कपरसुकाको सभामा उत्साहित हुँदै ५ सय बढी जनमुक्तिमा प्रवेश « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

कपरसुकाको सभामा उत्साहित हुँदै ५ सय बढी जनमुक्तिमा प्रवेश


यलम्वर टाइम्स
६ बैशाख २०७९, मंगलवार १०:००

कपरसुका । २०५७ सालदेखि सुनसान रहेको राष्ट्रिय जनमुक्ति पार्टी माइ नगरपालिका सोमबारदेखि ब्युझिएको छ ।

जनमुक्ति पार्टीले संगठन विस्तार तीव्र पारेपछि माइ नगरपालिका–७ स्थित कपरसुकामा आमसभा गर्दै करिब ५ सय बढी पार्टी प्रवेश गरेपछि ब्युझिएको पार्टीका वडाध्यक्षकी उम्मेद्वार पञ्चरानी लिम्बूले प्रतिक्रिया दिइन् ।

सभामा नेकपा माओवादी, एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरु प्रवेश गरेको बताइन् । प्रवेश गर्नेहरुले भनेका छन्, ‘विकासका नाममा भ्रष्टाचारको जग बसेको हुँदा त्यसलाई चिर्न आफूहरु बिना शर्त जनमुक्तिमा होमिएका हौं ।’

गाउँ–गाउँमा विकास त आयो । विकाससँगै भ्रष्टाचार पनि मौलायो । त्यसको अन्त्यका लागि हरेक क्षेत्रमा समतामूलक सहभागिता आवश्यक रहेको हुँदा उक्त विचार जनमुक्तिबाट पाइने भएको भन्दै प्रवेश गरेको सहभागि बमबहादुर कार्कीले बताए ।

पार्टी प्रवेश गर्नेहरुमा वडा नं. २ बाट जंगबहादुर केरुङसहित ६० जना, वडा नं. ५ बाट बुद्धिबहादुर तुम्बापोसहित ४४ जना, वडा नं. ४ बाट ओझबहादुर राईसहित ३३ जना, वडा नं. ७ बाट दिलबहादुर योङहाङसहित ३९ जना, वडा नं. ८ बाट जयाहाङ आङदाम्बेसहित ३५ जना, वडा नं. १ बाट सुनिता लिम्बूसहित ३५ जना र अन्य गरि ५ सय बढी प्रवेश गरेको मनबहादुर माखिमले जानकारी दिए ।

सभामा प्रमुख अतिथि पार्टीका वरिष्ट उपाध्यक्ष मोहन धिमालले विकासलाई एनजीओमुखी बनाएर कार्यकर्ता पोस्ने काम ठूला दलबाट भएको हुँदा त्यसको विरुद्धमा जनता जाग्नुपर्ने बताए ।

यसपालिका स्थानीय चुनाव एमसीसीबाट प्राप्त कमिसनले भोट किन्ने मनसायमा ठूला दल भएको हुँदा त्यस्ताहरुसँग होसियार हुँदै मौलिक सभ्यता र पहिचानसँगै आत्मनिर्णयको अधिकार रक्षाका लागि जनमुक्तिको विचारमा सहभागि हुन आग्रह गरे ।

विशेष अतिथि पार्टी उपाध्यक्ष बलदीप चाम्लिङले हामीले दिएको भोटले हामीहरुलाई बेरोजगार, गरिबी र अचाकली ऋण नेपालीमाथि थपिएको हुँदा ठूला दलसँग होसियार हुनुपर्ने जोड दिए ।
उनले ‘हाम्रो मतलाई भ्रष्टाचार र गुटबन्धी र लुट प्रविधि बनाएको बताए ।

कार्यक्रममा केन्द्रीय सचिव गजेन्द्र आङबोहाङले नेपाली साहित्यमा पहिचानवादी साहित्यको विकासका लागि जनमुक्ति एकमात्र विकल्प भएको बताउँदै पूर्वीय साहित्यको जगमा रहेर आमूल परिवर्तनको बाटोमा लाग्न आग्रह गरे ।

महिला नेतृ मीना पन्धाकले बाटो, कल्र्भट त बनायो, तर समग्र जातिको विकास हुने काममा कहिल्यै लागेन । त्यसैले हिजोआज नेताहरु गाउँ पस्न छाडेका छन् । यदि उनीहरु आइहाले भने एमसीसी सम्झौता के का लागि भनेर प्रश्न गर्नुपर्ने बताइन् ।

प्रदेश अध्यक्ष पर्शुराम थापाले प्रदेश १ पहिचानको पक्षमा उभिएको हुँदा किरात लिम्बूवान खम्बूवान एकमात्र विकल्प भएको जोड दिए ।

सभामा युवा नेता सन्तोष लिम्बू ‘याम’ ले खाली झोला लिएर पैसा कमाउने दाउमा आएका ठूला दलसँग होसियार हुँदै आफ्नो विकास र आफ्नो प्रगतिको लागि अब जनमुक्ति बाहेक अर्को नरहेको बताए ।
तदर्थ समितिका अध्यक्ष बलिराम तुम्बापोको सभापतित्वमा भएको कार्यक्रममा स्वागत यामबहादुर योङयाले गरेका थिए ।

सभामा केन्द्रीय सदस्य मैना बराईली, लिम्बूवान नेता तिलसिंह माङ्मु, प्रदेश १ का सचिव कृष्ण थेवे, पवित्रा तुम्बाहाम्फे, तिलरुपा सवेहाङ, उदयविक्रम तुम्बापो, प्रदेश नेता दिलीप राई, भुपाल मगर, राज खम्बू, डकमाया मगर लगायतको आतिथ्य रहेको थियो ।