अर्जुनधारा वडा नं. ४ र ७ मा प्रहरी साझेदारी समिति « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अर्जुनधारा वडा नं. ४ र ७ मा प्रहरी साझेदारी समिति


यलम्वर टाइम्स
२१ पुष २०७५, शनिबार ०१:५७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा नं. ४ र ७ को समायोजनमा वडा समिति गठन गरिएको छ ।

जिल्ला, नगर र वडामा समुदाय प्रहरी साझेदारी कार्यक्रम चलिरहँदा अपराधलाई समुदायबाट न्यूनीकरण गर्न समिति गठन गरिएको हो । साझेदारी कार्यक्रम अन्तर्गतको समिति गठन प्रत्येक वडामा गरिने बताइएको छ ।

‘साझेदारी एउटा अभियान हो’ इलाका प्रहरी कार्यलय बिर्तामोडका प्रहरी नायब निरीक्षक सुन्दर चौधरीले अगाडि भने ‘समूहगत रुपमा एकजुट भइ अपराधलाई न्यूनीकरण र अपराधिलाई अनुसन्धानको दायरामा उभ्यानुका लागि वडागत रुपमा समिति गठन गरिएको हो ।’

उनका अनुसार समाजमा शान्ति, सुरक्षा र अमनचयन स्थापना गर्नका लागि पनि यो अभियान आवश्यक छ । चौधरीले भने, ‘प्रहरीले मात्र अपराध न्यूनीकरण गर्न नसक्ने भएकाले यसमा समुदायको सहयोग अमूल्य रहनेछ ।’

कार्यक्रममा समाजमा हुने हिंसात्मक घटनाहरु मध्ये ८५ प्रतिशत घरेलु मदिरा सेवनबाट उत्पन्न भएका बताउँदै नियन्त्रणका लागि वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन गरिएको छ । समितिको सदस्यमा वडासदस्यहरु रहने जनाइएको छ ।

जसअन्तर्गत वडा नं. ७ मा वडाध्यक्ष नवराम ढुंगानको संयोजकत्वमा सहसंयोजक इलाका प्रहरी कार्यलयका प्रनानि सुन्दर चौधरी, सदस्यहरु रामबहादुर श्रेष्ठ, गंगा थापा, राजेन्द्र काफ्ले, शेखर प्रधान, रमा चापागाईँ, टीका ओली, तुलसी श्रेष्ठ र टठबहादुर भण्डारी रहेका छन् ।

त्यसैगरी वडा न. ४ मा वडाध्यक्ष दुर्गाप्रसाद दाहालको संयोजकत्वमा चौधरी नै सहसंयोजक रहने गरी समिति निर्माण गरिएको छ ।

समितिको सदस्यहरुमा खेम काफ्ले, टंक पराजुली, अमृत बुढाथोकी, गीता खनाल, भीमा शिवाकोटी, मोहन खतिवडा, धनबहादुर गजमेर, राधिका जवेगु र विष्णुमाया विसुङखे रहेका छन् ।

चेतना नेपालका प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओलीले सहजीकरण गरेको सूर्तीजन्य पदार्थ तथा लागूऔषध दुव्र्यसन विरुद्धको सचेतनामूलक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अर्जुनधारा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले प्रहरीको संख्या कम्ती भएकाले जनतालाई समयमै सेवा पुर्याउन असफल भएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुर्तेलले अपराध न्यूनिकरणका लागि प्रहरीसँग सहकार्य गर्न स्थानीय सरकार तत्पर रहेको बताएका छन् ।

त्यसैगरी सहजकर्ता ओलीले लागू पदार्थ सेवनबाट विश्वमा प्रत्येक वर्ष ६० लाखभन्दा बढी मानिसको ज्यान गएको तथ्याङ्क प्रस्तुत गर्दै नेपालमा १५ हजारभन्दा बढीको ज्यान गइसकेको जानकारी दिए ।

वडा नं. ७ को वडा परिषरमा भएको कार्यक्रममा स्वागत वडा नं. ४ का वडाध्यक्ष दाहालले गरेका थिए भने विभिन्न संघसंस्था, समुदाय, विद्यालयका प्रतिनिधि र विद्यार्थीको सहभागिता रहेको थियो ।