फुट्न लागेको आँखालाई जोगायौं : बीएण्डसी « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

फुट्न लागेको आँखालाई जोगायौं : बीएण्डसी


यलम्वर टाइम्स
१० कार्तिक २०७५, शनिबार ०३:४८

बिर्तामोड । घाँस काट्न प्रयोग हुने हँसिया आँखामा पसेर घाइते भएकी झापा दमककी एक बालिकाको बिर्तामोडको बीएण्डसी हस्पिटलले सफल उपचार गरेको छ ।

कार्तिक ५ गते आँखामा हसियाँ पसेर हस्पिटल ल्याइएकी ८ बर्षकी बालिका अंसु गिरीको शल्यक्रिया सफल भएको हस्पिटलले जनाएको छ ।

दमक–२ घर भई पथरीशनिश्चरे–३ आफन्तको घरमा गएको बेला घाँस काट्न जान्छु भनि हिडेकी अंशु गिरीको लडेर आँखामा हसियाँ पसेको उनकी आमा विमला गिरीले बताइन् ।

उनले आफ्नी छोरीको सफल उपचार गरेकोमा र हस्पिटलमा भएको सेवा सुविधाको प्रशंसा समेत गरेकी छिन् ।

‘अन्य हस्पिटलमा भए मेरो छोरीको आँखा बिग्रन पनि सक्ने थियो, समयमै यहाँ ल्याएर उपचार गराउन पाउँदा आँखा पहिलेकै अवस्थामा फर्कियो’ उनले भनिन् ।

उपचारमा संलग्न डाक्टर धिरज गिरीले हस्पिटलमा भएका आधुनिक उपकरण र डाक्टरहरुको टीमले गर्दा उपचार सम्भव भएको बताए ।

‘हसियाँसहित हस्पिटलमा ल्याइएको थियो’ डाक्टर गिरी भने, ‘आँखामा ३० मिलीमिटरभन्दा बढी रगत जमेको भए आँखा बिग्रने थियो ।’ घटना भएको डेढ घण्टामै हस्पिटल ल्याइएकोले पनि सफल उपचार गर्न सकिएको उनले जानकारी गराए ।

घटनामा अंशुको दाहिने आँखाबाट अर्को आँखालाई समेत भेट्ने गरी हसियाँ पसेको डाक्टर गिरीले बताए ।

कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई, जनसम्पर्क अधिकारी प्रमिश गिरीलगायतको समेत उस्थिति रहेको थियो ।