अर्जुनधाराकी एस्तर राईले श्रीलंका हल्लाइन् « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

अर्जुनधाराकी एस्तर राईले श्रीलंका हल्लाइन्


यलम्वर टाइम्स
१७ भाद्र २०७४, शनिबार ०८:३१

[रमेश समदर्शी]

अर्जुनधारा / यस अर्जुनधारा नगरपालिकाकी एक खेलाडीले साउथ एसियन साफ च्याम्पियनसीपमा एक स्वर्णसहित दुई पदक जितेकी छन् ।

अर्जुनधारा–५ कञ्चनबारीकी एस्तर राईले तीन साताअघि श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित चौँथो साउथ एसियन साफ च्याम्पियनसीपमा एक स्वर्ण र एक रजत पदक जितेकी हुन् ।

उक्त प्रतियोगितामा नेपालले चार स्वर्ण, चार रजत र ११ कास्य पदक जितेको थियो । अन्य स्वर्ण विजेतामा काठमाडौँका मनिष थापा क्षेत्रीले पाकिस्तानलाई, राजीव पुडासैनीले भारतलाई र नविन रसाइलीले पनि भारतका प्रतिस्पर्धीलाई हराएर स्वर्ण जितेका हुन् । एस्तरले भने आयोजक श्रीलंकाकी खेलाडीलाई पराजित गरेकी हुन् ।

एस्तरले २१ वर्ष उमेर समूहमा स्वर्ण जित्न सफल हुँदा मनिषले ५०, राजीवले ६० र नविनले ६७ केजी तौल समूहमा स्वर्ण जितेका थिए । त्यस्तै, एस्तरले तौल समूहमा रजत पदक हात पारिन् । करातेका प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री कुमार उप्रेतीका अनुसार ६१ केजी तौल समूहमा रजत पदक हासिल गरेकी हुन् । साउथ एसियन कराते महासंघले आयोजना गरेको प्रतियोगितामा स्वर्ण हासिल गर्ने महिला खेलाडी उनी एक्ली हुन् ।

८ वर्षअघि कराते खेलमा प्रवेश गरेकी १९ वर्षीया एस्तरले अहिलेसम्म दुई दर्जनभन्दा बढी स्वर्ण पदक जितिसकेकी छन् । उनलाई कति जितियो भन्ने पनि हेक्का छैन । उनले भनिन्, –‘खोई ! २८–२९ वटा गोल्ड मेडल जितेँ होला !’

बिर्तामोडको कनकाई कलेजमा स्नताक तहमा अध्ययनरत यी सुन्दरीले सेप्टेम्बर २२ तारिक स्पेनमा हुने प्रतियोगितालाई भने गुमाएकी छन् । स्नातक तहको पहिलो वर्षको परीक्षा नजिकएकाले उनी त्यसतर्फ सहभागी हुन जान नपाउने भएकी हुन् । तर, जोर्डनमा चार महिनापछि हुने प्रतियोगितामा सहभागी हुनका लागि भने उनी प्रशिक्षणमा व्यस्त छिन् ।

स्तरीय प्रदर्शन गर्ने एस्तरका लागि सरकारी तहबाट कुनै पनि सहयोग हुने नगरेकाले उनका प्रशिक्षक उप्रेती गुनासो पोख्छन् । ‘श्रीलंका पनि आफ्नै पहलबाट गएकी हुन्, उनका शुभेच्छुकको सहयोगमा गएर आइन्’, उनले भने ।