अर्जुनधाराको प्रचार अभियानमा जनमुक्तिलाई विभिन्न क्षेत्रबाट सुझाव « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधाराको प्रचार अभियानमा जनमुक्तिलाई विभिन्न क्षेत्रबाट सुझाव


यलम्वर टाइम्स
२९ चैत्र २०७८, मंगलवार ११:३८

२०२८ साले योद्धा मानकुमार तामाङसँग सामूहिक तस्वीर लिँदै जनमुक्तिका नेताहरु ।

[सुम्निमा]

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिले स्थानीय चुनावलाई मध्यनजर गर्दै मंगलबारदेखि घरदैलो अभियानलाई तिब्र बनाएको छ ।

पार्टीले यसअघि अन्तरक्रिया, छलफल चलाउँदै आएको थियो भने आजबाट पार्टीको दस्तावेज, एमसीसीको विरोध अपिल र चुनावलाई मध्यनजर गर्दै बनाएको अपिल लिएर घरदैलो अभियान सुरु गरेको हो ।

पार्टीले वडा नं. १ अन्तर्गत पुराना कम्युनिष्ट योद्धा मानकुमार तामाङसँग जातीय मुक्ति र समतामूलक समाजका विषयमा छलफल गरेको थियो भने वडा नं. १ को कार्यालयमा स्थानीय कार्यकर्ताहरुमाझ चुनावी रणनीतिका विषयमा छलफल गरेको छ ।

यसरी नै आजै अर्को टोलीले वडा नं. २ अन्तर्गत पार्टी वडा कार्यालयमा पर्चा, नगर अपिल वितरण गर्दै स्थानीयस्तरमा पार्टीको अस्तित्व कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

उक्त छलफलमा झलक याम्फु, खेम मोराहाङले वडामा पार्टीका रणनीति बारे आफ्ना विचार राखेका थिए ।

यसरी नै वडा नं. ३ मा पनि पार्टीको प्रचार अभियानलाई तिब्र पार्दै स्थानीयस्तरका बुद्धिजीविहरुसँग सुझाव लिएका थिए ।

पूर्व पार्टी जिल्ला अध्यक्ष लक्ष्मी इङ्नामले नगरमा प्रवेश गर्ने सुनौलो अवसर भएको हुँदा नझुकी हैसियत कायम गरेर सम्मान प्रदान गर्ने दलसँग नजिक हुन सुझाव दिएका थिए ।

महिला अभियान्ता सञ्चरानी इङ्नामले झुक्याउने दलहरुसँग समिकरण नगरी आफ्नो अस्तित्व कायम गर्नका लागि गठबन्धन गरिनुपर्ने सुझाव दिए ।

महिला नेतृ मीना पन्धाकले चुनावी रणनीतिलाई अझ बहस गर्नुपर्ने सुझाव दिँदै कार्यकर्तालाई चनाखो रहन आग्रह गर्नुपर्ने बताए ।

यसै गरी आज नै वडा नं. ४ दहिझोडामा पनि चुनावी प्रचार अभियानलाई तिब्र पारेका छन् ।

अभियानपछि भएको अन्तरक्रियामा जनमुक्तिका खड्ग चेम्जोङ, निर्मला येक्तेन, भरत मगर लगायतले मतदाताहरुलाई आर्थिक प्रलोभनमा पारी मत हत्याउने कार्यलाई निरुत्साहित पार्न कार्यकर्ता परिचालन गर्नुपर्ने सुझाव दिए ।

नगर इन्चार्ज दिलीप राई र नगर उपाध्यक्ष तेज योङहाङको अगुवाईमा प्रदेश अध्यक्ष पर्शुराम मगर, सचिव कृष्ण थेवे, नगर सचिव आरती तेयुङ, लिम्बूवानी नेता तिलसिंह माङ्मु, जिल्ला उपसचिव भुपाल राना लगायतको टोली अभियानमा सरिक थियो ।

यसरी नै चैत ३० र बैशाख १, २ र ३ गते अर्जुनधाराको ५, ६, ७, ८ लगायत अन्य वडामा अभियानलाई तिब्र पारिने पार्टी नगर अध्यक्ष राज खम्बूले यलम्वर टाइम्सलाई बताए ।