूर्यवंशीले अगाडि भने, ‘अस्वस्थ हुनु स्वाभाविक हो, तर मुलुकलाई अनिर्णायकको बन्दि बनाउनु चाहि गलत हो ।’

मोर्चाका अध्यक्ष कैलाश थापाको सभापतित्वमा भएको कार्यक्रममा युवा मोर्चाका अध्यक्ष चित्र थापा मगर, महिला मोर्चाकी होममाया तमु, प्रवास विभाग प्रमुख कमला थापा लगायतले बोलेका थिए ।

दमकको किरात भवनमा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष प्रकाश येङदेन, मीना पन्धाक, केन्द्रीय सचिव पदम जवेगु, विष्णु थाङदेन, केभी पुन, केन्द्रीय सदस्य राज खम्बू, बालकुमार गुरुङ, गोकर्ण राई, प्रदेश सचिव कृष्णकुमार थेवे, जिल्ला अध्यक्ष पर्शुराम मगर लगायतको आतिथ्य रहेको थियो ।

बहुसांस्कृतिक मोर्चाका महासचिव पदम कन्दङ्वाले सञ्चालन गरेको कार्यक्रममा कलाकारहरुले विभिन्न भाषाका गीतहरुमा नृत्य प्रस्तुत गर्नुका साथै झाँकी प्रस्तुत गरेका थिए । उपाध्यक्ष ज्ञानबहादुर मगरले स्वागत गरेको कार्यक्रममा मुलुकका २१ जिल्लाका कालकारहरुको प्रतिनिधित्व रहेको थियो ।

अबेरसम्म चलेको बन्दसत्रले कैलाश थापा मगरको अध्यक्षतामा १५ कार्य समिति निर्माण भएको छ । निर्वाचन आयुक्त पार्टी उपाध्यक्ष मोहन धिमालले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा पदम कन्दङ्वा र इन्चार्जमा ज्ञानबहादुर सलामी (रुपन्देही) रहेका छन् ।

निर्वाचित पदाधिकारीलाई महासचिव केशव सूर्यवंशीले प्रमाणपत्र प्रदान गरेका थिए । नवनिर्वाचित पदाधिकारीलाई पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश येङ्देन, केन्द्रीय सदस्य जगन किरात, फोनिजका प्रदेश इन्चार्ज दिपीन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । निर्वाचन सञ्चालन भने प्रवास प्रमुख कमला थापाले गरेकी थिइन् ।