स्वतन्त्र उम्मेद्वार सञ्जुहाङ ताप्लेजुङको घरदैलो अभियानमा « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

स्वतन्त्र उम्मेद्वार सञ्जुहाङ ताप्लेजुङको घरदैलो अभियानमा


यलम्वर टाइम्स
२१ कार्तिक २०७९, सोमबार ०६:३५

फुङलिङ । २५ वर्षअघि प्रान्तीय राज्यसहित लिम्बूवान स्वायत्त राज्यको परिकल्पना गर्ने एक योद्धा सञ्जुहाङ पालुङ्वा यति बेला ताप्लेजुङ जिल्लाको विभिन्न पालिकामा घरदैलो अभियान गरिरहेका छन् ।

कम्युनिष्ट विचारलाई छाडेर जातीय मुक्तिको आन्दोलनमा लामो समय बिताइ जनमुक्ति पार्टीको पूर्वी क्षेत्रका एक धरोहरको रुपमा रहेका सञ्जुहाङ पालुङ्वा यति बेला राष्ट्रिय लिम्बूवान पार्टीको संस्थापक भई हाल स्वतन्त्र उम्मेद्वार भई चुनाव केन्द्रीत भएका छन् ।

विद्रोही स्वाभावका पालुङ्वा कहिले ताप्लेजुङको फ्रुम्ब्रु, कहिले सिनाम, कहिले तेल्लोक हुँदै प्रचार अभियानमा हिंडिरहेका छन् ।

खाजाको रुपमा भुटेको मकै, भटमास र पार्टीका कार्यकर्ता बीच आईतबार डुम्रिसे, चाक्सिबोटे, थुम्मिदेन र मामाखेमा गएर कोणसभाको आयोजना गरेका छन् ।

कोणसभामा अध्यक्ष सञ्जुहाङले ठूला दलहरुबाट मुक्तिको आशा गर्नु ढुंगा पकाएर चपाउनु सरह हो भन्दै ठूला दलप्रति भरोसा भएर नबस्न आग्रह गरे ।

‘ताप्लेजुङमै जन्मेको हुँ, जातीय मुक्ति, स्वाधिनता र लिम्बूवान प्राप्ति आन्दोलनमा हिंड्दै जाँदा यो पटक चुनावसँग फेस गर्न आफ्नै जन्म थलोमा आएको छु । आशा छ यहाँहरुले मलाई मत दिनुहुनेछ’ पालुङ्वाले भने, ‘लिम्बूवान पार्टीको अध्यक्ष भएर काम गरे पनि अहिले म ताप्लेजुङ जिल्लाको प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेद्वार क्रस खुकुरी चुनाव चिन्ह लिएर आएको छु । यहाँको मत खेर फाल्ने छैन ।’

स्वतन्त्र उम्मेद्वार पालुङ्वाले भने भ्रष्टाचार, नातावाद र नश्लीयत चरित्रबाट मुलुक चलाएको हुँदा त्यसको भण्डाफोर नगरेसम्म नेपाली जनताले लोकतन्त्रको अनुभूति गर्न नसक्ने ठोकुवा गरे ।