२४ गते खरबन्दीमा कराँते « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

२४ गते खरबन्दीमा कराँते


यलम्वर टाइम्स
१० चैत्र २०७४, शनिबार ०२:०९

अर्जुनधारा । अर्जुनधारा–९ स्थित खरबन्दीमा पहिलोपटक जिल्लास्तरीय महिला–पुरुष कराँते प्रतियोगिता हुने भएको छ ।

खरबन्दी डोजोको आयोजनामा चैत २४ गते एकदिने प्रतियोगिता हुन लागेको डोजो सञ्चालन समितिका अध्यक्ष सुरेन राईले पत्रकार सम्मेलनमा जानकारी दिए । पहिलोपटक सर्वाधिक स्वर्ण पदक विजेता जिल्लालाई नगद प्रदान गरिने भएको छ ।

आयोजकका अनुसार सर्वाधिक स्वर्ण विजेता जिल्लालाई नगद १० हजार र दोस्रो हुनेलाई नगद ५ हजार प्रदान गरिँदैछ । कराते प्रतियोगितामा हालसम्म नगद पुरस्कारको व्यवस्था गरिएको छैन ।

राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दुर्गा निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल कराँते महासंघका झापा सचिव कुमार उप्रेतीले झापा, इलाम, मोरङ र सुनसरीका खेलाडीले सहभागिता जनाउने बताए ।

कराते खेलको विकास र पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै डोजोकी प्रशिक्षक पार्वती राजवंशीले पुरुषतर्फ २५ देखि ६० र महिलातर्फ २५ देखि ५५ वर्षमाथिका उमेर समूहबीच प्रतिस्पर्धा हुने बताइन् ।

उनका अनुसार जिल्लास्तरीय प्रतियोगितामा भने दुवै समूहमा ४० वर्षमाथिका खेलाडीले सहभागिता जनाउने भएका छन् । २५० जना खेलाडी सहभागी हुने प्रतियोगितामा ३६ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

करिब २ लाख रुपैयाँ खर्च हुने बताइएको प्रतियोगिताको उद्घाटन ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले गर्नेछन् । कार्यक्रममा प्रशिक्षक निरौलाले महिला नेतृत्व डोजोले आयोजना गरेको प्रतियोगितालाई प्राविधिक सहयोग उपलब्ध गराउने बताए ।

प्रतियोगिता सम्पन्न गर्न सुरेन राईको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ । जसमा संजीव बुढाथोकी उपाध्यक्ष, प्रदिप तामाङ सचिव, सुमन चिमरिया सहसचिव र पार्वती राजवंशी कोषाध्यक्ष छन् ।

त्यस्तै, विशाल पौडेल, लोकेश भट्टराई, विवेक राजवंशी र सुरेन्द्र गिरी सदस्य छन् ।