सबै क्षेत्रमा जनमुक्तिको सशक्त उम्मेद्वारी « Yalambar Times
३ जेष्ठ २०८१, बिहीबार

सबै क्षेत्रमा जनमुक्तिको सशक्त उम्मेद्वारी


यलम्वर टाइम्स
२६ चैत्र २०७८, शनिबार ०१:१९

दमक । राष्ट्रिय जनमुक्ति पार्टीले सम्मान व्यवहार गर्ने दलसँग सहकार्य गर्ने बताएको छ । झापाको दमकमा प्रदेशस्तरीय अग्रज कार्यकर्ता बीच भएको छलफलमा उक्त निचोड निकालिएको हो ।

छलफलमा गठबन्धन दलले स्वागत गर्न सकेन भने नेकपा एमालेसँग रहन्छ । त्यसले पनि सम्मान गर्न सकेन भने हैसियत कायम गर्दै आएको दल भएको हुँदा एक्लै लड्न पनि पछि नहट्ने भएका छन् ।

गठबन्धन दलभित्र आन्तरिक प्रतिस्पर्धा, पदीय बाँडफाँड झमेला र नभएको स्थानमा पनि पदाधिकारी खोज्ने परिपाटीले निचोडमा नपुगेको चर्चा बाहिर नआउँदै त्यस्ता दलसँग गठबन्धन कम हुने छलफलमा चलेको थियो ।

तर माङ्सेबुङको हकमा भने राष्ट्रिय जनमुक्ति पार्टीलाई गठबन्धनले स्वागत गरेको छ । त्यहाँ वडा नं. ५ पदाधिकारीसहित सदस्यहरु जनमुक्ति र अन्य वडाहरुमा एक–एक जना सदस्य र कार्यपालिकामा २ जना मनोनित गरिने वाचा गरेपछि एकता भएको जनाएका छन् ।

अन्य जिल्लामा पनि गठबन्धनसँग समिकरण गर्ने कि, एमालेसँग ? छलफल भईरहेको बताइएको छ ।

यता झापाको अर्जुनधारामा पनि ११ वडामा वडा सदस्य र २ बोर्ड सदस्य जसले प्रदान गर्न सक्छ, उक्त दलसँग मिलेर जाने नगर अध्यक्ष राज खम्बूले बताए ।

हैसियतको हिसाबमा अर्जुनधारामा जनमुक्ति पार्टी तेस्रो स्थानमा छ । तर, पटक–पटक गठबन्धनसँग छलफल गर्दा आफ्नो माग पूरा गर्न नसक्ने संकेत देखापरेको छ । त्यस्तै संकेत हो भने गठबन्धनसँग मिलेर जान समस्या आइपर्ने नगर अध्यक्ष खम्बूले बताए ।

यता नेकपा एमालेसँग पनि दुई चरण छलफल भइसकेको बताइएको छ । नगर इन्चार्ज दिलीप राईका अनुसार पार्टीले निकालेको निचोड दुई कार्यपालिकासहित ११ वडामा वडा सदस्य पार्टीको बटमलाईन भएको हुनाले बटमलाइनलाई कुल्चिएर जान नसकिने तर्क राखे ।

यसरी नै भद्रपुर नगरपालिकामा पनि राष्ट्रिय जनमुक्ति पार्टीले सबै वडामा उम्मेद्वारी दिने भएको छ ।

नगर अध्यक्ष सन्तोष लिम्बूका अनुसार भ्रष्टाचार गर्दिन, ब्रम्हलुट मच्याउदिन, सबैको हितमा काम गर्नेछु भन्ने दल आयो भने त्यस्तासँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

यता शिवसताक्षीमा पनि जनमुक्तिले उम्मेद्वारी दिने भएको छ । इलामको चुलाचुली, झापाकै कमल र दमक नगरपालिकामा पनि जनमुक्तिले उम्मेद्वारी दिने भएको छ ।

गत ०७४ सालको निर्वाचनमा इलामको चुलाचुलीमा जनमुक्ति पार्टीको चुनाव चिन्ह घर लिएर लिम्बूवानका कार्यकर्ता उठे पनि यस पटक भने जनमुक्तिले नै उम्मेद्वारी दिने भएको हो ।

प्रदेश छलफलमा प्रचार समिति समेत गठन भएको छ भने आर्थिक समिति अनुगमन समिति, निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ ।

प्रदेश अध्यक्ष पर्शुराम थापाको सभापतित्वमा भएको कार्यक्रममा महासचिव पदम जवेगुले यो पटक अवसर र चुनौति दुवै भएको हुँदा आफ्नो अडान कायम राखेर गठबन्धनमा जानुपर्ने बताए ।

कार्यक्रममा उपाध्यक्ष प्रकाश येङ्देनले जतिसक्दो जीत्नेहरुसँग सहकार्य गरि अस्तित्व कायम गर्नुपर्ने सुझाव दिए ।

छलफलमा वरिष्ठ सदस्य मीना पन्धाकले जनमुक्तिलाई अल्मलाएर आफू स्थानीय सत्तामा जाने खेल ठूला दलबाट हुने हुँदा सचेत हुँदै अस्तित्व रक्षाको लागि कुनै एक दलसँग मिलेर जानुपर्ने बताए ।

प्रदेश सचिव कृष्णकुमार थेवेले सञ्चालन गरेको कार्यक्रममा वार्ता, गठबन्धन र छलफलमा अल्मलिनुभन्दा पार्टीले उठाएको मुद्दा र अवधारणा लिएर गाउँगाउँमा जानुपर्नेमा जोड दिए ।